काठमाडौं । शेयर कारोबार सोमबार उकालोे लागेको छ । साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा दोस्रो दिन भने दोहोरोले वृद्धि भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचक सोमाबार१७ दशमलव ७० प्रतिशतले बढेर १ हजार ९ सय ६ को बिन्दुमा कायम भएको छ। सोमबार २ सय ६१ वटा कम्पनीको ४३ लाख ८ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार ९ सय ८० पटक खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
लघुवित्त समूह १७ दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १ सय ९४ दशमलव ४५ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक १ सय २६ दशमलव ४३ अङ्कले बढेको छ। बैंकिङ समूह तीन दशमलव १४, विकास बैंक समूह ७६ दशमलव ८७, वित्त समूह ३२ दशमलव ६३, होटल तथा पर्यटन समूह ४७ दशमलव ५० र जलविद्युत् समूह ४३ दशमलव ५२ अङ्कले बढेको छ।
लगानी समूह शून्य दशमलव ५२, उत्पादन समूह ९९ दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०८, व्यापार समूह २५ दशमलव ९९ र अन्य समूह १४ दशमलव २६ अङ्कले बढेको छ।
सुपरमाई हाइड्रोपावर लिमिटेड, एशियन हइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
हिमालय डिस्टिलरी लिमिटेडको सोमबार सबैभन्दा धेरै ५ करोड ९० लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने ग्लोबल आइएमई बैंक प्रमोटर शेयरको २ लाख ७४ हजार २ सय ९६ कित्ता शेयर खरिद बिक्री भएको छ।