पासाङल्हामु मार्गअन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारी साधन दिनहुँ ट्राफिक कारबाहीमा पर्न थालेका छन् । ऐन नियमको पूर्ण पालना गरी सवारीसाधन सञ्चालन गर्न ट्राफिक प्रहरीको अनुरोधलाई बेवास्ता गर्ने सवारी चालक कारबाहीमा परेका हुन् ।
ट्राफिक प्रहरीले पटक पटक अनुरोध गर्दा यातायात व्यवस्था कार्यालयको अनुमति नल्याउने, सवारी साधन गुडाउँदा साथमा बिलबुक नराख्ने, सवारी चालक अनुमति पत्र नल्याउने गरेका कारण ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको हो । यसरी कारबाही पर्नेमा मोटरसाइकलदेखि सानाठूला सबै प्रकारका सवारी साधन रहेका छन् ।
गत साउनदेखि वैशाख मसान्तसम्म कूल तीन हजार आठ सय ७० सवारी साधन कारबाहीमा परेका छन् । ती सवारी साधनमध्ये ट्रक, टिपर एक हजार ९३८, यात्रुवाहक बस १५८, कार, जीप, भ्यान जस्ता हल्का सवारी ८९४ र मोटरसाइकल ८८० रहेको ट्राफिक प्रहरीका अभिलेखकर्ता जयराम लामिछानेले बताउनुभयो ।
साना सवारी साधनका चालकले ठूलाठूला कन्टेनरसमेत चलाई अनियमित गरेको भेटिन थालेपछि ट्राफिक परीक्षण कार्यलाई निरन्तर रूपमा तीव्रता दिइएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताउनुभयो । सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकउपर कारबाही स्वरूप जरिवाना मात्र गर्ने प्रावधानअनुरूप १० महिनाको अवधिमा असुल गरिएको ४० लाख ६५ हजार रुपैयाँ जरिवाना राज्य कोषमा दाखिला गरिसकेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
चलु आवको १० महिनाको अवधिमा रसुवाका विभिन्न भागमा सानाठूला गरी १७ सवारी साधन दुर्घटना भएको बताइएको छ ।