कञ्चनपुर । गाउँमा अवैध मदिरा, जुवातास र लागु औषध नियन्त्रणको माग राख्दै महिला समूहले कञ्चनपुरको एक वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ वडा कार्यालयमा स्थानीय महिला समूहले तालाबन्दी गरेका हुन् । मंगलबार तिलाचौरका स्थानीय आमा महिला समूहले तालाबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको छ । आफुहरुले पटक पटक मदिरा तथा जुवातास बन्द गर्न सरोकारवाला निकायसँग माग राख्दा पनि मदिरा तथा जुवातास बन्द हुनुको सट्टा उल्टै मदिरा पसलेहरुबाट अपमानित हुनु परेकोले बाध्य भएर वडा कार्यालयमा ताला लगाउनु परेको र माग पुरा नहुन्जेल ताला नखोल्ने आमा समुहकी सदस्य लक्ष्मी खडायतले बताउनु भयो ।
आमा समूह तिलाचौरकी सदस्य गीता धानुकले स्थानीय सरकार गठन भएको झण्डै बर्षदिन पुगिसक्दा पनि गाँउमा अवैध मदिराको उत्पादन, कारोबार, अनियन्त्रित सेवनका कारण अपराध बढ्दै गएकाले मदिरा नियन्त्रणका लागि वडा सरकारलाई दवाव दिन तालाबन्दी गरेको बताउनुभयाे । अवैध मदिरा, जुवातास र लागु औषध नियन्त्रण गर्नका लागि वडा सरकार उदासिन देखिएका कारण बाध्य भएर आन्दोलित भएका हुन् ।
आमा समूह तिलाचौरकी अर्की महिला लक्ष्मी पन्तले जहाँतही मदिराको लाईसेन्स वितरण गरेका कारण गाउँभरी अशान्ति फैलिएको बताउनुभयाे । ‘हाम्रो गाउँमा पहिले मदिराको कारोबार कम हुन्थ्यो, ‘उहाँले भन्नुभयाे, ‘अहिले स्थानीय सरकार आएपछि अवैध कारोबार एवं सेवनमा बृद्धि भयो, जसका कारण महिलामाथि हिंसा बढ्दै गएका छन् ।’ अवैध मदिरा र जुवातासले युवा पुस्ता बिग्रिएको बताउँदै उहाँले अहिले युवापुस्ता लागु औषध सेवनतर्फ उन्मुख भएको बताउनुभयाे ।
स्थानीय महिलाले मदिरा, जुवातास एव लागु औषधका कारण सबैभन्दा बढी असर महिलामा पुगेको गुनासो पोखेका छन् । सार्वजनिक क्षेत्रमा धुम्रपान, मदिरा सेवनका साथै जुवातास खेल्ने प्रवृतिका कारण बालबालिकामा समेत प्रत्यक्ष असर परेको स्थानीय महिलाको भनाई छ । मदिरा सेवन गर्नेहरुलाई समेत कार्बाही नभएका कारण गाँउमा राती निर्वाध रुपमा हिडडुल गर्न समेत समस्या भएको चिन्ता व्यक्त गरेका छन् ।
भीमदत्त नगरपालिका–८ का वडाध्यक्ष ध्वजबहादुर विष्टले अवैध मदिरा नियन्त्रण र सार्वजनिक स्थानमा जुवातास नखेल्न वडा कार्यालयबाट पटक पटक सूचना आब्हान गरेपनि स्थानीयले खेल्ने र मदिरा सेवन गर्ने गरेको बताए । लागु औषध नियन्त्रणका लागि आफूले वडामा छुट्टै विभाग माग गरेको बताउदै वडाध्यक्ष विष्टले अवैध रुपमा मदिरा बिक्री गर्ने सेवन गर्नेलाई कार्बाही गर्न नसकिएको स्वीकार गर्नुभयो । तालाबन्दीका कारण कामकाज ठप्प भएको वडाध्यक्ष विष्टले बताउनुभयाे ।