काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज (मंगलबार) आयोजित लैङ्गिक समावेशीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तराष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
प्रधानमन्त्री ओलीले नेपालको संविधानका मौलिक हक, मानव अधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात गर्दै अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको पालनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै जाती प्रथालाई कानुनी रुपमै अन्त्य गरिएको स्पष्ट गर्नुभयो ।
संविधान बन्नुअघि नै संसदबाट राज्यका तीनै तहका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको जनाउँदै उहाँले यसलाई सानो उपलब्धि मान्न नसकिने भनाइ राख्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको उदाहरण प्रस्तुत गर्दै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक ससहजीकरण भइरहेको सुनाउनुभयो ।
नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरीकन सबै नागरिकलाई आधारित अधिकारबाट सम्पन्न गराउन सम्भव नहुने बताउँदै नेपालको गरिबी उन्मुलन गर्नुको साथै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने बताउनुभयो ।