काठमाडाैं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पुगेको छ। ०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै विनाश भएको थियो।
हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरियाे । नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदासहितको ज्यान गएको थियो।
हत्याकाण्डपछि राजपरिवारका सदस्यहरुलाई नेपाली सेनाको छाउनी अस्पताल पुर्याइएको थियो । राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको सोही दिन मृत्यु भएर कोमामा रहेका दीपेन्द्रलाई नयाँ राजा घोषणा गरिएको थियो ।
हत्याकाण्डको विषयमा अध्ययन गर्न तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको समितिले दरबार हत्याकाण्ड तत्कालिन युवराज दीपेन्द्रले गराएको प्रतिवेदन बुझाए पनि त्यसलाई धेरैले पत्याएनन् । प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँगको प्रेम प्रसंगका कारण दीपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो ।
यस अवधिमा दरबार हत्याकाण्डमाथि थुप्रै टिकाटिप्पणी भए, पुस्तकहरु छापिए तर २२ वर्षसम्म यथार्थ कुरा बाहिर आउन सकेको छैन, अझै रहस्यमै सिमित छ ।