पर्सा । वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा ३६ करोड ६१ लाख राजश्व सङ्कलन गरेको छ । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले सो अवधिमा विभिन्न २६ शीर्षकमा राजश्व सङ्कलन गरेको हो ।
महानगरपालिकाको राजश्व शाखा प्रमुख मनोजकुमार कर्णका अनुसार चालु आवमा सम्पत्ति करबाट १४ करोड एक लाख, घर बहाल करबाट पाँच करोड ५७ लाख, व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट दुई करोड २१ लाख, सरकारी सम्पत्ति बहालबाट दुई करोड ७१ लाख, अन्य सेवा शुल्कबाट दुई करोड दुई लाख तथा अखेटोपहारमा लाग्ने करबाट दुई करोड ३६ लाख सङ्कलन भएको छ ।
यस्तै नक्सा पास दस्तुरबाट दुई करोड ९० लाख, सिफारिस दस्तुरबाट एक करोड ४३ लाख, भूमि करबाट ७७ लाख, साना सवारी साधनको करबाट २४ लाख, बाँडफाँडबाट प्राप्त विज्ञापन करबाट ५३ लाख, अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने रोयल्टीबाट ६६ लाख, परीक्षा शुल्कबाट ११ लाख, बहाल भिटौरी करबाट सात लाख तथा अन्य प्रशासनिक सेवा शुल्कबाट १२ लाख राजश्व सङ्कलन भएको कर्णले बताउनुभयो ।
त्यस्तै प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु ३१ लाख, व्यक्तिगत घटना दर्ताबाट २६ लाख, नाता प्रमाणित दस्तुरबाट १२ लाख, र पार्किङ शुल्कबाट दुई लाख राजश्व सङ्कलन भएको छ । आव २०७८/७९ को १० महिनाको अवधिमा महानगरपालिकाले विभिन्न शीर्षकमा ५२ करोड ४० लाख राजश्व सङ्कलन गरेको थियो ।