–अनिष्मा बस्नेत
काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणलाई पनि शेयर दिने भएको छ । २९ करोडबाट वृद्धि गरी ११ अर्ब चुक्ता पुँजी पु¥याउने निर्णय र २० अर्ब पु¥याउने लक्ष्यमा सर्वसाधारणलाई पनि शेयर दिन लागिएको हो ।
पछिल्लो दुई वर्षदेखि नाफामा रहेको निगमले चुक्ता पूँजी वृद्धि गर्ने निर्णयसँगै सर्वसाधारणको लगानी समेट्न गृहकार्य गरेको छ । प्रवक्ता वीरेन्द्र गोइतले भन्नु भयो, ‘निगममा चुक्ता पुँजी वृद्धिसँगै सर्वसाधारणको पनि स्वामित्व महसुस होस् भनेर शेयर दिने निर्णयमा पुगेका छौँ तर छलफल भइरहको छ ।’
तीन आर्थिक वर्षदेखि कर्मचारीलाई बोनस बाँड्न रोकेको निगमले बोनस शेयर जारी गरेर चुक्ता पूँजी बढाउने तयारी गरेको हो । निगममा करिब ३ अर्ब रुपैयाँ बोनस शीर्षकमा जम्मा भइसकेको छ । निगमले पाँच अर्ब रुपैयाँ नाफा कमाएको छ । वार्षिक १ खर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी ज्यादै न्यून भएपछि वृद्धि गर्न विभिन्न बोनस सेयर जारी गर्न लागिएको निगमले जनाएको छ ।
निगममा सरकारको ९९ प्रतिशत सेयर छ । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको पनि सेयर छ । सञ्चित मुनाफाबाट १० अर्ब ७१ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निगमको तयारी छ ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागूपछि आर्थिक अवस्था सहज हुँदै गएको र कारोबारको अनुपातमा पूँजी वृद्धि गर्नु आवश्यक भएकाले साधारण शेयर जारी गर्ने योजनामा रहेको निगमको भनाइ छ ।