काठमाडौं । काभ्रेको धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित बनेका छन् ।
क्याम्पसले इन्टर्नसिप अवधिमा उपलब्ध गराउनुपर्ने निर्वाह भत्ता दिन नमानेपछि आयुर्वेद स्नातक उतीर्ण गरी अस्थायी दर्ता पत्र प्राप्त गरेका विद्यार्थी कलेज र सम्बन्धित अस्पतालमा समेत तालाबन्दी गरी आन्दोलनमा उत्रेका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापिठ साथै परिषद्द्वारा दर्ता आयुर्वेद क्याम्पस किर्तिपुरले इन्टर्न डाक्टरलाई मासिक निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ । पतञ्जली कलेजले भने भत्ता नदिने भनेपछि आफूहरु आन्दोलित बन्नुपरेको विद्यार्थीले बताएका छन् ।
आयुर्वेद चिकित्सा परिषद् नेपालले बीएएमएस तृतीय प्रोफेसनल उत्तीर्ण गरी अस्थायी दर्ता पत्र पाएका इन्टर्नसिप डाक्टरलाई कार्यकालभर अधिकृत आठौं तहका लागि नेपाल सरकारले तोकेअनुसार तलबको आधा रकम जीवन निर्वाह भत्ताको रूपमा दिनुपर्ने व्यवस्था गरेको हो।
यसै प्रावधानअनुसार, आयुर्वेद क्याम्पस किर्तिपुर, दाङको संस्कृत विश्वविद्यालयले इन्टर्नसिप अवधिभर मासिक २४ हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता प्राप्त गर्दै आएका छन् ।
तर, पतञ्जली आयुर्वेद मेडिकल कलेजले यो निर्णय कार्यान्वयन गरेको छैन । बरु आफूहरूलाई विभिन्न बहाना गर्दै अल्टार्ने र झुलाउने काम गरिरहेको एक विद्यार्थीले बताए ।
यत्रो राशि र समय लगाएर पढि रहँदा कलेजले भनेका सबै शुल्क बुझाउँदा ती विद्यार्थीले आयुर्वेदमा स्नातक गरेपछि एक वर्ष इन्टर्न गर्नुपर्ने भएकोले यसबापत् विद्यार्थीले अतिरिक्त केही नमागेको र नियमअनुसार पाउनुपर्ने सुविधा मागेकाे भनि जानकारी गराए ।