काठमाडाै । सिङ्गो देश रवि लामिछानेका पक्ष र विपक्षमा विभाजित भएको छ । नेपाली कांग्रेस नेतृत्व नेकपा एमालेप्रति कृतकृत भएका छन् कि एमालेले कांग्रेसको माग पूरा गरिछाड्यो । सत्ता र प्रधानमन्त्री दिएबापतको भुक्तानी गरेकामा नेपाली कांग्रेसका सकल दर्जा एमालेप्रति हदैसम्म आभारी छ । सतहमा जति पनि सरकारको बदनाम भएको छ, त्यसमा नेतृत्व एमालेको छ । कांग्रेसको बदमास र सहकारीमा जोडिएकाहरु सुरक्षित छन्, कोही कारबाहीको दायरामा छैनन्, कांग्रेसलाई आफू सत्तामा रहँदा भन्दा एमालेबाटै यी सबै काम गराउँदा झनै राजनीतिक लाभ छ ।
यसैले कांग्रेस यतिखेर देशको दोस्रो पार्टी चौथो पार्टीमाथि जाइलाग्दा आनन्दित छ, प्रफूल्लित छ । कहीँ कतै कांग्रेसका नेता कार्यकर्ताले रास्वपाका नेता कार्यकर्ताको झमेला बेहोर्न परेको छैन । सिधै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सडक र सामाजिक सञ्जालमा प्रहार भइरहेकाले कांग्रेसलाई हाइसन्चो छ । अर्कातिर सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेसकै उपसभापति र नेकपा एमालेबाट संसदमा सार्वजनिक लेखासमिति संयोजक भएका पनि सत्ताको आडमा सुरक्षित छन् । प्रत्यक्ष ठगहरु सत्तामा छन्, अप्रत्यक्ष ठगहरु हिरासतमा पुगेका छन् । अहिले चोकचौतारा, चियापसल, सामाजिक सञ्जालमा यस्तै गाइँगुइँ सुनिन्छ, यसो भन्दैमा फेरि तपाईं चाहिँ यो त रास्वपाको हनुमान रहेछ भनेर सामाजिक सञ्जालमा सत्तोसराप नगर्नुहोला ।
रवि लामिछानेले टिभी खोले । त्यहाँ उनको केही शेयर पनि थियो । उनले टेलिभिजन चलाउँदा साहुहरुले कताबाट पैसा लगे, कति पैसा लगे, कति पैसा रवि लामिछानेका नाममा हालिदिए ? जे होस्, रवि लामिछानेको संलग्नता यति हो । अर्थात् पोखराको सूर्यदर्शन सहकारीसहित देशभर जिबी राई अर्थात् गितेन्द्र बाबु राई नेतृत्वका सहकारीहरुको रकम हिनामिनामा रवि लामिछाने अप्रत्यक्ष संलग्न पात्र हुन् । तर प्रत्यक्ष राजनीतिमा खतराको घण्टी बनेपछि रवि लामिछानेलाई पोखरा लगेर हिरासतमा हालिएको छ ।
नेपाली कांग्रेसका धनराज गुरुङ र नेकपा एमालेका ऋषिकेष पोखरेलको पनि सहकारी ठगीमा रवि लामिछाने भन्दा बढी संलग्नता देखिन्छ । स्वयम् प्युठानका सूर्य थापाले बनाएको सहकारीसम्बन्धी प्रतिवेदनमा धनराज गुरुङको विषय उल्लेख छ । तर सत्ता गुरुङसँग भएकाले हत्कडी चाहिँ रवि लामिछानेलाई मात्रै लगाइएको छ ।
सहकारी ठगी प्रकरणबारे बनाइएको समितिले अधिकांश सहकारी ठगीमा गितेन्द्रबाबु राईकै सहकारीहरु देखाएका छन् । यसपछि टेलिभिजन चलाउने केही सहकारी संस्थाहरु छन् । गितेन्द्र बाबु मात्रै होइन, अरु धेरै बाबुहरुले पनि सहकारी खोलेका छन्, बदमासी छल्न टेलिभिजन चलाएका छन् । ४० सहकारीमा सर्वसाधारणले जुठा भाँडा मोलेर, ठेला तानेर, पतिको पछाडि लुकिछिपी संकलन गरेर पछि दुःख पर्दा काम लाग्छ भनेर जम्मा गरेको ८८ अर्ब रुपैयाँ दल, कम्पनीमा बस्नेहरु लुटेकै हुन् ।
हामी राजनीतिले देश संग्लिनु पर्छ भनेर नरम भाषामा भनिरहेका छौँ । आफ्ना कुरा भन्न आन्द्रा छिन्ने गरी कराउने पत्रकारिता पनि देशमा देखिएको छ । कराउँदैमा–चिच्याउँदै र उफ्रँदैमा पत्रकारिता हुँदैन । तटस्थ भएर लेख्ने, बोल्ने र जनतामा जाने विषय पत्रकारिता हो । पत्रकारिताको पक्ष पनि हुँदैन, विपक्ष पनि हुँदैन । तर पत्रकारिता निष्पक्ष हुन्छ । पत्रकारिताको सिद्धान्त यही हो । तर पछिल्लो समय स्वार्थ पूरा गर्न राजनीतिमा लाग्ने र राजनीतिक आवरणमा स्वार्थसिद्धिका लागि पत्रकारिताको आड पनि लिनेहरुले यो देश मात्र बिगारेनन्, राजनीति मात्र बिगारेनन्, पत्रकारिता पनि विभाजित गरिदिए ।
त्यसैले समाज सुधार्न राजनीति सुधार्न जरुरी छ । राजनीति सुध्रिँदा समाज सुध्रिन्छ । जब राजनीति र समाज सुध्रिन्छ, त्यसपछि पाइल्स भएर दुखेर आत्तिए झैँ चिच्याउने र कराउने पत्रकारिता पनि सुध्रिन्छ भन्ने हाम्रो आशा छ । पत्रकारिताबाट राजनीतिमा होमिएका रवि लामिछानेका कार्यकर्ताहरुले पनि यही सिकून कि अदालतको विषयमा सडकबाट फैसला हुँदैन । अप्रत्यक्ष ठगीको आरोपमा हत्कडी लाग्छ भने प्रत्यक्ष ठगी गर्नेहरुलाई सत्ता चलाउन अधिकार कसरी रहन्छ ?