चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै शुरु हुन नसक्दा आउँदो वर्षातको समयसम्म काम सम्पन्न नभएमा पहिरोको उच्च जोखिम देखिएको छ ।
नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकको ३३ ठाउँ पहिरोको दृष्टिले उच्च जोखिममा छ । पाँचवटा ठाउँमा बायो–इन्जिनियरिङपश्चात् पहिरो रोकिएको छ ।
अन्य नौ ठाउँमा अहिलेको ठेक्काअन्तर्गत नै बायो–इन्जिनियरिङ हुनेछ भने बाँकी १९ ठाउँमा छुट्टै बजेटमार्फत काम गर्नुपर्ने खनालले बताउनुभयो । ती ठाउँ पहिरोका दृष्टिले निकै जोखिमयुक्त छन् ।
सो सडकको जलविरेदेखि मुग्लिङसम्मको सात किलोमिटरको दूरीमा ८० प्रतिशत ठाउँ जोखिमयुक्त छ । चारकिलो, पाँचकिलो, कालीखोलाका तीन ठाउँ र चोरखोला पहिरोका दृष्टिले उच्च जोखिममा रहेको खनालले बताउनुभयो ।
ती चट्टानयुक्त ठाउँमा जाली ठोकेर ग्यामिन मेटिङ, छुट्टिएका चट्टान जोड्ने (रकबोल्टिङ), झर्न लागेको चट्टानलाई पछाडि रहेको ठूलो चट्टानमा तारले बाँध्ने (रक एन्करिङ) र नाङ्गो डाँडामा रहेका साना ढुंगामा सिमेण्टको छिटो जम्ने घोला छर्ने सर्किट गर्नुपर्ने खनालले बताउनुभयो । ठेक्काभन्दा बाहिरको काम भएकाले विभागले ठेक्का वा अरु प्रक्रियाबाट काम गराउने खनालले बताउनुभयो ।
सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले अहिले काम गरिरहेका ठेकेदारले बढी रकम माग गरेपछि काममा ढिलाइ भएको बताउनुभयो । ठेक्का प्रक्रियाबाट समयमा काम सक्न नसकिने भएकाले त्यससम्बन्धी कामको दक्षता राख्नेहरुलाई सोझै कामको जिम्मा दिने तयारी भइरहेको उहाँले बताउनुभयो । चैत महिनाभित्रमा काम थालिने उहाँले बताउनुभयो ।