चमिना भट्टराई
काठमाडौं । गुण्डा नाइके तथा हत्या अपराधका अभियुक्त मनोज पुन अर्थात् मनोजबहादुर बुढामगर अन्ततः बुधबार बिहानै प्रहरी इन्काउन्टरमा मारिए । लामो समयदेखि श्रृङ्खलाबद्ध हत्याकाण्ड मच्चाउँदै आएका पुन प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा परेपछि भारतमा लुक्दै आएका थिए ।
२०७४ असोज २३ मा निर्माण व्यवसायी शरदकुमार गौचनको राजधानीमा भएको हत्यामा समेत उनको संलग्नता रहेको प्रहरीको दाबी छ । गौचनको हत्यापछि पुनको खोजीमा प्रहरी सक्रिय भएको थियो । एकपछि अर्को आपराधिक क्रियाकलापमा पुनको नाम जोडिन थालेपछि प्रहरीले सक्रियता बढाएको थियो ।
पुनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित थियो । पुनसहित उनका सहयोगी सोम आले भारतबाट फर्केको सूचना पाएपछि प्रहरी टोली उनको खोजीमा परिचालित भएको थियो । खोजीका क्रममा बुधबार बिहान करिब साढे ३ बजे प्रहरी र पुनबीच देवदह–४, भवानीपुरमा जम्काभेट भयो । र, प्रहरी इन्काउण्टरमा दुवैको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।
दुई वर्षदेखि प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका पुनले अन्डरवल्र्डको शैलीमा एकपछि अर्को आपराधिक घटना मच्चाउँदै व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका थिए । पुन अन्डरवल्र्डकोे शैलीमा कुनै पनि ठूलो घटना भएलगत्तै प्रहरी वा सञ्चारकर्मीलाई फोन गरी जिम्मेवारी लिन्थे ।
२०७३ पुस ४ मा युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि उनी निकै चर्चामा आएका थिए । उनले ०७४ पुस २१ मा तिवारीका साथी बलु पौडेललाई पनि गोली प्रहार गरी हत्या गरे । पौडेल रुपन्देहीको देवदहका फर्निचर व्यवसायी थिए । प्रहरी स्रोतका अनुसार भारतमै बसेर रुपन्देहीका तिवारी र पौडेलको हत्या योजना बनाएका थिए । तिवारी र पौडेलको हत्या र अर्का एउटा हाइप्रोफाइल काण्डमा मुछिएपछि पुनले आफूलाई ठूलै आपराधिक सञ्जालको नाइकेको रुपमा प्रस्तुत गर्दै आएका थिए ।
यस्तो पुनको पृष्ठभूमिः रुपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुनको आपराधिक यात्रा ०६२\६३ को परिवर्तनपछि शुरु भएको प्रहरीको अनुसन्धानमा देखिएको छ । म्याग्दी पुर्खेयौली घर भएका पुनका बुवा अवकास प्राप्त भारतीय सेना हुन् । उनका एक जना दाजु र दुई दिदीबहिनी छन् । देवदहको खैरेनी चोक छेउ उनको एकतले घर छ । मनोजको एक छोरी छिन् ।
एक प्रहरी अधिकारीका अनुसार उनले ०६४ सालपछि जिल्ला भित्र हुने ठेक्कापट्टामा हस्तक्षेप गर्न थालेका थिए । आफू जस्तै युवाको समूह बनाएर उनी जिल्लामा हुने ढुंगा, गिटी, बालुवालगायत ठेक्कापट्टामा आफ्नो भाग खोज्दै हिड्थे । यसक्रममा उनको संगत ठेक्कापट्टाका व्यवसायीहरुसँग भयो र उनीहरुसँग साझेदारी थाले ।
मान्छेमा जति धेरै धन भयो, त्यति बढि लोभ बढछ भने जस्तै उनीमा लालसा बढ्दै गयो र व्यवसायीसँग कमिशन माग्न थाले । आफूले मागे जति कमिसन नपाए अपहरण, धम्की र गोली आतंक मच्चाउन शुरु त्यहिबाट गरे । देशमा जताततै वाईसीएलको बिगबिगी रहेका बेला राजनीतिक शरण लिन उनी पनि वाइसीयल बने । यसै आडमा गुण्डागर्दी बढाउन अझ सहज भयो, उनलाई ।
वाइसीयलको बजार घट्दै जाँदा युथफ्रोसको बजार बढदै थियो । उनी एमाले निकट युथ फोर्समा लागे र युथ फोर्सको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को कोषाध्यक्ष बने । युथ फोर्सको आडमा उनको गुण्डाराज अझ झांगिदै गयो । युथ फोर्समा रहेर फिरौती असुली र गुण्डागर्दी गर्ने क्रम बढ्दै गएपछि उनलाई त्यहाँबाट निस्कासन गरिएको थियो । आफूलाई युथ फोर्सबाट निकाल्नुमा युवा संघका अध्यक्ष दुर्गा तिवारीको मुख्य भूमिका रहेको भन्दै प्रतिशोध उनले स्वरुप दुर्गा तिवारीको हत्या गरेको बताइन्छ ।
तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेका थिए । भारतमा लुकीछिपी बस्ने क्रममा सम्बन्ध बनेको हो ।
भारतमा लुकेर बस्ने क्रममा दिल्ली सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनको सम्बन्ध मजबुत बनेको थियो । जोगाले पुन मार्फत् नेपालमा हतियार बिक्री गर्दै आएको थियो । जोगा मुम्बई अन्डरवर्लडका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र हुन् । र, सेट्टी कहिले दाउद इब्राहिम (डी–कम्पनी) त कहिले छोटा राजन समूहसँग निकट रहँदै अहिले आफ्नै ग्याङ तयार पारेर आपराधिक क्रियाकलापमा संलग्न छन् ।
तिवारीको हत्यापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पुनलाई खोज्दै भारतको गोवासम्म पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा पुनको मोबाइल लोकेसन ट्रेस गर्दै टोली त्यहाँसम्म पुगेको हो । गोवाको मर्दिम भन्ने स्थानमा उनी भाडामा बस्दै आएका थिए । प्रहरी स्रोतका अनुसार तिवारीको हत्या हुनु दुई वर्ष अघिदेखि पुन त्यहीँ बस्थे ।
‘मामाको धनमा फुपुको श्रद्ध’ भने जस्तै व्यवसायीलाई धम्काएर असुलेको पैसाले उनी विलासी र रोमान्सपूर्ण तरिकाले गोवामा रसियन प्रेमिकासँग बसेका थिए । इन्टरनेटमार्फत् धम्की दिन्थे भने हुन्डीमार्फत दुबईमा फिरौती पठाउन लगाउँथे । पुनले आफूलाई दाउद इब्राहिमसँग दाँज्न थालेका थिए । दाउदजस्तै माफिया बन्ने उनको सपना बुधबारको बिहानीसँगै अन्त भएको छ ।
नेपालमा धमाधम गुण्डा नाइकेको इनकाउन्ट हुन थालेपछि उनी नेपालमा निकै कम आउने गरेका थिए । भारतमा बसेर नेपालमा हत्या, अपहरण र फिरौती सजिलै असुल्थे उनीः अन्तत एक मोष्ट वान्टेड गुन्डा नाइकेको अन्त्य भएको छ ।