काठमाडाैं । ब्रेन ह्यामरेजका कारण शनिबार निधन भएका पत्रकार दिपेन्द्र दोङ तामाङको तामाङ परम्परा अनुसार आज (साेमबार) स्वयम्भुमा दाहसंस्कार गरिने भएको छ ।
पत्रकार दोङको चीर शान्तिको कामना गर्देै बाैद्ध गुरुहरुले आइतबार पनि स्वर्गको बाटो सहज होस् भनी प्रार्थना गर्देै पाठ गरेका थिए । शाक्य मुनिका भगवान सरह मानिने गुरु शाक्य तेञ्जेन रत्न बज्र रेञ्पोचे उपस्थित भएर प्रार्थनासहित पत्रकार दोङको श्रीमती चाँदनी लामालाई धैर्यधारण गर्न आशिर्बाद दिनुभएको थियो ।
बागमति प्रदेशका उपसभामुख, सांसदहरु एवं बिभिन्न राजनीतिक दलका नेताहरु, पत्रकारहरु श्रद्धाञ्जलिका लागि उपस्थित भएका छन् ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेड अन्तर्गत रेडियो जनतामा प्रारम्भदेखि नै स्टेशन म्यानेजर एवं ग्रुप एडिटरका रुपमा कार्यरत दोङ केही समय यतादेखि मध्यान्ह दैनिकका कार्यकारी सम्पादक एवं प्रमुख कार्यकारी अधिकृतको भूमिकामा पनि कार्यरत हुनुहुन्थ्यो ।
उहाँ नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ईन्जा एशियाको महासचिवका रुपमा पत्रकारहरुको हक हितका लागि क्रियाशील हुनुहुन्थ्यो । साथै, चलचित्र निर्देशन र गीत सिर्जनामा समेत संलग्न पत्रकार दोङ नेपाल तामाङ कलाकार संघका संस्थापक सचिव समेत हुनुहुन्थ्यो ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजयकुमार पौडेलले संस्थाको प्रारम्भदेखि नै महत्वपूर्ण जिम्मेवारी निभाईरहनुभएका पत्रकार दोङको निधनबाट संस्थाले एक कर्मठ इमान्दार सहकर्मी गुमाएको उल्लेख गर्नुभएको छ ।
त्यसैगरी, नेपाली पत्रकारहरुकाे अन्तर्राष्ट्रिय संस्था (इन्जा) एशिया च्याप्टरका अध्यक्ष एवं जनता टेलिभिजनका समाचार प्रमुख वरिष्ठ पत्रकार टंक पन्तले पत्रकार दोङको निधनले नेपालको पत्रकारिता क्षेत्रले एक श्रमजीबी, कर्मठ र ब्यबसायिक पत्रकार गुमाएको बताउनुभएको छ ।
अहिले दाेङकाे शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघरमा राखिएकाे छ । पारिवारिक स्राेतका अनुसार उहाँकाे अन्तिम दाहसंस्कार आज अपरान्ह स्वयम्भूमा गरिने छ ।
