काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको छ । अर्थमन्त्रीले नवनिर्वाचित पदाधिकारीसँग सोमबार भेटघाट गर्दै शुभकामना दिनुभएको हो ।
अर्थमन्त्री महतले महासंघका पदाधिकारी अहिले अर्थतन्त्रमा देखिएका अफ्ठ्यारा निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । ‘वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महशुस हुन्छ। तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं’ व्यवसायीसँग भेटघाटमा उहाँले भन्नुभयो– केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ । महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं। यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो। सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ।’
अर्थमन्त्रीले सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन नसकेको स्वीकार्नुभएको छ । ‘यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ’ उहाँले भन्नुभयो– ‘म स्वीकार गर्न तयार छु। सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ।’
व्यवसायीसँगको छलफलमा अर्थमन्त्रीले आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या भएको धारणा व्यक्त गर्नुभयो । । समस्या समाधानको लागि आफूले राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको उहाँको भनाई छ । ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ’ उहाँले भन्नुभयो– अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ। उनीहरुको सल्लाह सुझावमा पुराना नीति समय सापेक्ष बनाउने पहल गरिएको हो।’
अर्थमन्त्री महतले मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको समेत उल्लेख गर्नुभयो । ‘ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो’ उहाँले भन्नुभयो– अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ। यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्नेछ।’