अर्जुन थपलिया
महिलाको बाँच्ने तौरतरिका सामाजिक ढाँचामा आधारित छ । समाजले तय गरेको छ उसको जीवन जीउने पद्धति । समाजले महिलालाई निजत्वमा जीउने अधिकार दिएन । मूल आधारभूत महिला अधिकारको हनन् यहाँवाट शुरु भयो । महिला प्रकृतिमा वा भनौ जीवनको परिपूर्णतामा बाँच्न पाउँदैनन् । महिला जन्मेपछिको जीउने काईदा समाजले पहिल्यै निर्धारित गरिदिएको अवस्था त छदैथियो अव त झन् गर्भगृहवाटै अर्थात् नजन्मिदै उसको जीवन आवश्यक छ वा छैन भनेर माता–पिताले निक्र्यौल गर्नथाले । लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने प्रचलन त्यसैको परिणाम हो । दाईजोको रुपमा अधिक मूल्य चुकाउनु पर्ने महगो यौन व्यवस्थापन कै कारण लिङ्ग पहिचान गरी भ्रुण हत्या भईरहेको छ ।
मानिस (महिला वा पुरुष ) जन्मेपछि उसको जीवनमा एकदिन यौन लीला शुरु हुन्छ । यो प्राकृतिक कुरा हो । तर समाजको आधारभूत ढाँचाले महिलाको यौन जीवनलाई विभिन्न काइदा, कानून तथा रीति रीवाजले व्यवस्थित र नियंत्रण गर्न खोजेको छ । निजत्वमा जीवन जीउने स्वतन्त्रताको सर्वाधिक आवश्यकता नै यौनको प्राकृतिक र नैसर्गिक उपयोगिताको लागि हो । तर यहाँ आधारभूत भूल भएको छ । महिलाको यौन जीवन व्यवस्थित गर्न मै सामाजिक सभ्यताको धेरै अनुवन्धहरु लागू गरिएको छ । सामाजिक अनुवन्ध र ढाँचा पनि पुरुष अनुकूल तयार पारिएको छ । महिला जन्मेदेखि नमरुन्जेलसम्म शुद्धतावादको सीमाभित्र बाँच्नुपर्ने सामाजिक ढाँचाले नै निजत्वमा जीउने वा जीवनको परिपूर्णतामा जीउने महिला अधिकारलाई संकुचित गरिदिएको छ ।
महिलाको यौन जीवन व्यवस्थित र त्यसलाई एउटा सामाजिक मर्यादाको घेरा भित्र राख्नैका लागि कुनैवेला बिवाह जस्तो संस्थाको अविष्कार गरियो । बिवाहले महिलालाई शुद्धताको घेराभित्र बाँध्न र पुरुषलाई भने हदैसम्मको यौन स्वतन्त्रता दिने व्यवस्थालाई मजवुतिका साथ लागू गरायो । एउटा पुरुष बिवाह गर्न ललायित र आतुर हुने प्रमुख कारण हो यौन स्वच्छन्दता । पुरुष बिवाह प्रति उत्सुक हुने कारण नै यही हो । बिवाहले गर्दा हरक्षण अर्थात् जति वेला चाह्यो उत्ति वेला यौनक्रिडाको स्वच्छन्दता पुरुषलाई उपलव्ध छ । आफ्नै ढोका भित्र पुरुष संतुष्ट भएन भने जस्केलावाट निस्केर अरुको झ्यालवाट चियाउन पनि उ स्वतन्त्र छ । वेश्यालयहरु त्यसैको उपज हो । तर महिला संघारभित्रै शुद्धतावादको घेरामा कैद छ । बिवाह यौन सामाजिक व्यवस्थापनको साङ्गोपाङ्ग रुप हो ।
रामायणमा उल्लेखित सीताको अग्नी परीक्षाको कथा समाजको हरेक घरदैलोमा कुनै न कुनै रुपमा अझै जारी छ । नेपालमैै आदिवासी एक जाति छन् चेपाङ्ग । चेपाङ्ग जातिको समाजमा एउटा प्रथा अहिले पनि जीवित छ । पत्नी मेलापात वा हाट वजार जहाँ गएर फर्के पनि घरभित्र पस्नु भन्दा पहिले उसले आगो छुनु पर्छ । त्यो आगो छुनुको अर्थ उसले आफ्नो पतिलाई विस्वास दिलाएको हो कि ‘म शुद्ध छु’ । चेपाङ्ग त एउटा उदाहरण मात्र हुन् । यो अग्नि परीक्षा प्रकारान्तरले वा छद्म रुपमा हरेक घरमा व्याप्त छ ।
महिला अधिकारकर्मीहरु , राज्यका अङ्गहरु , सामाजिक संघ संस्थाहरु वा भनौ समाजमा लिङ्गिय न्यायको वकालत गर्नेहरु दाईजो प्रथाको कारण हुने महिला हिंसा रोक्न कोकोहोलो मच्चाइरहेका छन् । तर उनीहरु महिला माथि हुने यो हिंसाको जरासम्म पुग्न चाहदैनन् वा पुग्न सकेका छैनन् । महिलामाथि हुने हिंसाका घटनाहरुको मूल कारण नै यौन हो । अधिकतम हिंसाजन्य घटनाहरुको पछाडी यौन सम्बन्धि सामाजिक कायदा कानून उलंघन मूल कारण रहेको छ । यतिवेला समाजमा महिलामाथि हुने धेरै प्रकारको हिंसाहरु मध्ये एउटा प्रमुख र जधन्य प्रकृतिको हिंसा दाईजोको कारण हुने गरेको छ । दाईजो प्रथा पनि यौनको सामाजिक व्यवस्थापन कै कारण जन्मिएको हो । सामाजिक मान्यता अनुसार छोरी हुर्केपछि उसले आफ्नो यौन जीवनको आरम्भ र अन्त्य बिवाहसंगै गरोस् । अनि बिवाह पनि माता पिता वा दाजु भाईको मर्जी अनुसार होस् । मिति , समय र स्थानको चयन पनि पुरुषको । मर्जी पुरुषको तर ईन्कारी अधिकारविहिन महिलाको स्वीकारोक्ती मात्र । यसैको कारण दाईजो जन्म्यो र अद्यापी प्रचलित छ ।
महिलाको यौन जीवन व्यवस्थापनकै लागि मानव समाजमा धेरै दिनसम्म सति प्रथा जस्तो निकृष्ट र जधन्य प्रथा पनि धेरै वर्षसमम रहिरह्यो । असंख्य महिलाहरुले जीउदै जल्नु पर्ने बाध्यतालाई स्वीकार गर्नु पर्यो । यौन कै कारण पुरुष भन्न पछि पर्दैन ‘प्रिय म तिम्रो लागि प्राण पनि दिन सक्छु र यौन कै कारण उसैले त्यो स्त्रीको प्राण क्षणभरमा हरण पनि गरिदिन्छ । ’ घतलाग्दो कुरा त के छ भने स्वभाव अनुसार हिंसावाट सधै दुर रहन चाहने महिलाले पनि यदाकदा पुरुषको ज्यान लिने घटना घटाई दिन्छन् । तर त्यस्ता घटना पनि अधिकतर यौन व्यवस्थापन कै विकृत रुपवाट जन्मिएको हुन्छ ।
पुरुष वा महिलाको जीवनमा यौनको उपस्थिति वा उपलव्धता एक प्राकृतिक संयोजन हो । यसमा महिला वा पुरुषको आफ्नै कुनै हात छैन । भूमिका छैन । मानवीय जीवनको व्यूहरचना नै यौनवाट शुरु हुन्छ । प्रसिद्ध दार्शनिक आशो भन्छन् ‘मानवीय जीवनलाई परिपूर्णतामा लैजाने शक्ति नै यौन उर्जा हो । यो वाहेक मनुष्यको जीवनमा अरु कुनै उर्जा नै छैन । ’ तर हाम्रो सामाजिक ढाँचा खास गरी महिलाको सम्बन्धमा रहेका सामाजिक कायदा कानूनहरु प्रकृति अनुसार नैसर्गिक छैनन् । प्रकृति र सामाजिक ढाँचा वीच कुनै तालमेल छैन ।
समाज एक भीड हो र प्रत्येक जीवन अनन्त अस्तित्वको एक लघु रुप हो । अर्थात प्रत्येक जीवन भित्र समग्र प्रकृति लघु रुपमा अटेको छ । यसको अर्थ सवै महिलाको जीवन र निजत्व पनि एकनासको हुँदैन न त पुरुषको नै । व्यक्ति व्यक्तिको निजत्वले महत्व राख्छ । भीड अनुसार बाँच्ने जीवनले परिपूर्णता प्राप्त गर्नै सक्दैन । त्यसकारण स्वतन्त्रतालाई गहन अर्थमा बुझ्नेहरु भन्छन् व्यक्तिको स्वतन्त्रता महत्वपूर्ण हो । तर महिलाको जीवन जीउने सामाजिक ढाँचामा शुद्धतावादको सामाजिक घेराले प्रकृतिलाई निषेध गर्छ । निजत्व र व्यक्ति स्वतन्त्रताको हनन् गर्छ । सामाजिक व्यवस्थापनमा यहाँ आधारभूत भुल भएको छ । महिलाको व्यक्तित्वलाई फष्टाउन दिईएन । उसलाई परिपूर्ण र समग्रतामा जीवन जीउन दिईदैन । अनेकन छेकवार लगाएको छ ।
आर्थिक , सामाजिक र राजनैतिक अधिकार पुरुषलाई भन्दा महिलालाई कम दिईयो । महिला पुरुष विच सामाजिक विभेदको एक लामो श्रृङ्खला तयार पारियो । यो सवै महिलालाई कमजोर बनाउने उपायहरु हुन् । यसको पछाडी निहित अभिप्राय महिलाको यौन अधिकार माथि अंकुश लगाउनु नै हो । शुद्धतावादको घेरा भित्र जीउन बाध्य पार्नैको लागि हो । निजत्व समाप्त पार्न कै लागि हो । जसको कारण महिला समाजमा त जीउन सक्छन् तर निजत्वमा जीउन सक्दैनन् । जन्म देखि मरणसम्म यौन व्यवस्थापन कै कसिलो सामाजिक अनुवन्धहरु भित्र महिलाको जीवन ढलौट हुन्छ । त्यसै अनुसारको मानसिक दशा र चिन्तनधारा बिकसित हुन्छ । जस्को परिणाम त महिलाको व्यक्तित्व र जीवनको आयाममा एक प्रकारको संकुचन ( खुम्चिनु ) पैदा हुन्छ । यौनक्रिडाको सामाजिक अनुमति प्राप्त पुरुषसँग पनि महिला निजत्वका साथ सकृय हुन सक्दैनन् ।
संसार भर महिला अधिकारका लागि ठुूला ठूुला आन्दोलन भए । उपलब्धी पनि हात नलागेका होइनन् । समाज रुपान्तरण पनि भएको छ र हुने क्रम जारी नै छ । हरेक राष्ट्र भित्र वा अन्तराष्ट्रिय स्तरमा महिलालाई विभिन्न अधिकार प्रदान गर्ने अनेकन सन्धि सम्झौता र घोषणापत्र जारी गरिएको छ । तर सवै अधिकारनामाहरुको मजवुनमा महिलालाई पुरुष सरह अधिकार भनिएको छ । यो पनि एउटा आधारभूत भूलभुलैया हो । हजारौं वर्षदेखिको संकुचनका कारण महिलाहरु स्वयं पनि अधिकारप्रति दिग्भ्रमित छन् भने पुरुषहरु महिला माथिको शासकीय सामाजिक अधिकार र मालकीयत गुमाउन नचाहेका कारण अनुदार छन् ।
प्रकृतितः कतिपय कुराहरुमा महिला पुरुष समान छन् तर कतिपय पहलुहरुमा महिला र पुरुषवीच भिन्नता पनि छ र असमानता पनि । यौन कै कुरा गर्ने हो भने प्रकृतिले पुरुषलाई आक्रमकता ( आग्रहको अर्थमा ) दिएको छ भने महिलालाई ग्राहकता ( प्रतिक्षा वा स्वीकारको अर्थमा ) प्रदान गरेको छ । यसकारण कतिपय अर्थमा महिला र पुरुषको अधिकारको दायरा र सीमा पनि भिन्न हुनुपर्ने हो । तर मूलतः शुद्धतावादको घेरा तोड्ने र यौन व्यवस्थापनको सामाजिक ढाँचा भत्काउनु प्रमुख सवाल हो । महिला निजत्वका साथ जीवनको परिपूर्णतामा जीउन सकुन भन्ने कुरा गुह्य हो ।
यौन सामाजिक व्यवस्थापनको विषय नै होइन । समाज को हो यौनाचारको अनुमति पत्र दिने ? यो व्यक्तिको निजत्वसँग गाँसिएको कुरा हो । प्रकृतितः प्रत्येक जीवन समस्त अस्त्विसंग एकाकार हुने जीजिविषा राख्दछ । मुक्त आकाशमा विचरण गर्ने उत्कठ अभिलाषा हरेक प्राणमा हुन्छ । कसैद्वारा पनि निश्चित गरिएको कुनै पनि आकारको परिधि मनुष्यका लागि साँघुरो घेरा हो । जीवन घेराविहीन हुनु पर्छ । त्यसकारण स्वतन्त्रता मनुष्यलाई अतिप्रिय लाग्दछ । यौन व्यवस्थापनको सामाजिक ढाँचाको अन्त्य नै महिला स्वतन्त्रता र परिपूर्ण जीवन तर्फको यात्रामा उसको प्रारम्भिक प्रस्थान विन्दु हो । महिलावादी आन्दोलन यता केन्द्रीत हुनुपर्ने हो कि ?