काठमाडौैं । अर्थतन्त्रमा उत्पन्न समस्या समाधान गर्न ‘आज जनता आर्थिक शिखर सम्मेलन’ हुँदैछ । मुलुकमा पछिल्लो समय बैंकहरुमा मौज्दात कम हुँदै गएको छ । सेवाग्राहीले बैंकबाट पैसा झिक्ने तर नराख्ने क्रम बढेको छ । त्यहीकारण बैंकहरुमा मौज्दात कम भएको हो ।
बैंकहरुमा मौज्दात कम हुँदा र भएको रकम पनि सही ढंगले चलायमान नहुँदा अर्थतन्त्रमा समस्या देखिएको हो । सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधन गर्न विभिन्न उपाय खोजिरहेको छ । यही बेला अर्थतन्त्रमा देखिएको समस्या समाधानको उपायबारे छलफल गर्न ‘जनता प्रसारण तथा प्रकाशन लिमिटेड’ले आज‘ ‘जनता इकोनोमिक समिट २०८०’ आयोजना गरेको हो ।
शुक्रबार अपरान्ह १२ बजेदेेखि मल्ल होटलमा शुरू हुने ‘जनता आर्थिक शिखर सम्मेलन’ मा अर्थतन्त्रको समस्याबारे सम्बन्धित पक्षबीच गहन छलफल गरिने भएको छ । सम्मेलनमा अर्थतन्त्रको समस्या समाधानबारे अर्थमन्त्री डा। प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग अर्थविद् र व्यवसायी संघ, संस्थाका प्रतिनिधिहरूले छलफल हुने आयोजकले जनाएका छन् ।
ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक र राजधानी दैनिकद्वारा प्रायोजित सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान र अर्थशास्त्री डा विजयकुमार पौडेल लगायतले अर्थतन्त्रमा देखिएको समस्या समाधानबारे आफ्नो धारणा राख्नु हुनेछ ।
नेपाल राष्ट बैंक नेपाल बैंकर एशोसिएशन, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ सँगको सहकार्यमा हुने सम्मेलनमा डिस होमलाई इनटरनेट पाटनर, रेडियो जनतालाई रेडियो पाटनर र जनता समाचार डटकमलाई अनलाइन पाटनर राखिएको छ । सम्मेलन जनता टेलिभिजन, रेडियो जनता र जनता समाचार डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।