काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिरहाले आज बिहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको उल्लेख गर्नुभएको हो ।
२०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिँदै माओवादीका अध्यक्ष दाहालले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताउनुभएको हो ।
दाहालले पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताउनुभयो ।
पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेण्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताका दैनिकि समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेण्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताउनुभयो । उहाँले त्यसका लागि स्थानीय पार्टी कमिटीहरुलाई आवश्यक योजना बनाएर अघि बढ्न निर्देशन दिनुभयो ।
त्यसअघि आज बिहान नै अध्यक्ष दाहालले सिराहको गोलबजारमा स्थानीयवासीसँग अन्तरक्रिया गर्दै आफूले शुरू गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
उहाँले गोलबजारवासीले विकास र सुशासनका विषयमा राखेको चासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै समग्र मधेशी जनताका अधिकारको संघर्षमा सधैं साथमा रहने दृढता व्यक्त गर्नुभयो ।