स्थानीय प्रदेश र संघको निर्वाचनमा शान्ति सुरक्षाका लागि सरकारले नियुक्त गरेको म्यादी प्रहरीलाई निर्वाचनपछि आउने नयाँ सरकारले सम्बृद्ध र आत्मनिर्भर मुलुक बनाउनका लागि उत्पादन विग्रेडकाे रुपमा रुपान्तरण गर्न जरुरी छ । देशमा बेरोजगारीको अवस्था भयावह छ । लाखौंलाख युवा युवती रोजगार खोज्दै वेदेशी भूमिमा पुगेका छन्
शिक्षा, स्वास्थ्य र रोजगार प्रत्येक नेपालीको मौलिक अधिकारका रुपमा उल्लेख गरिएको र हरेक राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा पनि रोजगारीको विषय उठाएकाले यो साझा र राष्ट्रिय विषय हो।
निर्वाचन लगत्तै बेरोजगार भएर घरमा बस्न वा रोजगारी खोज्दै विदेश जान कसैलाई पनि नपरोस् । सरकारले दैनिक न्युनतम एक हजार र मासिक न्युनतम ३० हजार दिने तरिकाले निर्माण र उत्पादनका काममा लगाउन जरुरी देखिन्छ
उद्योग धन्धा कलकारखाना खोल्ने र बाँझै रहेको उर्भर जमिनबाट उत्पादन लिने रणनीति बनाउनुपर्छ। लाखौंलाख युवा आफ्नो जन्मभूमि र परिवार त्यागेर बाध्यताले विदेश पुगेका र कतिपयले ज्यान गुमाएर निस्प्राण बाकसमा फर्केको दृश्य कति कारुणिक छ ।
देशलाई स्वाधीन बनाउन र उत्पादन अभियान चलाउन ढिलाइ गर्नु हुँदैन । कृषिमा छुट्टयाइएको अरबौं अनुदान बालुवामा पानी हालेजस्तै भएको विकास निर्माणका हरेक आयोजना त्यस्तै बेहाल छ । यस्तो, अवस्थामा सरकारले उत्पादन र विकास निर्माणका लागि विग्रेड तयार गरेर अभियानका रुपमा अगाडि बढाउनु पर्छ।
साँच्चिकै देशको विकास र समृद्धि चाहेको हो भने यदि देशमा गरिबी, बेरोजगारी, अशिक्षा कायमै राखेर सधैँ यसैलाई मुद्दा बनाएर राजनीतिक गरिरहने उद्देश्य हो भने भन्नू केही छैन । नत्र छिटोभन्दा छिटो एउटा महत्त्वपूर्ण निर्णय गर्नुपर्नेछ ।
एक महिने रोजगारीका लागि लाखौंलाख युवायुवती प्रतिस्पर्धा गरेको देख्दा देशमा बेरोजगारीको अवस्था कस्तो छ भन्ने देखिन्छ । एक महिनाको म्यादि जागिरपछि ती लाखौंलाख युवायुवती कि त बेरोजगार कि विदेश जानुपर्ने बाध्यतामा पर्नेछन् । यो ठुलो समस्या हो। गाउँबाट शहर र शहर बाट विदेश पलायन र उतै बसोबास बढ्दै गएको छ । यो राज्यको निर्लज्जता हो । आफ्ना नागरिकलाई आफ्नै देशमा गरिखाने वातावरण बनाउन नसक्ने सरकारले अरु कुरा गर्न सुहाउँदैन ।
गाउँ गाउँमा उत्पादन अभियान, शिक्षा स्वास्थ्य र रोजगार गाउँमै उपलब्ध गराउन पारिवारिक विचलन पनि कम हुनेछ । व्यावसायिक रुपमा एक क्षेत्रमा एक उत्पादन नीति बनाउन जरुरी छ । परम्परागत तरिकाले गरिएको कृषि कर्मले उत्पादन दिन सक्दैन । व्यापार व्यावसाय, उद्योग धन्धा कलकारखाना, पर्यटन, जलविद्युत र कृषिको विकासका लागि सरकारले आवश्यक सबै पूर्वाधार तयार गरिदिने र लगानीकर्ताहरुको लगानी सुरक्षित हुने वातावरण तयार गर्नुपर्छ
स्वदेशमै केही गर्न चाहनेहरुका लागि अत्यन्तै सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । भ्रष्टाचार र कमिसनतन्त्र मुक्त कर्मचारी संयन्त्र बनाई, लगानीको अनुगमन गरी उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्छ ।
मुलुकमा आर्थिक समृद्धिका लागि उत्पादन उत्पादन र उद्योग कलकारखानामा जोड दिँदै सम्पूर्ण नेपाली युवा युवतीलाई स्वदेशमै रोजगारीको वातावरण तयार गर्न सरकार, राजनीतिक दल, कर्मचारी संयन्त्र, बुद्धिजीवी, उद्योगी व्यापारी व्यावसायीलगायत सबैमा विनम्र अनुरोध छ ।