काठमाडाैं। नेपाली महिला भलिबल पछ्याउनेहरुका लागि यो नौलो नाम भने होइन । भलिबलमा आफूलाई अब्बल सावित गरिसकेकी निरुता पछिल्लो समय नेपाली टोलीकी मुख्य सदस्य हुन् ।
२०७६ सालमा राष्ट्रिय टोलीमा डेब्यू गरेकी निरुताले त्यसपछि यता फर्केर सोच्नु पर्ने अवस्था भने आएको छ । महिला भलिबल टोलीका लागि उनी पहिलो रोजाइकी खेलाडी हुन् । क्लब भलिबल खेलेको एक वर्षको यात्रामा नै राष्ट्रिय टोलीमा परेकी निरुता अब नेपालका लागि हरेक खेलमा स्वर्ण ल्याउने आफ्नो लक्ष्य भएको बताउँछिन् ।
‘भलिबलमा लागेको लामो समय भएको छ । अब देशका लागि हरेक प्रतियोगितामा पदक दिलाउने मेरो मुख्य लक्ष्य छ । हेरौं कहाँसम्म सफल हुन्छु,’ जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुराकानी गर्दै उनले भनिन् ।
निरुता भर्खरै मात्र मल्दिभ्समा आयोजना भएको काभा महिला क्लब च्यालेन्ज कपको उपाधि दिलाउन सफल भएकी खेलाडी हुन् । विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको उपाधि जित्दा उनी टिमकी मुख्य सदस्य थिइन् । निरुताले यो उपाधि दिलाउन पाउँदा आफू धेरै खुशी भएको बताइन् ।
‘उपाधि पुलिस क्लबले जितेपनि देशलाई नै उपाधि जिताएको जस्तो महसुस भएको छ । हामी क्लबको प्रतिनिधित्व गर्दै देशका लागि खेलिरहेका थियौँ । यो उपाधि मेरो व्यक्तिगत भलिबल जीवनका लागि पनि महत्वपूर्ण छ,’ निरुताले भनिन् ।
निरुताले क्लब तथा राष्ट्रिय टिममा डेब्यू गरेको खेलमा उपाधि जिताएकी छन् । २०७९ सालमा उनी त्रिभुवन आर्मी क्लबबाट एपीएफ क्लबमा डेब्यू गर्दा नै उनले उपाधि दिलाउन सफल भइन्। त्यसपछि राष्ट्रिय टोलीमा डेब्यू गर्दा पनि उनले नेपालाई पहिलो स्वर्ण जितउन सफल भइन् । जसमा नेपालले बंगलादेशमा भएको एभिसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा स्वर्ण जित्यो । अहिले नेपाल पुलिस क्लबमा डेब्यू गर्दा पनि टिमले स्वर्ण जित्न सफल भयो । डेब्यू मै स्वर्ण जित्दा आफू लक्कि नै भएको महसुस हुने बताइन् ।
‘मैले त्रिभुवन आर्मी क्लबमा डेब्यू गर्दा मात्र उपधि जिताउन सकिन् । त्यसपछि एपीएफको डेब्यू, नेपाली राष्ट्रिय भलिबल टोलीको डेब्यूमा र पुलिस क्लबको डेब्यूमा स्वर्ण जिते । त्यसैले मलाई डेब्यू खेलमा लक्कि नै भएको महसुस हुन्छ,’ निरुताले भनिन् ।