काठमाडौं । सरकारी कर्मचारीलाई दैनिक ज्यालादारी र मन्त्रालयका सचिवहरुलाई ‘घण्टे करार’ गरिनुपर्ने आवाज उठ्न थालेको छ । सरकारी कर्मचारी काम भन्दा तलब र सुविधातिर बढी केन्द्रित भएपछि यस्तो आवाज उठ्न थालेको हो ।
निजामति सेवा , सेना, प्रहरी, सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संघसंस्था, विभन्न संस्थान, विद्यालय तथा शिक्षण संस्था, अस्पताल तथा स्वास्थ्य संस्था, न्यायालय र संचार संस्था गरी मुलुकमा करिब ५ लाख कर्मचारी छन् । प्रशस्त सुविधा, आरामदायी र ‘आनन्दको जागिर’ मानिने निजामति क्षेत्रमा मात्रै ८० हजार भन्दा बढी कर्मचारी छन् ।
सरकारीले कर्मचारीलाई स्थायी र करारमा नियुक्त गर्दै आएको छ । स्थायी कर्मचारी लोकसेवा आयोगमार्फत छनौट हुने गरेका छन् । करारका कर्मचारी प्रधानमन्त्री, मन्त्री र सम्बन्धित कार्यालय प्रमुखहरुले आफ्नो रुचि र आवश्यकताको आधारमा नियुक्त गर्दै आएका छन् । सरकारी कर्मचारीलाई सरकारले आवश्यक सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । सरकारले नागरिकबाट विभिन्न शीर्षकमा कर लिएर राज्यको ढुकुटीमा रकम जम्मा पारी त्यसबाट कर्मचारी पाल्दै आएको छ । कर्मचारीलाई सेवा अवकाशपछि पेन्सन समेत उपलब्ध गराउँदै आएको छ ।
यसरी पालिएका कर्मचारीले विभिन्न काम लिएर कार्यालयमा आउने नागरिक तथा सेवाग्राहीलाई सम्मानजनक व्यवहार गरेको भने खास्सै पाइँदैन । राज्यले प्रयाप्त सेवासुविधा उपलब्ध गराएपछि कर्मचारीले कामले आएका नागरिक तथा सेवाग्राहीलाई कार्यालयमा बिना कारण घण्टौ कुराउने र प्रशासनिक झण्झट खडा गरेर अनुचित लाभ लिने समेत गर्दै आएका छन् । यस्तो कार्यले नागरिक तथा सेवाग्राहीमा कमचारीप्रति बितृष्णा हुनेगर्छ ।
कर्मचारी सेवा सुविधामा मात्रै लिप्त भएर आफ्नो दायित्व र गर्नुपर्ने कामप्रति दत्तचित्त हुन छाडेपछि जनमानसबाट दैनिक ज्यालादारीमा राख्नुपर्ने आवाज उठ्न थालेको हो । जनमानमा यस्तो आवाज उठ्न थालिरेकै बेला सरकारको उच्च ओहोदाका एक अधिकारीले सबै सचिवहरुलाई ‘घण्टे करार’ मा राख्न सुझाव दिनुभएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले यस्तो सुझाव दिनुभएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको हो । खरिद अनुगमन कार्यालयका सचिव बुर्लाकोटीले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिनुभएको हो ।
सचिव बुर्लाकोटीले मंगलबार बिहान फेसबुकमा स्टाटस लेख्दै सचिवको विद्वतापन देखेर वाक्क लागेको समेत उल्लेख गर्नुभएको छ । ‘देशको विकास गर्ने हो भने नेपाल सरकारका सचिवहरुलाई घण्टे करारमा राखियोस् मान्यवर, सचिवहरुको विद्वता देख्दा वाक्क लागेर’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।