पुष्पराज अधिकारी
मकवानपुर । बागमती प्रदेशको आर्थिक वर्ष २०८०–०८१को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बागमती सरकारले केही पुराना र नयाँ योजनालाई समेट्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभामा आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।सरकारले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गर्ने, सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ ।
३१ बुँदामा प्रस्तुत गरिएको नीति कार्यक्रम शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, रोजगार, खानेपानी, सिंचाईका विषय प्राथमिकतामा रहेका छन् । नीति कार्यक्रममा युवा लक्षित कार्यक्रम,स्वारोजगार हुने किसिमका सीप मुलक तालिम लगातय पर्यटन, जात धर्म,भाषाका क्षेत्रमा विभिन्न कार्यक्रम समेटिएको छ ।
प्रदेश सरकारले सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा लैजानुका साथै किसानलाई परिचय पत्र कार्यक्रम ल्याएको छ । बाल विवाह र सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउन सरकारले नीति कार्यक्रम ल्याएको छ ।
पुँजी निर्माण, उत्पादकत्व र उत्पादन अभिवृद्धि तथा रोजगारीको अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने नीति लिइने जनाएको छ । योजना तथा कार्यक्रमको न्यूनतम लागत निर्धारण गरी त्यो भन्दा कमका आयोजना स्थानीय तहमा पठाइने नीति सरकारको छ ।
‘प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा प्रदेशको सन्तुलित विकासका लागि ठूला आयोजना छनोट गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । बागमती प्रदेश सरकारले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गर्दै कक्षा १२ सम्म सञ्चालन गर्ने भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शर्माले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गरी आगामी आर्थिक वर्ष भित्र कक्षा १२ सम्म सञ्चालन गरिने बताउनुभएको छ । उहाले कक्षा १२ सञ्चालन भएका प्रदेशका सबै माध्यमिक विद्यालयमा त्यो कार्यक्रम विस्तार हुने बताउनुभयो ।
बागमती सरकारले ‘गृहणी महिलासँग प्रदेश सरकार’ कार्यक्रम संचालनको घोषणा गरेको छ । प्रदेशप्रमुख शर्माले ‘गृहणी महिलासँग प्रदेश सरकार’ भन्ने मूल नाराका साथ गृहणीलाई सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम संचालन गरिने सरकारले नीति लिएको बताउनुभएको छ ।
प्रदेश सरकारले लैङ्गिक हिंसाबाट प्रभावितको लागि उद्दार, राहत, मनोसामाजिक परामर्श र पुर्नस्थापन सम्बन्धी सामाजिक सुरक्षाको विशेष कार्यक्रम संचालन गरिने उहाले बताउनुभयो । प्रदेश सरकारले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि समक्ष तथा व्यवसायी खेलाडी तयार गर्न खेलको पूर्वाधारको विकास गर्दै प्रशिक्षणको विकास गर्ने प्रदेशप्रमुख शर्माले बताउनुभयो । साथै उनले स्थानीय स्तरमा खेलकुदलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने बताउनुभयो ।