काठमाडौं । चारदिने भारत भ्रमणका लागि नयाँदिल्ली जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा त्यहाँका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ । सरकारको नेतृत्व गरेकाे पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दिल्ली जानुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीहरूले बिदाई गर्नुभएको छ । प्रधानमन्त्री दाहालले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ ।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको भ्रमणमा प्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र छोरी गंगा दाहालसहितको १ सय २० जनाको जम्बो टोलीको सहभागिता छ ।
भारत भ्रमणमा विद्युत बिस्तार, विद्युतमा भारतीय लगानी प्रवद्र्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चालन लगायतका विषयमा छलफल गर्ने नेपालको तयारी छ ।
प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।