काठमाडौं । तराइवासी किसानहरुको पर्वको रुपमा चिनिने चैती छठी शुरु भएको छ । चैती छठी चैत शुक्ल चतुर्दशी देखि सप्तमीसम्म मनाउने चलन छ । चैती छठी श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी हर्षोल्लासका साथ मनाउँछन्
चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिएको हो । तराई र छिमेकी देश भारतमा मात्र मनाउने गरिएको छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि समेत मनाउन थालिएको छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् दिनकर दिनानाथ, छइठ छैठ, छठीआदि नामले मनाइन्छ ।
चैत शुक्ल पक्ष षष्ठीको दिन छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । विशेषगरी निसन्तान हुने र छाला रोगीले छठ पूजा माथि बढी अस्था राखेको हुन्छ । काठमाडौँ उपत्यकामा कमलपोखरी, बागमती खोला, गोदावरी खोला लगायत विभिन्न स्थानमा चैती छठी मनाउन थालिएको छ ।
“अहिले शहरका पोखरी र नदी फोहर भएको हुनाले घरमै परिवार, छिमेकी र आफन्तलाई बोलाई रातभर जागरण बसी मिलेर छठ मनाउने गर्छु”, ललितपुर बाहुनचौरमा बस्ने ब्रतालु ललिता गुप्ताले भन्नुभयो, “समान सबै यहीँ पाउँछ तर गएको वर्षभन्दा चार गुणा समानको दाम महङ्गो भएको छ ।”
यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । भोलिपल्ट सप्तमी (पारन)का दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा बिसर्जन गरिन्छ ।
साहित्यकार तथा संस्कृतविद् विनित ठाकुरका अनुसार प्राचीनकालदेखि नै छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । उहाँले भन्नुभयो, “यो प्राकृति र किसानको पर्व हो । यसमा किसानले जुन नयाँ अन्नबाली उत्पादन गर्छ त्यसको पूजा गरिन्छ ।” यो व्रत गर्नाले छालाको रोग हुने र निसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास गरिन्छ ।