–रम्भा पौडेल
जन्म : विसं २००० असोज ५
निधन : विसं २०६७ साउन ११
नेपालको पश्चिमाञ्चल क्षेत्र हालको लुम्बिनी र गण्डकी प्रदेश नेपालको सांस्कृतिक र साहित्यिक आन्दोलनको एक केन्द्रका रूपमा चिनिन्छ । यसै क्षेत्रलाई जन्मभूमि र कर्मभूमि बनाएका कवि लेखनाथ ज्ञवाली नेपालका एक साहित्यिक नक्षत्रका रूपमा उदाएका व्यक्ति हुन् । बहुप्रतिभाका धनी लेखनाथ ज्ञवाली सादा जीवन र उच्च विचार भएका व्यक्ति थिए ।
मानिस आफैमा असल हुनु उसकै जीवनका लागि राम्रो र जीवन सहज बनाउने कुरा हो तर हदभन्दा सिधा र असल हुनु पनि व्यक्ति आफैका लागि ठिक रहेनछ । नेपालीमा एउटा उखान छ– सोझो रुखलाई सबैले ताक्छन् र पहिला काट्छन् । त्यस्तै ताछिएका कवि हुन–् लेखनाथ ज्ञवाली । पुुष्पलालको वामपन्थी विचारधाराबाट दीक्षित कविले सधैँ जनताका पक्षका कलम चलाए । राष्ट्र, राष्ट्रियता र जनतालाई उनले सदैव केन्द्रमा राखेर आफ्ना रचना सृजना गरे ।
समाजका विकृति, विसङ्गति र अव्यवस्थालाई बाहिर ल्याउने र तिनको समाधानका उपायहरू खोज्ने काम साहित्यका माध्यमबाट कविहरूले गरिरहेका हुन्छन् । असल बन्न र असल कर्म गर्न सिकाउने कुरा लेखिएका पुस्तकले मानिसको जीवनलाई बदलिदिने ठुलो तागत राख्दछन् । त्यस्तै तागत भएका सृजना गर्ने र अग्रमगामी परिवर्तनका पक्षमा दरो वकालत गर्ने कवि हुन्— लेखनाथ ज्ञवाली । कवि ज्ञवाली बाचुन्जेल कुनै लााभको आसनमा बसेनन् । उनले सिङ्गो जीवन देश र जनताकै लागि बिताए । पश्चिमाञ्चलको सांस्कृतिक आन्दोलनका अभियन्ता नै बने उनी ।
उनका बारेमा लेखक एवं राजनीतिज्ञ प्रदीप ज्ञवालीले यसो भनेका छन्— लेखनाथ ज्ञवाली नेपालको बामपन्थी आन्दोलनबाट प्रभावित र दीक्षित अभियन्ता हुनुहुन्थ्यो । कमरेड पुष्पलालबाट स्थापना गरिएको कम्युनिस्ट पार्टिको उहाँ निष्ठावान् र सक्रिय सदस्य हुनुहुन्थ्यो । विशेष गरी २०२० सालतिर उहाँले पार्टीलाई किसान र श्रमजीवीहरूका बिचमा सघन ढङ्गले स्थापित गर्ने प्रयास गर्नुुभयो । उहाँका गीत र कविताहरूको आधारभूमि आफ्नै देश, आफनै परिवेश र आफ्नै माटो हो । अटुट देशभक्ति, सामाजिक परिर्वतनप्रतिको अविचलित आस्था, सहिदहरूप्रति उच्च सम्मान, श्रमजीवीहरूप्रति अगाध माया लेखनाथ ज्ञवालीका सिर्जनाका मुख्य सार हुन् । (कवि लेखनाथ ज्ञवाली स्मृतिग्रन्थ, पृ. ७०) ।
प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलका अनुसार— कवि ज्ञवालीले साहित्यमा लाग्ने प्रेरणा लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, मेक्सिम गोर्की र आन्तोन चेखव लगायतका साहित्यकारहरूबाट प्राप्त गरेका हुन् भने उनको चिन्तनको विकास भने माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादको अध्ययनबाट भएको पाइन्छ । सादा, सरल एवं सर्वहाराकृत जीवन भोगाइ भएका ज्ञवालीका रचना पनि उनी जस्तै सरल र वैचारिक रहेका छन् । उनका रचनामा समाजको अग्रगामी रूपान्तरण र परिर्वतनको चेतना पाइन्छ । उनले आफ्ना रचनामा समाजका विकृति, विसङ्गति, अव्यवस्था एवं विभेदका विरुद्ध आवाज उठाउँदै समाजको सुसङ्गति, सुुव्यवस्था र समानताका पक्षमा अभिव्यक्ति दिएका छन् । (कवि लेखनाथ ज्ञवाली स्मृतिग्रन्थ, पृ. नं २७८) ।
कविका महाकाव्यहरू जोगिन सकेनन । उनका महत्ववपूर्ण रचनाहरू चोरी भए । सृजना जन्माउन धेरै गारो हुन्छ । त्यो एउटा सन्तान जस्तै बन्छ र त्यसलाई संरक्षण गर्न र हुर्काउन पनि उत्तिकै जरुरी हुन्छ । संरक्षण र हुर्काउन नपाउँदै ती सन्तान चोरी भए । त्यसबाट कवि दुखी पनि भए । फेरि सम्हालिदै उनले आफ्नो कर्मलाई अगाडि बढाउँदै लगे । अहिले उनका दशैंको आसिक, साथी, खडेरी, माटोका गीत, नानी, अक्षर, हाम्रा आवाजहरु जस्ता खण्डकाब्य, लघुकाव्य स्मृति काव्य र कवितासङ्ग्रह प्रकाशित छन् भने प्रकाशन गर्न बाँकी झङकार, बत्ती निभेको घर, परमपिता, सङ्क्षिप्त भजनमाला, मेरो मन, मनको बोल र आमा काव्य र उपन्यासहरू प्रकाशोन्मुख अवस्थामा छन् । राष्ट्रिय हित र जनहित उनका रचनाका मूल मर्म हुन् । राष्ट्रलाई सर्वोपरि राखेर गरिएका सृजना सदैव अमर रहन्छन् । कविका रचनामा जातीय सद्भाव र देशभक्ति, सहिष्णुता र एकताका आवाज घन्किएका छन् ।
माटोका गीतबाट केही उदाहरण
लेक भन्छ जन्मभूमि हो तराई मेरो
तराई भन्छ ह्युँचुली हो उच्च शिर मेरो
मेची काली यौटै हाम्रो घर्को सेरोफेरो
नेपालीको सम्पत्ति हो नेपाल हो तेरो
लेखक अर्जुन ज्ञवालीका अनुसार— लेखनाथ ज्ञवाली लुम्बिनी अञ्चलबाट उदाएको सांस्कृतिक प्रतिभा हो । उनका सातओटा काव्य प्रकाशित छन् । एउटा महाकाब्य चोरी भयो । उनी बहुमुखी प्रतिभा हुन् । गीतकार, सङ्गीतकार, चित्रकार, पत्रकार कवि सबै हुन् । (कवि लेखनाथ ज्ञवाली स्मृतिग्रन्थ, पृ. ३४९) ।
माटोका गीतका केही अंश यस्ता छन ।
आफै लडी मर्नुहुन्न साथी साथी बिच
काटाकाट गर्नुहुन्न जाति पाति बिच ।
कविका तिनै असल कर्म र असल रचनाहरूलाई जीवन्त राख्न कवि लेखनाथ स्मृतिप्रतिष्ठान क्रियाशील छ । २०७९ साल साउन ११ मा कविको प्रतिमा अनावरण गरी स्रष्टा सम्मान गर्ने, कृति विमोचन गर्ने, कविका कृतिहरूको व्याख्या, रचना बाचन गरी बाहौँ स्मृतिदिवस मनाउने कार्यक्रम रहेको छ । साहित्यप्रेमी महानुुभावहरूलाई यतैबाट निम्तो छ । कपिलबस्तुको कपिलधाममा पाल्नुहुन अनुरोध छ । कवि लेखनाथ ज्ञवालीलगायत कीर्तिशेष सबै स्रष्टाहरूमा हार्दिक श्रद्घाञ्जली !