–डा. विदुर चालिसे
नेपाली भाषा भारोपेली परिवारको भारत–इरानेलीको शतम् वर्गमा पर्छ । आधुनिक भारतीय आर्यभाषाको अहिलेसम्म पाइएको सबभन्दा पुरानो नमूना चन्दवरदाईको ‘पृथ्वीराज राउस (ई.दशौं शताब्दी)’ लाई (जोन बिम्ज, ई.१८७२ पृ. १५–१६) मानिएको छ । नवौं, दशौं शताब्दीमा बौद्धहरूले आफ्ना अभिलेख लोकभाषामा लेख्ने र ब्राह्मणहरूले आफ्ना अभिलेख संस्कृत भाषामा लेख्ने चलन थियो।
आधुनिक भारतीय आर्यभाषाकोसमय दशौं शताब्दीपछि विकास (सुनीतिकुमार चटर्जी, ई.१९२६ ः पृ. १७) भएको तथ्यलाई स्वीकार गरिएको छ र मराठी, हिन्दी तथा गुजराती भाषाको जन्म दशौं शताब्दीमा भएको भन्ने तर्कलाई अगाडि सारिएको छ । आर्यहरू भारत प्रवेश गर्दा उनीहरूले प्रयोग गरेको संस्कृत भाषाबाट यी भाषाहरूको विकास (कोलिन पि.मासिका, ई.१९९३ ः पृ. ५८) भएको उल्लेख छ । मासिकाकाअनुसार संस्कृतबाट प्राचीन भारतीय आर्यभाषा विस्तारै मध्यकालीन भारतीय आर्यभाषाका रूपमा विकसित हुँदा प्राकृत र अपभ्रंश हुन पुगे भने नेपाली, हिन्दी, बंगाली, आसामी, पञ्जावी तथा मराठी आदि भाषाहरू मध्यकालीन प्राकृत र अपभ्रंशबाट विकसित भएर आधुनिक आर्यभाषाका रूपमा देखापरे भन्ने तर्क रहेको छ । उनले भारत–इरानेली वर्गका आर्यभाषाहरू भारतवर्षमा प्रवेश गरेको उल्लेख गरेका छन् भने ती भाषाहरूलाई बिभिन्न कालखण्डमा भारतीय आर्यभाषाका रूपमा प्राचीन भारतीय आर्यभाषा—ईसापूर्व १५०० देखि ईसापूर्व ५०० सम्म (वैदिक संस्कृत भाषा) विकास भएको, मध्यकालीन भारतीय आर्यभाषा—ईसाापूर्व ५०१ देखि ई.सन् १००० सम्म(प्राकृत, पाली र अपभ्रंश भाषा) भएको र आधुनिक भारतीय आर्यभाषा—ई.सन् १००१ देखि हालसम्म (हिन्दी, वंगाली, नेपाली आदि भाषाहरू) विकास भएको उल्लेख छ (मासिका ः ई.१९९३, पृ. ५१) ।
दशौं शताब्दीतिर नेपाली भाषाको विकास (दिनेशचन्द्र सरकार, ई.१९६५ ः पृ. ५३–५५) भएको कुरा अगाडि आएको छ । भारतीय आर्य भाषामध्ये सबभन्दा पुरानो अभिलेख मराठी भाषा (ई.९७४) मा भेटिएको हो भन्ने उल्लेख भारतीय भाषा एवं संस्कृतिविद् दिनेशचन्द्र सरकारको छ । उनका अनुसार प्राकृत, पाली, अपभ्रंशबाट फट्को मारेर हिन्दी, गुज्राती, मराठी तथा वंगाली भाषाको विकासको क्रमसँगै नेपाली भाषाको पनि जन्म दशौं शताब्दीतिरै भएको मानिएको छ । नेपाली भाषा उदीच्य(शौरसेनी ?)बाट विकसित (बालकृष्ण पोखरेल, २०४३ ः पृ. ९८) भई आएको कुरा प्रस्तुत भए तापनि समय निर्धारण गरेको पाइँदैन । नेपाली भाषाको प्रामाणिक इतिहासका सन्दर्भमा ब्रतराज आचार्य(०४९÷५०)काअनुसार चौधौं शताब्दीबाट थालिएको भन्ने उल्लेख छ । उनकैअनुसार आधुनिक भारतीय आर्य भाषाको विकास एघारौं शताब्दीबाट थालिएको मानिए तापनि सैद्धान्तिक रूपमा नेपाली भाषाको उद्भव पनि सोही अवधिबाटै मान्न सकिने धारणा प्रकट गर्दै प्राचीन नेपाली भाषाको समयको सीमा निर्धारणका सन्दर्भमा केही मत मतान्तरहरू पाइएका छन् भन्ने उनको तर्क छ । भाषा परिवर्तनका अवस्थामा स्वतः संक्रमणशील रहन्छ । त्यस्तो अवस्थामा, भौगोलिक अवस्था, ध्वनि, समभाषिक प्रवृतिहरू, उच्चारणका तौरतरिका, शब्दनिर्माणका सन्दर्भमा देखापर्ने चरित्र र अर्थमा देखिने समानता र भिन्नताका साथै बुझाउने र बुझ्ने बीचको भाषिक संचार व्यवस्थाले भाषा रूपान्तरणमा भूमिका खेल्ने हुँदा एघारौं शताब्दीको शुरूवात्सँगसँगै नेपाली भाषाको कथ्यपरम्पराको विकास भएको मानिएको छ ।
नेपाली भाषा विकास हुनमा सूर्यमणि अधिकारी (२०५६) काअनुसार वाल्हिकी भाषाको ठूलो भूमिका रहेको कुरा स्वीकार गरेका छन् । उनकाअनुसार वाल्हिकीबाट खसभाषा विकास हुँदा पैशाची तथा दरदीको समेत विकाससँगसँगै भइसकेको थियो र सो साथसाथै खसअन्तर्गत रहेको पश्चिमी पहाडी भाषाहरू, मध्यपहाडी भाषाहरू(कुमाउनी र गड्वाल) तथा पूर्वी पहाडी(सिंजाली) भाषाको विकास भइरहेको थियो भन्ने उल्लेख गरेका छन् । तर उनले पनि समय निर्धारणका सन्दर्भमा एघारौं शताब्दीसम्मलाई नै मानेका छन् ।
ऐतिहासिक घटना र भाषिक पुरातत्वको आधारमा नेपाली भाषाको काल बिभाजन गर्दै वि.सं.११५० देखि १४५० सम्मको समयलाई प्राचीन भाषाको रूपमा ‘सिंजाली’ भाषालाई मानेका छन् । त्यही ‘सिंजाली’ भाषा वर्तमान नेपाली भाषा हो
लेख्य नेपाली भाषाको किटानी साथ कालविभाजन गर्ने पहिलो प्रयास सम्भवत् श्री दयानन्द श्रीवास्तव(ई.१९६२)ले गरेको पाइन्छ । उनले भाषिक प्रवृत्तिहरूको चर्चा विना नै ई.१३०० देखि ई.१६७० सम्मको अवधिलाई प्राचीन नेपाली भाषाको समयका रूपमा चर्चा गरेका छन् । त्यस्तै बालकृष्ण पोखरेलले पाँचसय वर्ष(२०२०)मा सङ्कलित प्राचीन तथा मध्यकालीन नेपाली भाषामा लेखिएका सामग्रीहरूलाई तीन खण्डमा शब्दार्थसहित परिभाषित गर्दै ई.१३३६ देखि ई.१६०४ सम्मको अवधिलाई प्रथम खण्डका रूपमा मानेका छन् । तथापि यो बर्गीकरण भाषिक परिवर्तन, राज्य विभाजनका तीव्र अवस्था र व्याकरणमा देखापरेको विस्तृत घटनाक्रमलाईलाई आधार मानेर गरिएको बर्गीकरण नभै ऐतिहासिक अभिलेख प्रकाशित गर्ने केही तथ्य र घटनाक्रमलाई आधार मानीे बर्गीकरण गरिएको छ भने पोखरेल(२०४३)ले नै भाषिक परिवर्तनलाई आधार मानेर पछि राष्ट्रभाषामा नेपाली भाषाको ऐतिहासिक बर्गीकरण गरेका पनि छन् । उनकाअनुसार एघारौंं शताब्दीदेखि सोहाैं शताब्दीसम्मको अवधिलाई प्राचीनकाल मानेका छन् । पोखरेलले भाषिक प्रवृत्तिहरूको विश्लेषण भने गरेको पाइदंैन । यसमा बर्गीकरणको समयगत त्रुटी तथा प्राचीनकालको अन्त्य र मध्यकालको प्रारम्भ दुवै एउटै समयमा उल्लेख गरिएको हुँदा दोहोरो गणना हुन गएको प्रष्ट देखिन आउँछ ।
चूडामणि बन्धु (२०२५)ले “नेपाली भाषाको उत्पत्ति”मा पोखरेलको बर्गीकरणलाई आधार माने तापनि दोहोरो गणनालाई सुधार गरेर प्राचीनकालको समयसीमा एघारौं शताब्दीदेखि पन्ध्रौं शताब्दीसम्म उल्लेख गरेका छन् । त्यस्तै बन्धुकै कर्णाली लोक संस्कृति, खण्ड–४, (भाषा, २०२८)मा भने अर्कै तरिकाको निष्कर्ष निकालिएको छ । भाषा कालक्रम विज्ञानको सैद्धान्तिक स्थापनाका आधारमा केन्द्रीय भाषिका र पूर्वीय भाषिकाका आधारभूत एक सयवटा विशेष शब्दहरूको गणनाका आधारमा कालक्रम वैज्ञानिक तथ्य प्रस्तुत गरेको देखिन्छ ।
बन्धुको उक्त निष्कर्षअनुसार प्राचीन तथा मध्यकालीन अवस्थामा रहेका दुई भाषिका आपसमा विभाजन हुन थालेको समय पन्ध्रौं शताब्दीतिर हो भन्ने निष्कर्ष दिंदै यही समय नै मूलतः प्राचीनकालको अन्तिम समयसीमा मानेका छन् । वल्लभमणि दाहाल(ई.१९७४)ले आफ्नो विद्यावारिधि शोधग्रन्थमा प्राचीनकालको समयसीमा ईसाको एघारौंं शताब्दीदेखि सोहाैं शताब्दीको मध्यसम्म मानेको पाइन्छ तापनि दाहालकै विचारमा ‘वाङ्मय’ (२०४०।०४१) मा प्रकाशित एक लेखमा मध्ययुगको प्रारम्भ वि.सं. १४५०(ई.१३९३)बाट भएको मानेका छन् । किनकि वि.सं. १४५०(ई.१३९३)को सेरोफेरो एकछत्र खस अधिराज्यको विभाजनको चर्को अवस्थामा थियो । तसर्थ दाहालले भाषिक प्रवृत्तिका आधारमा भन्दा ऐतिहासिक राज्य गठन–विगठनको आधारमा वि.सं. १४५० उल्लेख गरेको हुनसक्छ । ब्रतराज आचार्य(ई.१९९५)ले ईंशाको एघारौं शताव्दीबाट ईसाको चौधौं शताब्दीको अन्त्यसम्म प्राचीनकाल मानेका छन् । यसमा अन्तिम समयसीमा सिंजाली खसराज्यको विगठन र पुर्नगठनलाई मानिएको छ । उनकाअनुसार खसराज्यको विघटनपछि प्राचीन अवस्थाका मानक भाषिक रूपका सट्टामा स्थानीय बोलीचालीका भाषिक रूप लेखनमा प्रयुक्त हुन थालेका कारण भाषिक परिर्वतनमा स्पष्टतः विविध लक्ष्यणहरू देखापरेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
त्यस्तै सिंजाली भाषाको समय र त्यसभन्दा पूर्व ‘करि’ असमापिका क्रियाका स्थानमा पछिल्लो समयमा ‘गरि’ को प्रयोग गरी ध्वनि—परिवर्तनका दृष्टिले आधारभूत समभाषिक सीमारेखा निर्धारित हुनपुगेको छ भने आधुनिक नेपाली विभक्ति प्रत्यय ‘लाई’, ‘ले’ र ‘देखि’ को प्रयोेग पनि स्पष्ट देखिएको कुरा बताएका छन् । त्यस्तै देवीप्रसाद गौतम(२०४९)ले पनि प्राचीनकालको समयावधि प्रारम्भदेखि बाइसी चौबिसी राज्यको उदयसम्म मानेको पाइन्छ । त्यस्तै सूर्यमणि अधिकारी(२०५६)काअनुसार भने नेपाली भाषाको समय निर्धारण ऐतिहासिक घटना र भाषिक पुरातत्वको आधारमा नेपाली भाषाको काल बिभाजन गर्दै वि.सं.११५० देखि १४५० सम्मको समयलाई प्राचीन भाषाको रूपमा ‘सिंजाली’ भाषालाई मानेका छन् । त्यही ‘सिंजाली’ भाषा वर्तमान नेपाली भाषा हो ।
नेपाली भाषा भारोपेली भाषा परिवारको एक शाखाको रूपमा रहँदै आएको कुरा प्रमाणित भइसकेको छ । सुनितीकुमार चटर्जीले यसै परिवारको एक शाखा ‘भारत–ईरानी’(ई.पू.२०००)को आसपासमा मेरोपेटामियासम्म व्यापक भएको थियो र यसै शाखाको उपशाखाअन्तर्गत आर्यहरूको एक प्रारम्भिक समूह ई.पू.१५०० को आसपास पञ्जाबसम्म आएको थियो भन्ने उल्लेख गरेको पाइन्छ भने मासिका(१९९३)काअनुसार पनि भारतीय आर्यभाषालाई भाषिक दृष्टिकोणले तीन भागमा विभाजन गर्दै प्राचीन भारतीय आर्य भाषाको विकास ई.पू.१५०० सम्म, मध्यकालीन भारतीय आर्य भाषाको विकास ई.पू.६०० सम्म तथा आधुनिक आर्यभाषाको विकास ई.सन् १००० सम्म भइसकेको तथ्य उल्लेख गरेका छन् । चटर्जी तथा मासिका दुवैको अध्ययनमा आर्यहरू जव भारतवर्षमा आए तब त्यसै वखत उनीहरूले बोल्दै आएको संस्कृत भाषा थियो । यही संस्कृत भाषा प्राकृत तथा अपभ्रंश भाषाको रूपमा विस्तारै विकसित रह्यो । तत्पश्चात आधुनिक भारतीय आर्य भाषाको रूपमा विकास भयो भन्ने उल्लेख गरेको पाइन्छ ।
अपभ्रंश भाषा पश्चिमी वा शौरसेनी भाषाको लिखित रूपका आधारमा मध्यदेशीय बोलीपछि शौरसेनी प्राकृत भयो र स्थानीय बोलीचालीको प्रभावको कारण अन्य भाषिक क्षेत्रहरूको निर्माण भयो
संस्कृत भाषा ई.पू.१५०० सम्म बोलचालको भाषाको रूपमा थियो । यस अवधिमा संस्कृत भाषाको समान रूपले प्रयोग भइरहेको थिएन । तसर्थ ई.पू. १००० सम्म वैदिक संस्कृतको युग थियो । यसै समयमा ऋग्वेद, यजुर्वेद, सामवेद तथा अथर्ववेद लगायत् विभिन्न ब्राह्मण ग्रन्थ तथा उपनिषद्को रचना भयो । तत्पश्चात यसपछि लौकिक संस्कृतको युग आयो । लौकिक संस्कृतको युगमा ‘रामायण’ तथा ‘महाभारत’ जस्ता आर्यसंस्कृतिको आधार–ग्रन्थको रचना भयो भने पाणिनीले यसै लौकिक संस्कृतका आधारमा विस्तृत व्याकरण ग्रन्थ ‘अष्टाध्यायी’ को रचना गरेको भेटिन्छ । संस्कृत भाषाको लिखित रूप एउटै जस्तो भए तापनि कथ्यका रूपहरू विभिन्न प्रकारले प्रयोग भएको प्रमाण ब्राह्मण ग्रन्थहरूमा पाइन्छ । सुनितीकुमार चतर्जी तथा कोलिन पि. मासिकालगायत् थुप्रै विद्वान्हरूले संस्कृतको तीन प्रमुख कथ्यभेदलाई स्वीकार गर्दै उदीच्य, मध्यदेशीय तथा प्राच्य गरी भाषिक विभाजन गरेको र उदीच्य संस्कृत विशाल भारतको पश्चिमी सीमादेखि लिएर उत्तरी पञ्जावसम्म बोलिने कुरालाई उल्लेख गरेका छन् ।
उनीहरूकाअनुसार पाणिनीको व्याकरण मूलत यसै उदीच्य संस्कृतमा आधारित रहेको कुरा पनि उल्लेख छ । प्राच्य संस्कृत अवधदेखि पूर्व, उडीसादेखि आसामसम्म बोेलिने कुरा उल्लेख गरिएको छ । यस भाषामा स्थानीय भाषाको प्रसस्त प्रभाव रहेकोले मध्यदेशीय संस्कृत भाषा यी दुवै भाषाको मध्यभाग(अवधदेखि पश्चिमपूर्वी राजस्थान तथा महाराष्ट्र)सम्म प्रचलित रहेको थियो । नेपाली भाषा संभवत् उदीच्य संस्कृतसँग सम्बन्धित छ (आचार्य , ई.१९९५ ः पृ. ३३) । संस्कृत भाषा ई.पू. ५०० पछि बोलचालको भाषाका रूपमा मात्र सिमित रहेन । यस भाषा विभिन्न क्षेत्रीय प्राकृत भाषाको रूपमा विकसित भयो । प्राकृत भाषाको युुग ई.पू. ५०० सम्म मानिएको भए तापनि प्राकृत युगलाई दुई चरणमा विभाजित गरिएको छ । ई.पू.५०१ देखि ईसाको प्रारम्भसम्म पाली तथा अशोकको प्राकृत भाषाको युग र त्यसपछि साहित्यिक प्राकृत युगको रूपमा विभाजित गरिएको छ (मासिका, १९९३ ः पृ. ५०—५३) । पाली प्राकृत बुद्धका उपदेशहरूको भाषा थियो । यस भाषालाई विद्वान्हरूले अर्धमागधी भाषाको पूर्व रूपका अर्थमा पनि लिने गरेको पाइन्छ तापनि पाली भाषाको व्याकरणिक संरचना मध्यदेशीय प्राकृत भाषाको नजिक मिल्न जान्छ भने यी भाषाहरूको शिलालेख भारतवर्षमा पाइन्छ । भारतवर्षको विभिन्न स्थानमा पाइएका विभिन्न शिलालेखहरूलाई तीन भागमा विभाजन गरेर प्राकृत भाषालाई हेरिन्छ । जसमध्ये प्राकृत भाषाका शाहवाजगढी तथा मानसेराका अभिलेखहरूलाई उत्तरपश्चिमी वर्गमा रहेको मानिन्छ भने गिरनार तथा कालसीका शिलालेखहरूलाई मध्यदेशीय वर्गमा रहेको मानिन्छन् । त्यसैगरी भाबू्र, रामपूरवा तथा सारनाथका अभिलेखहरूलाई प्राच्य वर्गमा रहेको मानिन्छ (आचार्य, ई.१९९५ ः पृ. ३४) ।
साहित्यिक प्राकृत भाषाको समयमा मागधी, अर्धमागधी, शौरसेनी, तथा महाराष्ट्री प्राकृत भाषाको विकास भएको मानिन्छ । यस समयमा नै मागधी प्राकृत भाषा विहार, असम, बङ्गाल, उडीसा, तथा बंङ्गलादेशमा बोलिन्थ्यो र अर्धमागधी प्राकृत उत्तर–पूर्वी उत्तरप्रदेश तथा पूर्वी मध्यप्रदेशमा बोलिन्थ्यो । यस्तै शौरसेनी प्राकृत पश्चिमी उत्तरप्रदेश, दिल्ली, हरियाणा, राजस्थान तथा गुजरातमा बोलिन्थ्यो भने महाराष्ट्री प्राकृत महाराष्ट्र क्षेत्रमा बोलिन्थ्यो । प्राकृत व्याकरणमा यी चारै प्रकारका प्राकृत भाषाका साथै पैशाची भाषाको पनि उल्लेख गरिएको छ । प्राकृत भाषा भने विशाल भारतको पश्चिमोत्तर प्रदेश सिन्धुदेखि पञ्जावसम्म बोलिन्थ्यो । यी पाँच प्राकृत भाषामध्ये नेपाली भाषाको सम्बन्ध कुन चाँहिसँग छ भन्ने सम्बन्धमा विद्वान्हरू एकमत देखिदैनन् । नेपाली भाषाको कसैले शौरसेनी प्राकृतबाट, कसैले पैशाची प्राकृतबाट, कसैले अलिखित पहाडी प्राकृतबाट त कसैले संस्कृतमूलक प्राकृत भाषा समूहभन्दा बाहिरबाट विकास भएको मानेका छन् । प्राकृत व्याकरणकार लक्ष्मीधरले पूर्ववर्ती वैयाकरणको मत मान्दै पैशाचीको क्षेत्र नेपालसम्म पनि फैलिएको मानेका छन् भने मार्कण्डेयले शौरसेनी भाषालाई अन्तरक्षेत्रीय भाषाको रूपमा स्वीकार गर्दै पैशाचीको एक भेदलाई शौरसेनी–पैशाचीको नाम दिइएको पनि पाइन्छ (बन्धु, २०३६ ः पृ. ३५) । जर्ज अब्राहम ग्रिर्यसन(ई.१९२७)ले भने नेपाली भाषाका मूलवक्ता दरदमूलको रहेको बताएका छन् । उनकाअनुसार यी वक्ताहरूको भाषा प्राकृत कालमा राजपूतहरूको बोलीद्वारा प्रभावित रहेको पनि उल्लेख गरेका छन् । आर. एल .टर्नर(ई.१९३१, भूमिका)ले चाहिँ ध्वनि—परिवर्तनको प्रक्रियाका आधारमा नेपाली भाषाको विकास मध्यदेशीय भाषाबाट भन्दा उत्तरपश्चिमी खण्डका भाषाबाट नजिक रही विकास भएको मानेका छन् । सुनितीकुमार चटर्जीले पहाडी समुदायका सिन्धी तथा पञ्जावी भाषाहरू उदीच्य वर्गमा पर्ने कुरा उल्लेख गरेको पाइन्छ । बालकृष्ण पोखरेल(२०४३.क.)ले भने ‘खस’ वा ‘शक’ जातिको प्राचीन नाम ‘शोलोक’ वा ‘सोकोल’ लाई भारतीय रूपान्तरणमा ‘चूलिका’ वा ‘शूलिका’ भनिन्छ र यसलाई प्राकृत व्याकरणमा उल्लेखित ‘चूलिका’बाट पैशाची हुँदै नेपाली भाषाको सम्बन्ध स्थापित भएको कुरा उल्लेख छ । सम्भवत् ः नेपाली भाषा जब पूर्वतिर प्रचारप्रसार हुने क्रममा अगाडि बढ्यो त्यतिबेला उनीहरूको भाषा शौरसेनी प्राकृत तथा उसका परवर्ती भाषिक रूपबाट प्रभावित भई अगाडि बढ्यो ।
अपभ्रंश भाषाको समय सन् ५००(वि.सं.५५७) देखि सन् १०००(वि.सं.१०५७) सम्म मानिएको छ (मासिका ः १९९३, पृ. ५३) । अपभ्रंश भाषाको वर्णन संस्कृत तथा प्राकृत भाषाको जस्तो समान रूपमा पाइँदैन । अपभ्रंश भाषा पश्चिमी वा शौरसेनी भाषाको लिखित रूपका आधारमा मध्यदेशीय बोलीपछि शौरसेनी प्राकृत भयो र स्थानीय बोलीचालीको प्रभावको कारण अन्य भाषिक क्षेत्रहरूको निर्माण भयो भन्ने उल्लेख छ । तर भोलानाथ तिवारीले पहाडी वर्गका भाषालाई पश्चिमी शौरसेनीसँग जोडेका छन् । यो धारणा जर्ज अब्राहम ग्रियर्सन तथा सुनितीकुमार चटर्जीको धारणासँग नजिक रहेको देखिन्छ । मासिका(ई. १९९३)को तर्कलाई ब्र्र्रतराज आचार्य(ई.१९९५)ले पनि आफ्नो धारणाको नजिक राखेको पाइन्छ । पहाडी वर्गका भाषामा पाइने संरचनात्मक सम्बन्ध तथा त्यहाँको पुरै प्रदेशमा बसोबास गरेका खस जातिको बाहुल्यताका कारण अपभ्रंशकालीन नाम ‘खस–अपभ्रंश’ रहनु ठीकै उल्लेख गर्दै प्राचीन ग्रन्थ तथा उधोतन सूरीले अठार प्रकारका देशी ‘अपभ्रंश–भाषा’ रहेको उल्लेख गर्ने क्रममा ‘खस–अपभ्रंश’ को पनि उल्लेख गरेका छन् भन्ने भनाई उनको छ । नेपाली भाषाको विकासको क्रम अपभ्रंश कालबाटै विस्तारै सुरु भएको निष्कर्ष रहेकोले नेपाली भाषाको विकासको क्रम पनि अपभ्रंश कालकै चरणबाट सुरु भएको मान्न सकिन्छ ।