काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्नुपर्छ भन्नुभयो ।
“ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ, यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्त्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुने प्रक्रिया स्वाभाविक भएकाले आफ्नो दायित्व निर्वाह गर्नेगरी नतिजामुखी काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“जनतामा छाएको निराशालाई चिर्न जरुरी छ ।”
उहाँले विगतमा भएका पूर्वाधार निर्माणलाई पूरा गर्ने काममा जुट्नुपर्ने बेला आएको बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्नेगरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले आयोजनाको टेण्डर प्रक्रियालाई चाँडो टुङ्गाएर अगाडि बढे तोकेभन्दा चाँडो काम सम्पन्न हुने उल्लेख गर्नुभयो ।
ऊर्जासचिव गोपालप्रसाद सिग्देलले विद्युत् उत्पादन हुनसक्ने सिँचाइका आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार र प्रदेश सरकारबाट नदी दोहन हुने तर संरक्षण नहुँदा ठूलो विपद्का घटना घटेको बताउनुभयो ।
जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले बजेटको सुनिश्चितता भएमा समयमा नै आयोजना सम्पन्न हुने बताउनुभयो । उहाँले किसानको खेतमा पानी नपुगे लक्ष्य हासिल नहुने भएकाले लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनालाई आफ्नो प्रगति विवरण १५/१५ दिनमा बुझाउन निर्देशन दिनुभयो ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले उत्पादकत्व बढाउनका लागि राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले आयोजना निर्माणमा देखिएका समस्या समाधानमा विभागले काम गर्ने उल्लेख गर्नुभयो ।