काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आउँदो वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मंगलबार सूचनामार्फत दल दर्ताआह्वान गरेको हो।
तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर( २ मा वैशाख १० गते उपनिर्वाचन हुने आयोगले जनाएको छ। आयोगले निर्वाचन प्रयोजनका लागि चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ताको म्याद दिएको छ ।
‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम मिति २०७९र१२र५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०७९ साल चैत ८ गते देखि २०७९ साल चैत १२ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची( १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ,’ आयोगको सूचनामा उल्लेख छ।
तनहुँ १ बाट प्रतिनिधसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई क्षेत्र सांसदविहीन भएका छन्।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादको मुद्दामा अदालतबाट दोषी ठहर भइ प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएपछि त्यो क्षेत्र रिक्त भएको हो । आयोगले यी तिन वटै क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन गर्नेगरी कार्यतालिका तय गरेको छ ।
सङ्घीय संसद्ले सोमबार आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले तिन वटैक्षेत्रको उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशित गरिएको जानकारी दिनुभएको छ ।
आयोगको कार्य तालिका अनुसार चैत २० गते मनोनयन दर्ता गराएका उम्मेदवारले चैत २३ गते नाम फिर्ता लिने र त्यसदिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।
