काठमाडौं । सत्ता समर्थक १० राजनीतिक दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई विश्वासको मत दिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको १० दलको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री दाहालले सोमबार संसदमा विश्वासको मत लिने योजना छ । यसअघिको सत्ता साझेदार संसदको दोस्रो ठूलो दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुन विश्वासको मत लिनु परेको हो । गठबन्धनको सरकारको प्रधानमन्त्रीले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि त्यसको ३० दिनभित्र पुन विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
१० दलको बैठकमा आइतबार सङ्घीय संसद्मा पेश गर्ने विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभएको छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक शर्माले बताउनु भयो ।
बैठकमा प्रधानमन्त्री दाहाल, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी हुनु भएको थियो ।
राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनपछि मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो ।