काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई थप सुदृढ बनाउनका लागि आगामी असोज एक गतेदखी पौष १० गते सम्म एक सय दिने विशेष सांगठनिक अभियान संचालन गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्माले पेश गरेको प्रस्तावमाथि समझदारी जुटाउन बसेको केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको नेपाली कांग्रेसका मुख्यसचिप कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नविकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमिखिकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन, पार्टी समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने लगायतका सांगठनिक कार्यमा केन्द्रीत भई पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म एक सय दिने विशेष सांगठनिक अभियान संचालन गर्ने निर्णय गरेको पौडेलले बताउनुभयो।
नेपाली कांग्रेस र नेकपा (एमाले)बीच २०८१ असार १७ गते भएको सात बुँदे सहमति पश्चात सहमतिमा उल्लेखित ‘संविधान प्रारम्भ भए पश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भन्ने लगायतका विषयलाई लिएर गरिएका टिका-टिप्पणी र सिर्जना गरिएका भ्रमप्रति नेपाली कांग्रेस गम्भीर आपत्ति जनाएको छ ।
सात बुँदे सहमति राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिब्रता दिन, राजनैतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्ने उद्देश्य प्राप्तिका लागि हो भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट रहेको जनाउँदै सहमतिलाई कार्यान्वयन गर्ने पक्षमा कांग्रेसले पूर्ण विश्वास लिएको जनाएको छ ।