काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई ‘देशद्रोही’को संज्ञा दिनुभएको छ ।
माओवादी सांसद दाहालले प्रतिनिधिसभा बैठकमा आफू नेतृत्वको सरकारको पालामा ‘पशुपतिनाथ मन्दिरमा पित्तलको जलरी हालेको’ आरोप लगाएपछि एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीकाे स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रममा त्यस्तो संज्ञा दिनुभएको हो ।
‘रकम दिएपछि सुन कि पित्तल ट्वाक ट्वाक पार्न गएको थिएँ म ?’ उहाँले भन्नुभयो– ‘यस्ता यस्ता मान्छेहरु संसदमा पुगेका छन् कि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने ? यसलाई लिएर संसद अवरुद्ध ‘हुनैपर्छ संसद अवरुद्ध किनभने यस्तो वकवास, एउटा जँड्याहाले जाँड खाएको तालमा पनि यस्तो बोलेर हिंड्दैन । देशमा कोही पनि इमानदार छैन भनेर देशप्रतिकै वितृष्णा जगाउनु देशद्रोही काम हो ।’
एमाले अध्यक्ष ओलीले संसद जस्तो गरिमामय ठाउँमा आधारहीन, जनतामा भ्रम पार्ने कुरा गर्न नहुने धारणा व्यक्त गर्नुभयो । ‘कि त पुष्टि हुनुपर्यो, पुष्टि हुने त सम्भावनै छैन’ उहाँले भन्नुभयो– नेकपा एमाले, त्यसमा पनि मैले जसले जिन्दगीभरि भ्रष्टाचार अभियान चलाएर आएको छु, त्यही मान्छेविरुद्ध, यो त इमानका शत्रुहरुले गर्ने काम हो ।’
पूर्वप्रधानमन्त्री ओलीले सरकार नियोजित रुपमा एमालेविरुद्ध लागेको उल्लेख गर्नुभयो। ‘नक्कली भूटानी शरणार्थी बनाएर विदेश पठाउने धन्धामा केही व्यक्ति सामेल रहेछन्’ उहाँले भन्नुभयो– अदालतमा केस भएकाले को संलग्न छ ? म धेरै भन्न चाहन्नँ ‘तर, त्यसको सबै बाढी अहिले एमालेतर्फ फर्काउन खोजियो। मिडिया सामाजिक सञ्जाल। नआए पनि यो आयो भनेर एमालेकाविरुद्ध हावाहुरी चलाएको छ । एमाले यसमा कहिँ कतै संलग्न छैन ।’