–सिद्धराज राई
रासस स्थापना भएको ६३ वर्ष पुगेको छ । विसं २०१८ मा काठमाडौँको नयाँसडकको एउटा कोठाबाट सुरुआत भएको रासस अहिले सुविधायुक्त भवनबाट सञ्चालन भइरहेको छ । राससले आफ्नो अतीत जगेर्ना गर्ने सन्दर्भमा कार्यालयको एउटा कोठामा ६३ वर्षको इतिहासलाई सङ्ग्रहगरी रासस मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याएको छ । सङ्ग्रहालय निर्माण र सञ्चालनको कार्य आफैँमा एक चुनौतीपूर्ण र जटिल रहेको हाम्रो अनुभव छ । गुगल र सामाजिक सञ्जालमा केन्द्रित भई सूचना खोजी रहेको नयाँ पुस्ताका लागि त यो सङ्ग्रहालय महत्वपूर्ण हुने नै छ पुराना पुस्ताले पनि मिडिया विकासको अध्ययनका सन्दर्भमा एकैछिन भए पनि राससको मिडिया सङ्ग्रहालयमा आउनुपर्ने अवस्थाको सिर्जना भएको छ भन्ने लागेको छ । सम्भवतः यस्तो किसिमको सङ्ग्रहालय नेपालमै पहिलो हो भन्न सकिन्छ ।
मैले सुनेको एउटा कथाअनुसार बाबुले छोरालाई एउटा पुरानो मोडलको खिया लागेको घडी दिएर भनेछ, छोरा यो घडीलाई बजारमा बेचेर आउ । छोरा घडी लिएर बजार गयो । बजारमा घडीका सबै पसलमा गएर बुझ्यो । तर कसैले किन्न मानेन । निरास भएर घर फर्केको छोरालाई बुबाले सोध्योे, किन निरास ? छोराले भन्यो, घडी कसैले किनेनन् । अनि बुबाले फेरी छोरालाई भन्यो, एकपटक सङ्ग्रहालयमा देखाउन जाउ । जब सङ्ग्रहालयमा गएर छोराले घडी देखायो । त्यहाँ उसले त्यो घडी ऐतिहासिक र सङ्ग्रहयोग्य रहेको जवाफ पायो । अनि सङ्ग्रहालयमा घडीको राम्रो मूल्य पायो र घडी बेचेर खुसी हुँदै घर फर्कियो ।
सङ्ग्रहालयमा लाखौँ मूल्यमा पुरानो घडी बेचेर फर्केको छोरालाई सम्झाउँदै बुबाले भन्यो–‘हरेक वस्तु ठीक ठाउँमा पु¥याउनुपर्छ र सही मुल्य पाइन्छ ।’ यो कथा जस्तै राससले पनि अहिले सङ्कलन गरेर प्रदर्शनीमा राखेका सामग्रीहरु गोदममा थुप्रिएर बसेका थिए । ती सामग्रीलाई ठीक ठाउँमा सङ्ग्रह गरी प्रदर्शनीमा राखिएको छ भन्ने हाम्रो ठम्याइ हो । सङ्ग्राहलय आफैँमा एउटा अनुसन्धान र अध्ययन केन्द्र हो । पुर्खाले अर्जेको संरचनामा हामीले अहिले नयाँ प्रविधिमा अभ्यास गरिरहेका छौंँ । यो सङ्ग्रहालय ती पुर्खाहरुप्रतिको सम्मान पनि हो भन्न सकिन्छ ।
राससको मूल कार्य समाचार सङ्कलन र सम्प्रेषण नै हो । राज्यको आधिकारिक सूचनालाई मिडियामार्फत जनतासम्म पु¥याउने र जनताको विचारलाई राज्यसम्म पु¥याउने पुलको रुपमा राससले भूमिका निर्वाह गरिरहेको छ । राससले आफ्नो सेवालाई समयनाकूल परिवर्तन गर्दै लगेको छ । राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण र प्रचारप्रचार गरी सरकारको मुख्य प्रचार साझेदारको रुपमा राससले पहिचान बनाएको छ । हिजो थोरै मिडियाको लागि अति आवश्यक रासस आज आएर सबै मिडियाको लागि अपरिहार्य बनेको छ, बन्दै छ । हिजो राससको सेवा प्रयोग नगरी आफ्नै क्षमतामा समाचार उत्पादन गर्ने मिडियाले समेत अहिले राससको सेवा लिएको कुरा सुनाउन पाउँदा हाम्रो यात्रा सही दिशामा केन्द्रित छ भन्ने लागेको छ ।
रासस नागरिकलाई सूचनाको हक सुनिश्चिता गराउन, सामाजिक रुपान्तरणको अभियानमा हातेमालो गर्न र आधिकारिक सूचना संप्रेषण गर्न अग्रमोर्चामा उभिएको छ । हामीले दिने सेवा समयनुकूल, आधिकारिक र सही छ भन्ने हाम्रो विश्वास हो । तर हामीले अहिले गरिरहेको कार्य मात्र पर्याप्त छैन भन्ने हाम्रो ठम्याइ हो । समाचार सम्प्रेषणका सन्दर्भमा हामीले धेरै गर्न बाँकी छ ।
आजको डिजिटल युगमा आफूलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न, राससले हरसम्भाव प्रयास गरिरहेको छ । यसै सिलसिलामा राससले आफ्नो सेवालाई विविधीकरण गर्दै लगेको छ । नेपाली समाचारबाट सुरु भएको राससको सेवा अहिले अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार, फिचर/आलेख÷विचार, फोटो, भिडियो, अडियो सेवा हुँदै २०८० माघदेखि अवधि भाषामार्फत मातृभाषाको समाचार सेवा पनि सुरुवात गरेका छौंँ । यी सेवालाई रासस निरन्तर प्रगतिपथमा अग्रसर रहेको सूचकको रुपमा हामीले लिएका छौँ ।
यस आर्थिक वर्षदेखि राससले २४ सै घण्टा समाचार सेवा र मातृभाषामा थप दुई भाषाहरु मैथिली र नेपाल भाषामा समाचार सेवा सुरुआत गर्ने तयारी गरिरहेको जानकारी गराउन पाउँदा हामी गौरवबोध गरिरहेका छौंँ । राससले प्रारम्भ गर्ने २४ सै घण्टा समाचार सेवाले नेपाली सञ्चारमाध्यमहरु अब पहिलाजस्तो डेटलाइनमा सीमित नरहने विश्वास छ । मातृभाषाको समाचार सेवाले नेपाली मिडियालाई विविध भाषामा समाचार संप्रेषण गर्न सहयोग पुग्नेछ । खासगरी मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमको विकास र स्थायित्वका लागि यो सेवा कोशे ढुंगा सावित हुने हाम्रो विश्वास छ ।
राससको समाचार सेवाको विविधीकरण गर्ने कार्यसँगै केही रचनात्मक कार्यसमेत गर्ने प्रयास गरिरहेको छ । राज्य र सरकारको कामलाई सहयोग र साथ दिन राससले गएको जेठ महिनामा ‘समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । यो तस्बिर प्रदर्शनीले नेपालमा विकास भएन, कुनै काम भएन भनेर, निर्माण भइरहेको भास्यलाई निरुत्साहित गर्न सहयोग पुगेको छ भन्ने लागेको छ ।
राससले ६३ वर्षको अवधीमा प्रयोगमा ल्याएका वस्तुहरुको सङ्ग्रह गरेर रासस मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याएको छ । यो सङ्ग्रहालय राससले आफ्नो आन्तरिक स्रोत परिचालन गरेर स्थापना गरेको हो । राससको गोदाममा थुप्रिएका, बेकामे भनेर राखिएका, वर्तमानमा प्रयोगहीन ठहरिएका सामग्रीहरु सङ्कलन गरेर स्थापना गरिएको, यो सङ्ग्रहालय राससलाई जीवन्त राख्ने एक प्रयास हो भन्दा अत्युक्ति नहोला ।
अहिलेको रासस व्यवस्थापन टिमले राससको इतिहासलाई अभिलेखीकरण गर्ने प्रयास गरिरहेको छ । यसैको एउटा खुड्किलोको रुपमा रासस मिडिया सङ्ग्रहालय पनि हो । २०८० फागुन ७ गते ६३औं वार्षिकेत्सवको सन्दर्भमा राससमा नेतृत्व गरेका अध्यक्ष, महाप्रबन्धक र सेवा गरेका कर्मचारीहरुको अनुभव र अनुभूतिलाई सङ्ग्रह गरेर एउटा पुस्तक प्रकाशित गरेका थियौंँ । यस वर्ष रासस मिडिया सङ्ग्रहालय स्थापना गरेर इतिहासलाई थप व्यवस्थित बनाउने प्रयास गरेका छौं ।
अहिले राससको सङ्ग्रहालयमा ४६ प्रकारका सामग्री सङ्कलन गरी राख्न सकिएको छ । निश्चय पनि यी सामग्रीले राससको इतिहास र विकासक्रमलाई बुझ्न सहज हुनेछ । यो मिडिया सङ्ग्रहालय नेपालको मिडिया विकासक्रमको विषयमा अध्ययन, अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरुका लागि उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास छ । डिजिटल युगको पत्रकारिता गरिरहेको पुस्तामा पुराना पुस्ताले विगतमा निर्वाह गरेको भूमिका बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोणमा थोरै भए पनि परिवर्तन आउन सकेको खण्डमा हाम्रो प्रयास सार्थक भएको हामी ठान्ने छौँ । (लेखक राससका महाप्रबन्धक हुनुहुन्छ)