काठमाडाैं । खेलकुद पत्रकाहरूको छाता संगठन एआइपिएस एशियाको २५ औं कंग्रेस काठमाडौंमा एक भव्य समारोहका बीच उद्घाटन भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ (आइपिएस एसिया) को काठमाडौंको एभरेटस्ट होटलमा एक कार्यक्रमबीच उद्घाटन भएको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पानसमा द्वीप प्रज्ज्वल गर्दै उक्त २५औं कंग्रेसको उद्घाटन गरेका थिए । उक्त उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पियन र विभिन्न खेलका खेलाडीको उपस्थिति थियो ।
कार्यक्रममा राखेप सदस्यसचिव घिसिङले काठमाडौंमा एआइपिएस एसियाको २५ औं कंग्रेस आयोजना गर्न पाउँदा विशेष खुशी मिलेको र यो डिजिटल युगमा खेलकुद पत्रकारिताको विकसित परिदृश्यबारे छलफल गर्न ३० देशका खेलकुद पत्रकारहरू भेला हुनु प्रेरणादायी रहेको बताउनु भयो । विकासशील राष्ट्रको रूपमा खेलकुद लगानीमा चुनौतीहरू भएपनि आफ्ना खेलाडीले विश्वका मञ्चमा गर्विलो इतिहास सिर्जना गर्नु सुखद् क्षण रहेको उहाँको बुझाइ छ । उहाँले युवाहरूलाई प्रेरित गर्न, अनुशासन बनाउने र आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नमा गर्वको भावना जगाउने एक शक्तिशाली माध्यमको रूपमा खेलकुद रहेको धारणा राख्नुभयो ।
खेलकुद पत्रकारको छाता संगनठन एआइपिएसको एसियाली क्षेत्रको कंग्रेस जस्ता ठूलो आयोजना पहिलोपल्ट नेपालमा आयोजना भएको हो । यो कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी छन् । उद्घाटन सत्रमा एआइपिएस एशियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र त्यसको उदाहरण पछिल्ला ओलम्पिकमा एशियाली राष्ट्रले पाएको सफलता स्पष्ट पारेको विश्वास व्यक्त गर्नुभयो ।
कंग्रेसको उद्घाटनका अवसरमा नेपालका लागि पेरिस पारालिम्पिकमा ऐतिहासिक काँस्य पदक विजेता पलेशा गोवद्र्धन, पत्रकार शिवानी थापा, भारत र चीनकी महिला पत्रकार र इस्पोटर््सकी एसियाकी प्रतिनिधिबीच महिला सशक्तिकरणबारे छलफल भएको थियो । नेपाल पर्यटन बोर्डले नेपालका विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, भाषा संस्कृति, हिमालपहाड र देशको भौगोलिक अवस्थाका बारेमा वृत्तचित्र प्रश्तुत गरेको थियो । पछिल्ला समय लोकप्रिय बन्दै आएको इस्पोटर््सको अवस्थाबारे वृत्तचित्र प्रश्तुत गरिएको थियो । यस कार्यक्रममा एआइपिएस एसियाले होटल एसोसिएसन अफ नेपाल (हान) र सिएमआर नेपालबीच सहकार्य भएको छ ।
सोही कार्यक्रममा एआइपिएस एसिया र होटल एसोसिएसन नेपाल अफ नेपाल (हान) बीच सम्झौता भएको छ । हानका अध्यक्ष विनायक शाह र एआइपिएस एशियाका अध्यक्ष ही दोङ जङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुरूप एआइपिए एसियाका एक हजारभन्दा सदस्य पत्रकारले नेपाल आउँदा होटलमा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसै अवसरमा हानले एआइपिएस एसियाका अध्यक्ष दोङलाई नेपालको सद्भावना दुतको रूपमा पनि नियुक्त गरेको छ ।
एआइपिएस एशिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ । एआइपिएस एशिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो । उक्त सम्झौताअनुरूप सिएआर नेपालले एआइपिएस एशियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आंशिक छात्रवृत्तिमा एआइपिएस एशियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ ।