कञ्चनपुर । महाकाली पारीका दुःखका बयान गरी साध्य छैन । कति र के के सास्ती झेल्नुपर्छ त्यो भुक्तभोगीलाई थाहा छ । वर्षेनी वर्षायाममा बाढी र डुवानले दिने दुःख त यहाँको रीत बनिसकेको छ । वर्षेनी बाढी र डुबानको चपेटामा पर्दै आएको कञ्चनपुरको दोधारा चाँदनीमा बाढी लक्षित प्राकृतिक विपतबाट स्थानीयलाई जोगाउन सेफ हाउस बन्ने भएको छ ।
कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाका अधिकांश बस्तीहरु प्रत्येक वर्ष बाढीले प्रभावित हुने गरेका छन् । विशेषगरि महाकाली नदी र जोगबुढा नदीमा आउने बाढीका कारण वडा नम्बर २, ३, ४ र १० वर्र्षैपिच्छे डुबानमा पर्ने गर्छन् । महाकाली नदीमा बाढी आएका बेला जोगबुढा नदी थुनिएर वडानम्बर १० कुतियाकबर डुबानमा पर्ने गर्छ । बाढी र डुबानको समयमा नेपालसँगको सम्पर्क बिच्छेद हुने कुतियाकबरमा तत्काल उद्धार गर्न पनि कठिनाई हुने गरेकाले सोही स्थानमा अग्लो घर सेफ हाउस बनाउन लागिएको हो ।
हिउँदमा गहुँका बाला लहलह भएको कुतियाकबरको भूभाग मनसुनमा जलमग्न हुनेगर्छ । गाउँ बाढीमा चुर्लुम्म डुब्छ । अनि स्थानीयलाई ज्यान जोगाउन नै हम्मेहम्मे पर्छ । २०७८ कात्तिकमा महाकालीमा बाढी आउँदा बस्ती पूरै डुब्यो । धन्न, भारतीय सीमाको बंगाली बस्तीको अग्लो ठाउँमा पुगेर स्थानीयले ज्यान जोगाए । कुतियाकबरका बासिन्दासँग शहरीयाको जस्तो बिलासी जीवन बाँच्ने लालसा पटक्कै छैन । मात्रै, एउटा सपना छ, आफ्नो र समुदायको ज्यान जोगाउने । वर्षेनी बाढीले घरखेत, जायजेथा बगाएर आर्थिक रुपमा शुन्यमा झर्ने गरेका उनीहरु यो हिउँदमा सुरक्षित आवासगृह बनाउनसके बाँच्ने सपना साकार हुन्थ्यो भन्ने आशामा छन् ।
बाढीले वर्षभरिका लागि खाने धानखेती बगाउनुको साथै घरभित्रको अन्नअनाजमा पनि क्षति पु¥याउँदा हातमुख जोर्न नै कठिन हुने गरेको गुनासो गर्छन्, स्थानीय । सुरक्षित बाँच्ने आधार खोजिरहेका छन् । सरकारसँग, एकस्वरमा वर्षौदेखि यही याचना गरिरहेका छन् ।
दोधारा चाँदनी नगरपालिकाकाले पछिल्लो ३ आर्थिक बर्षमा ४६ लाख २६ हजार ९ सय ८१ रुपैयाँ विपद् व्यवस्थापन प्रयोजनको लागि मात्रै खर्च गरेको छ । कटान रोकथामका लागि प्रदेश पूर्वाधार र समपूरक तथा नगरपालिकाको वार्षिक बजेट समेत गरी २ करोड २८ लाख ५० हजार खर्च भएको छ । तटबन्धको काम अहिले पनि जारी छ । महाकाली नदीमा महाकाली सिंचाई र जोगबुढा नदीमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट तटबन्ध निर्माणको काम भइरहेको छ ।
कुतियाकबरमा निर्माण गर्न लागिएको सुरक्षित आवास गृहले मानवीय क्षति त रोक्ला तर हरेक वर्ष बाढीका कारण पुगेको भौतिक सम्पतीको हानीनोक्शानीको भरपाई हुनसक्दैैन । त्यसैले सरकारले कुतियाकबर जस्ता कयौ जोखिमयुक्त वस्तीमा पुगेको भौतिक सम्पतीको हानी नोक्शानीको मूल्ंयाकन गरी अन्तर्राष्ट्रिय वित्तकोष समक्ष क्षतिपूर्तिको दाबीसम्म गर्नुपर्ने देखिन्छ ।