काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाको सोबारको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणकमा नेपालको शिर ठाडो पार्नेगरी गौरवपूर्ण ढंगले प्रस्तुत हुन टिप्पणी गर्नुभएको छ ।
भ्रमणमा प्रोटोकल समेत नमिलेको उहाँको भनाई छ ‘प्रधानमन्त्रीज्यू अत्यन्त फितलोरुपमा प्रस्तुत हुनुभयो’ उहाँले भन्नुभयो– वास्तवमा भन्ने हो भने, मलाई भन्न त मन थिएन, तर हाम्रो प्रोटोकल नै भएन । तरिकाहरु मिलेन । परराष्ट्रमन्त्री कता छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, नेताहरु कता हुन्, छोरीलाई सँगै राख्नुभएको छ । पीए राख्नुभएको छ, मन्त्री र सचिव छैनन् ।’
एमाले अध्यक्ष ओलीले यस्तो बेला परिवारको सदस्य राख्न नमिल्ने बताउनुभयो । ‘फर्स्ट लेडी भनेको स्पाउस (श्रीमान÷श्रीमती) लाई भनिन्छ’ उहाँले भन्नुभयो– अरु फेमिली मेम्बर हुन् । छोरा लगे फस्र्ट जेन्टलम्यान भन्ने त ? थुप्रैले स्पाउस लैजान्छन् महिला प्रधानमन्त्री भएको देशमा । छोरा लगेर स्पाउसको स्टाटस हुँदैन । परिवारका सदस्यलाई फर्स्ट लेडी भनिन्न । भोलि नातिनी लगे के भन्ने ? प्रोटोकल यस्तो भद्रगोल गर्न हुँदैन ।’
भेटवार्तामा परराष्ट्रमन्त्री, सचिव र शिष्टाचार महापाल, नोट मेकर हुनुपर्ने ओलीको सुझाव छ । ‘मोदीसँग गरेको कुरा तपाईंले कति सम्झिनुयो ?’ उहाँले भन्नु्भयो – अहिले भनेको कुरा फेरि दोहोर्याएर त्यही शब्दमा भन्न सक्नुहुन्छ ? त्यसैले आधिकारिक रेकर्ड हुनुपर्छ ।’
अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै उपलब्धि नभएको बताउनुभयो । ‘१५ ओटा राँगा ल्याउने बाहेक कुनै प्रगति भएन’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले नागरिकता सम्बन्धी विधेयक संसदमा पुनः ल्याउनुपर्ने बताउनुभयो ।