–धर्मराज कठायत
कञ्चनपुर । बेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको निमार्ण कार्य छिटै शुरु हुने भन्दै अब सुदूरका कोखवाट जन्मिने बच्चाहरुले भारतमा चौकिदारी गर्ने दिनको अन्त्यसँगै आफ्नो माटोमा आफ्नो भविष्य बनाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वताउनुभएको छ । दैजी छेला औद्योगिक क्षेत्रको अनुगमन गर्दै मन्त्री भण्डारीले कार्यालय स्थापना गरी छिट्टै काम शुरु गरिने बताउनुभएको हो ।
बजेटसमेत विनियोजन भएर लामो समयदेखि अलपत्र अवस्थामा रहेको कञ्चनपुरको दैजी छेला औद्यौगिक क्षेत्रको कामलाई फास्ट ट्रयाकबाट शुरु गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताउनुभएको हो ।
शुक्रवार दैजी छेला औद्योगिक क्षेत्रको अनुगमन गर्दै मन्त्री भण्डारीले ८ गते यस क्षेत्रमा कार्यालय स्थापना गरी जग्गाको भोगाधिकारको लागि फास्ट ट्रयाकबाट काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । नेपालको अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेश औद्योगिक क्षेत्रमा पछाडि परेको बताउँदै मन्त्री भण्डारीले दोधारा चाँदनीको सुक्खा बन्दरगाह, महाकाली करिडोर तथा दैजी छुला औद्योगिक क्षेत्रलाई चाँडो सम्पन्न गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । उक्त महत्वपूर्ण कार्यका लागि बजेटको अभाव हुन नदिने समेत उहाँले बताउनुभएको छ ।
यसैगरी, दैजि छेला औद्योगिक क्षेत्र हेर्दै आउनुभएका औद्योगिक क्षेत्र नेपालगञ्जका कार्यालय प्रमुख कृष्ण पुनले शिलान्यास पश्चात यस क्षेत्रको ईआईए गर्ने काम र यस क्षेमा पर्ने रुखहरु नम्वरिङ तथा छपानको काम सम्पन्न भईसकेको बताउनुभएको छ । साथै उहाँले शुरुमा पाँच वर्ष पहिलेको डिपिआर गर्दा भन्दा अहिले छपान गर्दा रुखहरुको संख्या बढी देखिएकाले वन मन्त्रालयले पुन डिपिआर गर्नु पर्ने माग राखे पनि यसलाई कसरी छिटो गर्न सकिन्छ त्यसबारे मन्त्रालयसँग छलफल भईरहेको बताउनु भएको छ ।
विभिन्न कारणले काम रोकिएको भए पनि अहिलेको सरकारको काम गर्ने शैलीले छिटो काम सम्पन्न हुन्छ भन्नेमा कञ्चनपुरबासीहरु आशावादी रहेको वेदकोट उद्योग वाणिज्य संघका अध्यक्ष शंकर चन्दले बताउनुभयो । साथै वेदकोट उद्योग वाणिज्य संघले दैजी छेला औद्योगिक क्षेत्रको कामलाई चाँडो सम्पन्न गराउन समय समयमा दबाब दिँदै आएको र आगामी दिनमा समेत पहल गर्ने समेत उहाँले बताउनुभयो ।
दैजी छेला औद्यौगिक क्षेत्रको काम सम्पन्न हुन सके हजारौँ नागरिकले रोजगारी पाउने र स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने देखिन्छ । नेपाल सरकारको मन्त्री परिषदले दैजी छेला औद्योगिक क्षेत्रलाई कार्यन्वय गराउन २०७२ चैत्रमा नै निर्णय गेरर पूवतर्फ छेलामुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ चुरे वनक्षेत्र, दक्षिणतर्फ चाँदनीफाँटा बस्तीको चार किल्लाभित्रको जनचेतना सामुदायिकवनको करिब २०० हेक्टर र बेतकोट सामुदायिक वनको करिब ४५० हेक्टरसमेत ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि कायम गरिएको छ । हालसम्म उक्त जग्गाको भाेगाधिकार प्राप्त गर्न नसकीदा काम अघि बढ्न सकेको छैन । सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर समयमा काम सम्पन्न गर्न सके कञ्चनपुरको मात्र होईन देशकै आर्थिक अवस्थामा सुधार आउन सक्ने देखिन्छ ।