–प्रेमलकुमार खनाल
सेप्टेम्बर १५ तारिख नेपाल कम्युनिष्ट आन्दोलनको इतिहासमा ऐतिहासिक दिन हो। आज भन्दा ७३ वर्ष अगाडि अर्थात सन् १९४९ सेप्टेम्वर १५ नेपाली सम्बत २००६ असाेज ३० गते का दिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालले नेपाल कम्यनिष्ट पार्टीको प्रथम घोषणापत्र जारी गर्नु भएको थियो। त्यस अर्थमा नेपालको कम्युनिष्ट आन्दोलनमा सेप्टेम्वर १५ तारिख ऐतिहासिक दिन हो । यही घोषणापत्रले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशावोध र क्रान्तिकारी मोड प्रदान गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीकाे स्थापना २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा भएको थियो । पार्टी स्थापना हुँदा पुष्पलाल महासचिव र सदस्यहरुमा नरबहादुर कर्माचार्य, नारायण विलाश जोशी, निरन्जन गोविन्द वैद्य र मोतीदेवी हुनुहुन्थ्यो । यसरी पार्टी स्थापना २२ अप्रिलका दिन भएको घोषणा भए पनि त्यतिखेर कुनै आधिकारिक दस्तावेज सार्वजनिक गरिएको थिएन । पार्टी स्थापना भएको दोश्रो दिन अर्थात अप्रिल २४, १९४९ मा पुष्पलालले एक पर्चा प्रकाशन गर्नु भएको थियो । यो नै नेपाल कम्युनिष्ट पार्टीको पहिलो डकुमेन्ट हो । यो पर्चा “नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ” को शीर्षकबाट प्रकाशित भएको थियो ।
पर्चामा राणाशाहीले आफ्नो सत्ता लम्याउन विसं २००५ मा विधान कानुनमार्फत् जारी गरेको सुधारको घोषणा केवल नागरिक झुक्याउने चालबाजी मात्र हो । तसर्थ नागरिक स्वतन्त्रताका लागि राणासँग सम्झौता होइन, क्रान्ति ! क्रान्ति !! क्रान्ति !!! भन्ने मूल नाराका साथ समाजवादको लक्ष्यका साथ अगाडि बढ्न आह्वान गरिएको थियो ।
यो अपिल मुलतः भावनात्मक रुपमा कार्यकर्तालाई उत्प्रेरित गर्ने खालको मात्र थियो । पर्चामा जनवादी आन्दोलनलाई जनवादी क्रान्तिको युगमा नेतृत्व गरी समाजवादमा संक्रमण गर्न उल्लेख भए पनि देशको राजनीतिक, आर्थिक र सामाजिक स्थिति र वर्ग विश्लेषण गरिएको थिएन । त्यसै भएर त्यसलाई कार्यक्रम नभनी अपिल भनियो । र पर्चाको रुपमा वितरण गरिएको थियो । पार्टी स्थापना भएपछि पार्टीको बैचारिक लाइनलाई सम्प्रेषण गर्न जरुरी थियो । यसै भएर १५ सेप्टेम्वर १९४९ मा चाहि नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नामबाट विधिवत रुपमा घोषणा पत्र जारी भयो र केन्द्रिय समितिको विस्तार पनि भयो । विस्तारित केन्द्रिय समितिमा संस्थापक महासचिव पुष्पलाल र सदस्यहरुमा मनमोहन अधिकारी, तुलसीलाल आमात्य, शैलेन्द्र कुमार उपाध्याय, डिपी अधिकारी र भारतीय कम्युनिष्ट पार्टीका प्रतिनिधि भाइ साहेब भन्ने आयोध्याप्रसाद सिंह हुनुहुन्थ्यो ।
पार्टी केन्द्रीय समितिको विस्तारसँगै १५ सेप्टेम्वरमा जारी गरिएको घोषणापत्रको माथि सिरानमा “पहाड पर्वत खोलानाला जग्गा जमिन सबको मालिक हामी दास बनौ किन हिस्सा सबमा सबको” भन्ने मुलनारामा चार भाग छुट्याएर जारी गरिएको थियो र सँगसँगै पार्टीको मुख पत्रमा प्रकाशित गर्ने फैसला अनुरुप कम्युनिष्ट पाक्षिक प्रचारपत्र प्रकाशित भयो र घोषणा पत्रलाई पार्टीको मुख पत्रमा त्यतिखेर साइक्लो स्टाईल गरी प्रकाशित गरिएको थियो ।
घोषणा पत्रको पहिलो भागमा, पहिलो र दोश्रो विश्वयुद्ध पश्चात विश्वमा चलेको समाजवादी लहर, मजदुर आन्दोलनको विकास र विश्वमा पूंजीवादको किल्ला भत्कन शुरु भई सोभियत संघमा समाजवादी ब्यबस्था स्थापना भएको उल्लेख गरिएको छ र दक्षिण पूर्वी एशियामा पनि संघर्ष र आन्दोलनको शुरुवात भयो । यहि लहरमा नेपालमा पनि पार्टी स्थापना पूर्व विराटनगरबाट ठूलो मजदुर आन्दोलनकाे शुरुआत भएर नेपाल कम्युनिष्ट पार्टीको आधार बन्न पुगेको उल्लेख छ । दोश्रो भागमा, नेपालमा सामान्तवादको उत्थान, अर्थ राजनीति, साम्राज्यवादी हस्तक्षेप र राणा शासन विरुद्ध भएका संघर्ष आन्दोलनका बारेमा चर्चा गरिएको छ ।
तेश्रो भागमा, दोश्रो विश्वयुद्ध पछि विश्व दुई ध्रुुुुवमा बिभाजित भएको उल्लेख छ।जसमा, पहिलो- साम्राज्यवादी प्रकृयावादी र युद्धवादी गुटमा यसको नेतृत्व अंग्रेज– अमेरिकनले गरेको छ । यसको मुख्य उद्देश्य नै अंग्रेज अमेरिकन एकाधिकार पूँजीको रक्षा गर्नु हो भनी उल्लेख छ । यस्तै दोश्रोमा, साम्राज्यवादी विरोधी, जनवादी र क्रान्तिकारी रहेका छन भनी उल्लेख गरिएको छ । यस्तै मजदुर वर्गको भुमिकाका बारेमा यसरी उल्लेख गरिएको छ ।" सामन्तवादी प्रथा र साम्राज्यवादी पूँजीबादको जुआलाई उखेलेर फ्याँक्ने संघर्षमा क्रान्तिको अंग्रजको कार्य ऐतिहासिक तवरले मजदुर वर्गले नै गर्नु पर्दछ । नेपालमा बढ्दो वर्ग संघर्ष, द्धन्द्धात्मक भौतिकबादी दृष्टिकोणले मात्र क्रान्तिकारीहरुले सही रणनीति तयार गर्न र मार्क्स, एंगेल्स, लेलिन तथा स्टालिनले बोकेको नहारिने झण्डामुनी यस संघर्षलाई संगठित गरी विजयी बनाउन सक्नेछन् ।
यस्तै, अध्याय चारमा, नेपाल कम्युनिष्ट पार्टीको जनवादी कार्यक्रमका रुपमा बाह्र वटा कार्यक्रम बुंदामा उल्लेख गरिएको छ, जसमा पहिलो, सामन्तवादी निरंकुश राज्यसत्ता र विदेशी शोषणको जुआलाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रुपले स्वतन्त्र गराउने दोश्रो, मजदुर, पसिना चुहाउने किसान र शोषित तथा दलित निम्न मध्यम वर्गलाई प्रतिनिधित्व गर्ने एउटा प्रजातान्त्रिक सरकारको जग बसाउने जसले अंग्रेज अमेरिकी साम्राज्यवाद र त्यसका भारतीय पिछलग्गुहरु सितको सहयोगको विरोध गर्दछ र शान्तिको निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरु सँग सम्बन्ध कायम गर्ने उल्लेेख छ ।
तेश्रो, वालिग मताधिकारमा आधारित संविधान, जसले सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र र आधारभुत आर्थिक अधिकारको ग्यारेन्टी गर्ने, वालिग मताधिकारको आधारमा विधान बनाउने, विशेषाधिकारहरु र जातपात, नस्ल र जातिको आधारमा गरिने भेदभाव कानुनद्धारा अन्त्य गरिने र यसको उल्लंघनलाई कानुनद्धारा दण्डनीय बनाउने उल्लेख छ । चौथो, विनामुआब्जा जमिन्दारी प्रथा र सबै खालको सामन्ती शोषणको उन्मुलन र जोताहाहरुलाई जमिनको वितरण ग्रामिण ऋणको अन्त्य गर्ने र कृषि मजदुरहरुलाई जीवनयोग्य ज्याला प्रदान गरिने छ । पाँचौ, वैंक, औद्योगिक तथा यातायात, व्यवसाय, वाटिका, खानी, आदिमा लगाइएको विदेशी पूँजी राज्यद्धारा जफत गर्ने र ती व्यवसायहरुको राष्ट्रियकरण गर्ने उल्लेख छ ।
छैठौं, ठुला ठुला उद्योगहरु, ठुला वैंकहरु र बिमा कम्पनीहरुको राष्ट्रियकरण गर्ने, संस्थाहरुमा मजदुरहरु माथि नियन्त्रणको अन्त्य गरिने कुराको ग्यारेन्टी दिने, र दिनमा आठ घण्टाको कार्यदिवस लागु गर्ने । सातौ,रणनीतिक महत्वका उद्योगमा ठुला ठुला पूँजीपतीहरुलाई हटाउने र मुलुकको आर्थिक विकास र समृद्धिका लागि आर्थिक योजना बनाउने । आठौं, जनविरोधी सवै दमनकारी ऐन कानुनहरुको खारेजी गर्ने, नवौं, नोकरशाहीको उन्मुलन र निर्वाचित अधिकारीहरु सहितको र जनसमितिहरुद्धारा निर्देशित प्रशासन, दशौं, जनतालाई सशस्त्र पार्ने र जनताको जनबादी सेना स्थापना गर्ने एघारौं, स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्ने अधिकार र वाह्रौ, महिलाहरुलाई सम्मान र प्रजातान्त्रिक अधिकारहरु सुनिश्चित गरिनेछ भनी उल्लेख गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७३ वर्ष व्यतित भएको छ । पार्टीको प्रथम घोषणा पत्र कै आधारमा वि.सं. २००८ साल असोजमा भएको प्रथम सम्मेलनमा पार्टीको नयाँ जनवादी कार्यक्रमलाई राजनैतिक प्रतिवेदनको रुपमा प्रस्तुत गरिएको थियो । घोषणा पत्रले कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी दिशालाई दिशावोध गरेको छ । घोषणापत्रमा द्धन्दात्मक भौतिकवादी दृष्टिकोणका साथ नेपालको आर्थिक -सामाजिक अवस्थाको विश्लेषण गरेर नेपाली समाज अर्ध सामन्ती र अर्ध औपनिवेसी अवस्थामा रहेको निष्कर्ष निकालिएको थियो । नेपाली समाजको चरित्रको आधारमा कम्युनिष्ट आन्दोलनले जनवादी क्रान्ति गर्ने जुन कार्यदिशालाई अगाडी बढाएको थियो । ०६२/६३ मा आई पुग्दा नेपालमा पूँजीबादी जनवादी राजनीतिक क्रान्ति सम्पन्न भएको छ ।
यस पुंजीवादी क्रान्तिबाट सामन्तवादकाे राजनीतिक एवं शासकिय हिसावले अन्त्य भएको छ र जनताबाट निर्वाचित संविधान सभा मार्फत बनेको संविधानमा संघीय लोकतान्त्रीक गणतन्त्रको संस्थागत भएको छ । यस्तै पुष्पलालले विश्लेषण गरेको अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थाको नेपाली समाजमा राजनीतिक ,आर्थिकसामाजिक रुपमा परिवर्तन भएर यतिखेर नेपाली समाज पूँजीवादी चरणमा प्रवेस गरेको छ।
याे पुंजीवादी चरणमा प्रवेश संग संगै नेपाली अर्थराजनीतिमा दलाल पुँजीवाद हाबी भएको छ। याे दलाल पुँजीवादले नै मुलुकमा राष्ट्रिय पुंजी निर्माण , स्वाधीन र आत्म निर्भर अर्थतन्त्र निर्माणमा व्यबधान उत्पन्न गरेको छ। क्रान्तिका दुई चरण अन्तर्गत पहिलो पुंजीवादी क्रान्ति र दाेश्राे समाजवादी क्रान्ति गरेर नै समाजवाद स्थापना हुन्छ। रुसमा पनि फरवरी क्रान्ति पछि लेनिनको अगुवाइमा समाजवादी क्रान्ति सफलता पुर्वक सम्पन्न भएको थियोे ,जसलाई अक्टोबरक्रान्ति भनेर चिनिन्छ ।यहीँ अक्टोबर क्रान्तिकाे सफलताको जगमा रुसमा समाजबाद स्थापना भएको घाेषणा गरिएको थियोे । नेपालमा पनि पुंजीवादी क्रान्ति पछि अब नेपालकाे आर्थिक विकासको बाधक वनेकाे दलाल पुंजीवादका विरुद्ध संघर्ष र रुपान्तरण गरेर राष्ट्रिय पुंजीकाे निर्माण गरि समाजवादी आर्थिक कार्यक्रम लागु गरेर जान जरुरी छ।
अतः अबको नेपाली क्रान्तिकाे दाेश्राे चरण - समाजवादी क्रान्तिकाे चरणका लागि समाजवादी नीति र कार्यक्रम तय गरेर समाजवादी क्रान्तिकाे यात्रा तय गर्न जरुरी छ। पुंजीवादी क्रान्ति भए पछि लगत्तै समाजवादी क्रान्तिकाे घाेषणा गरेर अगाडि बढन जरुरी थियोे ।तर पुंजीवादी क्रान्तिकाे उपलब्धिलाई संस्थागत गर्नेे संविधान वनाउन नै ९ वर्ष लाग्यो। दुई तिहाइकाे जनादेश प्राप्त बामपंथी सरकारलाई पनि स्पष्ट समाजवादी नीति तथा कार्यक्रम सरकार मार्फत लागू गरेर समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अवसर प्राप्त भएको थियोे । तर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश ,पार्टीको नीति र सिद्धान्त लाई लत्याएर पार्टीको समन्वयबिना ब्यक्तिवादी एवं सर्बसत्तावादी ढंगबाट सरकार संचालन गरेका कारण त्याे अवसर गुमाउन परेको छ।
सरकारले समाजवाद उन्मुख नीतिगत कार्यक्रम लागु गर्न चाहेन। हिजो देखिन अवलम्बन गरिएको नवउदारबादी अर्थनीतिलाई यथावत कायम गरेर ४/४ वटा बजेट ल्याउने काम गर्याे। ४ वर्षकाे अवधिमा दुई तिहाइकाे सरकारलाई झण्डै ६० खर्बकाे बजेट परिचालन गर्ने महत्त्वपूर्ण अवसर प्राप्त भएको थियोे । तर सरकारले नवउदारबाद र दलालपुंजीवादलाई नै प्रश्रय दिने कार्यक्रम नै अगाडि सार्याे। यसले गर्दा समाजवादको आधार निर्माणकाे जग निर्माण गर्न सरकार पुरै असफल भयो । समाजवादको आधार निर्माण गर्न जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न सार्वजनिक संस्थानहरुकाे पुनर्संरचना गरेर स्थानीय तह सम्म संरचना विस्तार गर्न पर्नेमा याे सरकारले पनि नीजिकरण गर्ने नीति कार्यक्रमलाई अगाडि सार्याे, जुन पुंजीवादी नीति नै हाे। शिक्षा , स्वास्थ्य सेवालाई नि:शुल्क र सर्वसुलभ गर्ने र यश क्षेत्रमा भएको ब्यापारिकरण र नीजिकरण अन्त्य गर्ने कार्यक्रम अगाडि सारेन। अनियमितता र भ्रष्टाचारजन्य गतिविधिले सरकारले बदनामी कमायाे। देश भित्र फलदायी राेजगारीका अवसर श्रृजना गर्ने स्पष्ट साेंच र कार्यक्रमिक प्रतिबद्धता सहितको याेजना अगाडि सार्न सकेन,परिणामस्वरूप आज देशबाट श्रम निर्यात गर्ने नीति लिएका कारण ५०/६० लाख नेपाली युवाहरु विदेशमा कष्टकर ढंगबाट राेजगारी गर्न विबस बनेका छन् ।
यसरी हेर्दाहेर्दै अलाेकप्रिय बनेको दुई तिहाइकाे वामपन्थीकाे सरकार सत्ता बाट बहिर्गमन भएको छ। सरकारकाे अलाेकप्रियताका बारेमा पार्टी भित्र समीक्षा भएर सरकारले निरन्तर रुपमा पांच बर्ष सम्म पार्टीको समन्वयमा सरकार संचालन गर्ने गत भदौ २६ काे निर्णयलाई अवज्ञा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइकाे जनमत प्राप्त संसद नै विघटन गरे पछि श्रृजना भएको असामान्य स्थितिले केन्द्रमा मात्रै हाेइन छ वटा प्रदेश सरकार बाट बहिर्गमन भएको छ। वास्तबमा वामपन्थीहरुका लागि याे ठुलो ऐतिहासिक अवसर गुमेको छ। सहि नीति र नेतृत्वको अभावमा पार्टी मात्रै हाेइन राज्य सत्तामा समेत संचालन हुन नसक्ने स्पष्ट भएको छ। कम्युनिस्ट पार्टी भित्र जब पार्टी संचालनमा हाेस वा सरकार संचालनकाे नेतृत्व गर्दा हाेस जब विवाद उत्पन्न हुन्छ तब नेतृत्वले विवादहरुकाे एक एक गरेर समस्या समाधान गर्ने, आफुबाट भएका कमीकमजोरीमा आत्मआलाेचित भएर पार्टी भित्रकाे बिश्वास जित्ने काम गर्ने वा नेतृत्वबाट पछाडि हटेर अर्को नेतृत्व लाई अगाडि सार्नकाे सट्टामा जब नेतृत्वले सर्वसत्तावादी साेंच लिएर अगाडि बढदछ तब यसले दुर्घटना निम्ताउने कुरा स्पष्ट छ।
नेपालमाबामपंथीहरुकाे दुई तिहाइकाे जनमत प्राप्त सरकारकाे असफलताको कारणहरुकाे समीक्षा गरेर अब समाजवादी क्रान्ति गर्ने सहि कार्यनीतिक कार्यदिशा तय गरेर अगाडि बढनु पर्ने अभिभारा छ। कम्युनिष्ट आन्दोलन भित्र सामन्तवाद विरोधी कार्यक्रमकाे रुपमा अगाडि सारिएको जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादकाे नामकै कार्यक्रमकाे सेराेफेराे भन्दा अगाडि बढन नसकेको स्थिति छ। नवउदारबादी पुंजीवादी अर्थनीतिलाई समाजवादी अर्थनीतिका कार्यक्रमवाट विस्थापित गरेर जनतालाई राहत र परिवर्तनकाे अनुभुती दिन नसक्दा अन्तरविरोधहरु बढदै गएको छ। गणतन्त्र आए पनि जनताको जीवन स्तरमा बृद्धि गर्ने, फलदायी राेजगारीका अवसर श्रृजना गर्ने र आय असमानता हटाउने गरि ठाेस नीति कार्यक्रम अझै तय हुन सकेको छैन।यसबारेमा ध्यान दिन जरुरी छ। यसका साथै कम्युनिस्ट आन्दोलन भित्र लाेकतान्त्रिक गणतन्त्रको भावना अनुरुप नेतृत्व अझै अगाडि बढन सकेको छैन ।सामन्तबादी चेतबाट हुर्किएकाे नेपाली समाज लाेकतान्त्रिक गणतन्त्रमा आइ पुग्दा गणतन्त्रमा सबै समान भन्ने मान्यतालाई राजनीतिक दलका नेताले कार्यकर्तालाई आफ्नो मातहत राखेर आफू चांहि मठाधिश बन्ने र कार्यकर्तालाई हनुमान जस्तो यश म्यान, हातमा फुल लिएर दुई हात जाेरेर नमस्कार गर्ने भक्तजन जस्तो, र ताली पिटने र गाली गर्ने लडाकु दस्ता जस्तो बनाउने र आफ्नो मातहतका लाई आफू समानकाे हैसियतमा पुग्न नदिने तथा पार्टी भित्र निरङ्कुशता,स्वेच्छाचारीता लादेर पार्टीलाई लाेकतान्त्रिक हुन नदिने जुन परिपाटी हुर्कदै छ,यसले सिस्टममा मै चुनौती खडा गर्दैछ। यसले गर्दा कलिलो लाेकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थामा नै गम्भीर चुनौती खडा भएको छ ।
अनेक आराेह अवराेह ,उपलब्धि र चुनौतीका विचबाट अगाडि बढेको नेपालकाे कम्युनिस्ट आन्दोलनका सामू समाजवादी क्रान्तिकाे अगुवाइ गर्दै समाजवाद स्थापना गर्नु पर्ने ऐतिहासिक अभिभारा छ । यश सन्दर्भमा घोषणा पत्रमा उल्लेखित कार्यक्रम यतिबेला सान्दर्भिक छन। यसकाे महत्त्वमा बारेमा पुष्पलालले यसरी उल्लेख गर्नु भएको छ। "स्पष्ट छ, नेपाल कम्युनिष्ट पार्टीको यो घोषणापत्र नेपालको सर्वहारा वर्गको क्रान्तिकारी कार्यक्रम हो । यसले नेपालमा सर्वहारा वर्गको विचारधाराको गहकिलो जग हाल्नुका साथै सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी (पुुंजीवादी जनवादी) क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिमा जाने बाटो स्पष्ट रुपमा देखाएको छ "। अतः यसमा उल्लेख गरिएका मौलिक सिद्धान्तहरु हाम्रो निम्ति सत्य नै रहन्छन भनेर घोषणापत्रको महत्व बारेमा उल्लेख गर्नु गरिएको छ ।
घोषणपत्रमा उल्लेख भएका १२ वटा जनवादी कार्यक्रमलाई नेपाली क्रान्तिले पूरा गर्नु पर्ने कार्यक्रमको रुपमा जुन उल्लेख गरिएको छ । यी कार्यक्रमहरु नेपालकाे समाजवादी क्रान्तिका लागि सान्दर्भिक छन्। यी कार्यक्रमहरुको कार्यान्वयन गर्दै अगाडि बढ्दा मात्र मुलुकमा आर्थिक सामाजिक रुपान्तरण गरेर समाजवादी क्रान्ति गर्ने आधार तयार हुनेछ र मुलुकमा समाजवादकाे आधार निर्माण व्यवस्था स्थापना गर्ने चरणमा मुलुकलाई अगाडि बढाउन सकिन्छ ।
अन्त्यमा,
यतिखेर नेपालको कम्युनिष्ट आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टीको प्रथम घोषणापत्रमा अन्तरनिहित कार्यक्रमका आधारमा नेपाली क्रान्तिको कार्यनीतिक कार्यदिशा तय गरेर समाजवादी क्रान्ति सम्पन्न गर्नु पर्ने अभिभारा रहेको छ, यस सन्दर्भमा प्रथम घोषणापत्रको सान्दर्भिकता झन बढेर गएको छ, अतः यसलाई पुनः प्रकाशित गरेर जनस्तर सम्म व्यापक प्रचार प्रसार गर्नु, यसको महत्वलाई व्याख्या विश्लेषण गर्नु र घोषणापत्रमा अन्तरनिहित विषयबस्तुलाई वर्तमान सन्दर्भमा कम्युनिष्ट पार्टीको नीति तथा कार्यक्रममा समाविष्ट गरेर सही क्रान्तिकारी कार्यदिशा तय गर्नु नेपालका वामपन्थी पार्टीहरुका सामू यतिखेरको अभिभारा रहेको छ ।
(लेखक नेकपा (एकीकृत समाजवादी) का पाेलीटब्यूराे सदस्य हुनुहुन्छ)