काठमाडाैं । महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइने छ ।
दिवसका उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा रहनुभएका दलका नेताहरूले गणतन्त्र प्राप्तिका आन्दोलनमा सहभागी सबै जनसमुदायलाई हार्दिक अभिनन्दन प्रकट गर्नुभएको छ । विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।
तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।
गणतन्त्रलाई एउटा शासन प्रणालीमात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिका रूपमा लिने गरिएको छ । सरकार प्रमुख एवं राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको सुन्दर प्रणालीलाई बलियो तुल्याएर गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्नका लागि त्यसतर्फ अग्रसर हुन सबै नेपाली जनतामा आह्वानसमेत गर्नुभएको छ ।