नुवाकोट । वक्तृत्वकला प्रतियोगिताको तृतीय पुरस्कार श्री मंगलादेवी माध्यमिक विद्यालयकी सुनिता तामाङले प्राप्त गर्नुभएको छ।
नुवाकोट जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको तृतीय पुरस्कार सूर्यगढी गाउँपालिका–१, छापमा अवस्थित श्री मंगलादेवी माध्यमिक विद्यालयकी छात्रा सुनिता तामाङले प्राप्त गर्नुभएको हो ।
‘युवा नवप्रवर्द्धन’ विषयमा जिल्ला स्तरीयरुपमा भएको कडा प्रतिस्पर्धामा तामाङ तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको विद्यालयले जनाएको छ ।
आफूभन्दा माथिल्लो स्तरका छात्र/छात्रासँग भएको कडा प्रतिस्पर्धाबीच तृतीय स्थान हासिल गर्न सफल भएकीमा प्रधानाध्यापक दत्तप्रसाद न्यौपानेले खुशी प्रकट गर्दै तामाङको उज्वल भविष्यको कामना गर्नुभयो। सुनिताको सफलताले आगामी दिनमा हुने विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुमा भाग लिन अरु विद्यार्थीहरुलाई प्रेरणा मिल्ने प्रधानाध्यापक न्यौपानेको भनाइ छ ।
सूर्यगढी गाउँपालिकाकै दुर्गम भेग मानिने छापकी सुनिता तामाङ कक्षामा निकै लगनशील, मिहिनेती र उत्कृष्ट छात्रा रहेकाे नेपाली शिक्षक सुस्मा पन्तले जानकारी दिनुभयो ।
गाउँपालिका भरका विद्यालयहरुको नेतृत्व गरी पुरस्कार जित्न सफल भएको भन्दै सुनिता तामाङले पालिका, विभिन्न संघ संस्था एवं वौद्धिक वर्गबाट उच्च प्रशंसा प्राप्त गर्नुभएको छ ।
सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत तामाङले क्याम्पस र निजी विद्यालयमा अध्ययनरत छात्रासँग प्रतिस्पर्धा गर्नुभएको थियो ।
त्यस्तै, प्रतियोगितामा शंकरदेव क्याम्पस, वेलकोटगढीकी विविना लामिछानेले प्रथम, सुभेनियर बोर्डिङ स्कुलकी सिम्रिका रिजालले द्वितीय तथा विदुरका निशान नेपाली र सुभेनियर स्कुलका पूर्णिमा पाण्डेले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयाे ।
कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय हुने छात्रालाई क्रमशः १५ हजार, १० हजार तथा पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार प्रदान गर्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टारका सञ्चालक समितिका अध्यक्ष एवं साहित्यकार श्रीराम श्रेष्ठले वक्तृत्वकला प्रतियोगिताबाट विद्यार्थीहरुमा लुकेर बसेका क्षमता प्रष्फुटित हुने हुँदा अध्ययनमा गुणात्मक वृद्धि हुने बताउनुभयो ।
साहित्यकार प्राध्यापक शिवसुन्दर पुडासैनी, अधिवक्ता एवं पत्रकार नवदिप श्रेष्ठ र साहित्यकार राजकुमार अर्जेल ‘पुत्ला’ निर्णायक रहनुभएका प्रतियोगितामा जिल्लाभरका २५ छात्र/छात्राहरुले प्रतिस्पर्धा गरेका थिए।
जिल्ला युवा समिति नुवाकोटका अध्यक्ष उद्धव पनेरुका अनुसार बागमती सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत ‘प्रदेश युवा परिषद्’ को आर्थिक सहयोगमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
श्री मंगलादेवी माध्यमिक विद्यालय, सूर्यगढी–१, छाप