माधव पोखरेल ‘गोज्याङ्ग्रे’
आउनुस् सबै आउनुस् सबैको भलो हुने काममा हातेमालो गरौं, अरिङ्गाल बनेर सबैले सबैलाई चिलौं र आफै ध्वस्त बनौँ । हामीले हामीलाई नै मिलेर चिल्नु पर्छ अनि हाम्रो चेतना आउँछ । हामी अचेतलाई चेतनामा ल्याउने माध्यम नै अरिङ्गालको चिलाई हो । हामीलाई हामीले नै चारैतिरबाट आक्रमण गरिरहेका छौं, त्यो आक्रमणकाविरुद्ध हामी निरीह बनेर बसेका छौँ । त्यसैले हामी अरिङ्गालबाट चिलिएका छौं । अब हामी पनि हामीलाई नै अरिङ्गाल भएर चिल्नु पर्छ र अनि गोलो भएर मिल्नु पर्छ ।
अरिङ्गालले चिलेको घाउमा अरिङ्गालले नै फेरि चिल्यो भने निको हुन्छ त्यसैले हामी सबै अरिङ्गालको गोलो भएर खोलोझै बग्नु पर्दछ सलललल... । हामीले हिजोका दिनमा उडुस, उपियाँ र मच्छर भएर आक्रमण गर्यौं । तर आज हामी नै अरिङ्गालको चिलाइबाट बिलाई भएका छौं , हामी माथिको यो घोर अन्याय कसरी सहने हामीले ?
हिजो बाघ, भालु, सिंह बनेर अरुलाई तर्साएकै थियौं, धम्कयाएकै थियाैं । तर आज हामी उपर बारुलाले चिलेको भए त केही थिएन तर अरिङ्गालले नै चिलेको छ । यो पीडा हामी सहन सक्दैनौं । त्यसैले हामी पनि अरिङ्गाल नै भएर चिल्नु पर्छ । हामी सिंहलाई बिरालो बनाउनेलाई चिल्नु पर्छ, चिल्नु पर्छ, चिल्नु पर्छ । अरु किरा फट्याङ्ग्रा बनेर चिलेर हुँदैन अरिङ्गाल नै बनेर चिल्नु पर्छ । अनि तीन तिहाईको दुहाई देख्छन् र भोग्छन् । हामीले देखाउनु छ भोगाउनु छ त्यसैले अरिङ्गाल बनेर चिलाउनु छ ।
मेचीदेखि कालीसम्म र हिमालदेखि तराइसम्म सबैले अरिङ्गालको गोलो बनेर कोकोहोलो मच्चाउन सकदैनौं भने हामी बिरालोमा दरिन्छौ । आज महाकालीको अरिङ्गालको गोलोले देशलाई नै तहस नहस पारेको छ । हामी पनि हाम्रा विरुद्ध उत्र्नेहरु उपर त्यस्तै बनांँ । सबैलाई चिलौ र क्षतीपूर्तिको व्यवस्था गरौं । कसैलाई जिउदै शहीद घोषणा गरौं, कसैलाई घाइते शहीद घोषणा गरौं, कसैलाई बाल शहीद त कसैलाई बालिका शहीद घोषणा गरौं ।
साथी हो गरौं आनन्दले मन लाग्दी गरौं, कोही चिल बनेर गरौं, कोही बारुला बनेर गरौं, कोही बाघ, भालु, सिंह बनेर गरौं । मौका यही हो, मौका आउँछ पर्खिदैन बगेको खोला फर्किदैन भन्ने अवसरवादी उखान त सबैले सुन्नु भएकै होला ⁄ यो उखानलाई बखानमा परिणत गरेर भए पनि चिल्नु पर्छ हामी अरिङ्गालको गोलोझैँ एक भएर ।
हामी दुई, तीन, चार भएकाले हामी माथि अन्यायपूर्ण तवरले आक्रमण भैरहेको छ, यो कुरा हामी तीन तिहाईको दुहाई दिन सक्ने क्षमता भएकालाई कदापी पाच्य हुँदैन । तसर्थ कठेउरी, बारुलो, कमिला, रोगटे, भुसुना, डाँठ मच्छरको जस्तो गरी एक्ला एक्लै भएर होइन गोलवद्ध भएर चिल्नुस् । भिडभाडमा चिल्नुस्, ठेलठालमा चिल्नुस् । आन्दोलनमा, जुलुसमा, आमरण अनशनमा, भोकहड्तालमा, चिल्नुस् । खोलामा होस् वा पोखरीमा वा तालमा, तलाउमा डुबेर होस् जहाँसुकै भएपनि अरिङ्गालझैँ भएर चिल्नुस् ।
चाहे त्यो जहाँसुकै होस् आसनमा होस् वा भाषणमा, शासनमा होस वा कुशासनमा घुशासनमा वा राशनमा मिलेरै भए पनि चिलेरै आउनुस् । हामीले जे जसो गरी चिले पनि हुन्छ र मिल्छ पनि ।
निर्मलालाई चिलेकै हो, अझै निर्मला जस्ता कमला अवलाहरु कति चिलिन्छन पत्ताे छैन । अत्ताे थापेर चिलिनबाट अब कोही जोगिन सक्दैन यो देशमा । हामी कमिला, भुसुना, मच्छर, बारुला नै भएर बस्ने सधैँ ? हामी कदापी त्यस्तो भएर बस्न सक्दैनौँ ।
त्यसैले अब अरिङ्गाल भएर सबैको मथिङ्गल हल्लिने गरी काम गर्नु पर्छ अनि विकास, सुशासन, परिवर्तन, समृद्धिको ढोका खुल्छ र हामी ढोकाभित्र सुटुक्क पस्नु पर्छ र फेरि अरिङ्गालको गोलो भएर चिल्नु पर्छ ।
यो देशलाई तीन तिहाईको दुहाईमा दुहुनु पर्छ चिलेरै भए पनि ।