[caption id="attachment_122963" align="alignleft" width="150"]
डा. रमेश पौडेल[/caption]
नेपाल प्राकृतिक साधन र स्रोतले सम्पन्न छ भनिरहँदा पनि देशको आर्थिक अवस्था कमजोर छ भन्नुपर्दा धेरै नेपालीको मन खिन्न हुन्छ । जवान, जलस्रोत, जमीन र जडिबुटीसहितको जङ्गल भएको देश भएर पनि अर्धविकसित देश सम्भवतः नेपाल मात्रै हो । हामीसँग भएका यी सबै कुरा जबसम्म उत्पादन प्रणालीसँग जोड्न सकिँदैन, तबसम्म नेपालीको मन खिन्न हुने अवस्थाबाट मुक्ति पाउन पनि सकिने छैन । यी सबै चिजलाई उत्पादन प्रणालीसँग जोड्ने बाटो नै औद्योगिकरण हो, अर्थात् उद्योगको विकास गर्नु हो ।
उद्योगको विकासलाई महत्व दिएर नै आजभन्दा झण्डै २ सय ५० वर्षअघि पहिलोचरणको औद्योगिक क्रान्ति सम्पन्न भयो । औद्यगिक क्रान्तिले युरोपमा उपलब्ध साधनस्रोतलाई उत्पादन पदतिसँग व्यवस्थित र नवीनतम ढंगले जोड्न पुग्यो । पछिल्लो चरणमा पूर्वी एसियाका देश र चीनसमेतले यो क्रमलाई तीव्र रुपमा अगाडि बढाउन सफल भए । आजसम्म पनि त्यसो गर्न नसक्ने राष्ट्रहरु स्वाभाविकरुपमा आर्थिक विकासमा पछि परे । नेपाल पनि पछि पर्नेहरुमध्ये एक हो ।
आजको सन्दर्भमा कुनै पनि देशको द्रूत विकासका लागि औद्योगिक विकास महत्त्वपूर्ण शर्त हो । उद्योगको विकासले सामान उत्पादन मात्र गर्ने होइन, यसले स्वदेशमै रोजगारी सिर्जना र विभिन्न हिसाबले मानवजीवनलाई सहजता प्रदान गर्दछ । औद्योगिक विकासको महत्त्वपूर्ण तथ्य अनुसन्धानकर्ताको मेहेनत र मानव व्यवहारबाटै पनि स्थापित छन् । औद्योगिक विकासले स्थानीय साधनस्रोतको उचित प्रयोग त गर्छन् नै, त्यो भन्दा बढी यसले अर्थतन्त्रको आत्मविश्वास बढाउने काम गर्दछ ।
जवान, जलस्रोत, जमीन र जडिबुटीसहितको जङ्गल भएर पनि नेपाल अर्धविकसित देशको रुपमा चिनिन बाध्य छ
उद्योगले सम्बन्धित देशको नागरिकको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष दुवै हिसाबले महत्त्वपूर्ण भूमिका खेल्दछ । देशमा उपलब्ध कमजोर बस्तुलाई बलियो बनाउँछ भने कमसल वा कम मूल्यको बस्तुलाई मूल्यवान पनि बनाउँछ । अर्थात् बस्तुको मूल्यमा बढोत्तरी गराउने कुरामा उद्योगले नै भूमिका खेल्ने हुँदा यसको महत्व बढी देखिएको हो । उद्योगले रोजगार त दिलाउँछ नै साथै त्यसबाट उत्पादित बस्तुले मानिसको जीवनस्तरमा सहजता प्रदान गर्दछ । उद्योगको यही भूमिका बुझेर नै विकासवादी अर्थशास्त्री औद्योगिकरणलाई विकासको महत्त्वपूर्ण माध्यम मान्दछन् । आधुनिक सुविधा, आधुनिक समाज र आधुनिक अर्थतन्त्रका लागि औद्योगिकरण एउटा विकासको औजारका रुपमा परिभाषित गर्ने गरेको पाइन्छ ।
नेपालमा सन् १९८० को दशकमा औद्योगिक विकासका केही लक्षण देखा परे पनि त्यसले लामो समय निरन्तरता लिन सकेन । यसैको परिणामस्वरुप लगानीकर्ता पनि यो वा त्यो कारणबाट धेरै उत्साही बन्ने अवस्था रहेन । यसैको परिणाम हो आजको जर्जरपूर्ण औद्योगिक विकासको अवस्था । तथ्याङ्कमा उत्पादनमूलक उद्योगको कुल ग्राहस्थ उत्पादनमा अंश हेर्ने हो भने अहिलेको अवस्थामा करिब ६ प्रतिशतको हाराहारी मात्र भेटिन्छ । यो राम्रो हुँदा पनि करिब १० प्रतिशतको हाराहारी मात्रै पुगेको छ । त्यस्तैगरी औद्योगिक क्षेत्रमा नेपालको श्रमशक्ति जम्मा सात प्रतिशतको हाराहारीले मात्रै रोजगारी प्राप्त गर्न सकेको छ । त्यसैले यी तथ्याङ्कहरूको निचोड नेपालको औद्योगिक क्षेत्र जर्जर अवस्थामै छ भन्नु हो । अतः अबको हाम्रो आर्थिक समृद्धि चाहने जमातलाई औद्योगिकीकरणतर्फ कसरी बढाउन सकिन्छ भन्ने पाटोलाई नै नीतिनिर्माताले आफ्नो प्राथमिकतामा राख्न सक्नुपर्दछ । यसै कुरालाई मध्यनजर गरेर यो लेख प्रस्तुत गरिएको छ ।
औद्योगीकरण नै किन ?सामान्यतः औद्योगिकरणको महत्त्व रोजगार र राष्ट्रिय उत्पादन बढाउने कुरामा छ भन्ने गरिन्छ । तर, त्यति मात्रै पूर्ण होइन । उद्योगको विकासै नभए पनि यदि अन्यक्षेत्रको राम्रो विकास भएको छ भने पनि राष्ट्रिय आय र रोजगारीमा बढोत्तरी हुन सक्दछ । फरक के छ भने औद्योगिकरणले अदक्ष र अर्धदक्ष जनशक्तिलाई समेत रोजगारीमा सामेल गर्न सक्दछ । यससन्दर्भमा हाम्रा छिमेकी देशहरुको अनुभव पनि उल्लेख्य छ । भारतले सेवा क्षेत्रमा बढी ध्यान केन्द्रित गरेको थियो, यद्यपि पछिल्लो समयमा औद्योगिक क्षेत्रले त्यहाँ पनि प्राथमिकता पाउन थालेको छ । चीनले सुरुदेखि नै उत्पादनमूलक क्षेत्रमै ध्यान केन्द्रित गरेकाले रोजगारीसँग सम्बन्धित समस्या भारतमा भन्दा तुलनात्मक रुपले कम देखा परे । सेवा क्षेत्रमा दक्ष नागरिक बढी आवश्यक पर्ने र अर्धदक्ष नागरिकले धेरै कम मात्र भूमिका खेल्न सक्दछन् । त्यसैले औद्योगिकरण नभएसम्म अहिले विदेशिइरहेका युवालार्ई स्वदेशमा रोक्न पनि सकिँदैन ।
अर्कोतर्फ, स्थानीय साधन र स्रोतको अधिकतम सदुपयोग गर्ने कुरामा पनि औद्योगिकरणको महत्व प्रष्टिन्छ । उद्योगको विकासले बस्तु र सेवामा सहज पहुँच प्रदान गर्दछ र स्वदेशमै विभिन्न हिसाबले खेर गइरहेका विभिन्न कच्चा पदार्थलाई उपभोग योग्य बस्तुमा रुपान्तरण गर्दछ ।
यी सबै कारण औद्योगिकरण हुँदा राष्ट्रिय आयमा तीव्रगतिमा वृद्धि हुन पुग्दछ र नागरिकको जीवनस्तर सुधार्न योग्दान पुग्दछ । दोस्रो विश्वयुद्धपछि जापान, दक्षिण कोरिया र पछिल्लो समय पूर्वी एसियाका अधिकांश देशले औद्योगिकरणलाई प्राथमिकतामा राखेर नै विकासमा तीव्रता ल्याउन सफल भए । पहिलो औद्योगिक क्रान्तिले युरोपियन महादेशका राष्ट्रहरूको विकासमा ठूलो योगदान गर्यो । यी तथ्यहरूले प्रष्ट हुने कुरा केहो भने औद्योगिकरण नै देश विकास गर्ने एउटा आधार हो । अतः देशको अर्थतन्त्रको सर्वाङ्गीण विकासका लागि औद्योगिक विकासको महत्व राष्ट्रिय विकासको क्षेत्रमा स्थापित मान्यता हो ।
के छन् औद्योगिकरणमा समस्या ?औद्योगिकरणका लागि आधारभूत कुराहरु हुन् : पूँजी, पूर्वाधार, प्रविधि, श्रमशक्ति र बजार । यी सबै कुरालाई स्पष्ट योजनाका साथ व्यवस्थित गर्न सक्दा नै औद्योगिकरण सम्भव छ । हाम्रा छिमेकमा विशाल बजार छन् र हाम्रो श्रमशक्ति उदाहरणीय अवस्थामा छ । बाँकी कुरालाई व्यवस्थापन गर्न नसक्नु नै यस सन्दर्भका मूलभूत समस्याहरु हुन् ।
लगानीको अभाव आफैँमा एउटा ठूलो समस्या हो । विशेष आर्थिक क्षेत्र स्थापना भई त्यसको ऐन नियमसमेत तर्जुमापछि पनि हालसम्म सञ्चालन हुनसकेको छैन
विगत धेरै लामो समयका तथ्याङ्कलाई अध्ययन गर्दा प्रष्ट हुन्छ कि नेपालको अन्तर्राष्ट्रिय व्यापार दिन प्रतिदिन प्रभावहीन बन्दै गएको पाइन्छ । अर्थात हाम्रो अर्थतन्त्र बढी आयातमुखी छ । यो औद्योगिक क्षेत्रको विकास नभएका कारण नै हो । सन् १९८० को दशकदेखि शुरु भएको आर्थिक उदारीकरणको प्रक्रियासँगै नेपालले वैदेशिक लगानी र व्यापारको क्षेत्रलाई खुला गर्दै अन्तर्राष्ट्रिय आर्थिक सञ्जालमा समाहित हुने प्रयास गरेको छ । तर यसको प्रभाव हामी आयातमुखी बनिरहेका छौँ । वर्षेनी व्यापार घाटा चुलिँदै गएको छ । केही व्यवहारगत समस्या पनि यसका कारणहरु हुन् ।
लगानीको अभाव आफैँमा एउटा ठूलो समस्या हो । बचत पनि कम हुने, र भए पनि वातावरण अभावका कारण लगानीमा रुपान्तरण नहुने समस्या छ । बैंकको ब्याजदर अधिक भएको र छिटोछिटो परिवर्तन भइरहेका कारण उद्योगी–व्यवसायीले लगानी विस्तार गरी व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न अप्ठेरो परेको छ । एकातर्फ वाणिज्य बैङ्कहरुको नाफा चुलिँदो छ भने अर्कोतर्फ ब्याजदरमा निरन्तर बढ्ने र नगद प्रवाहमा समस्या देखिने गर्दा औद्योगिकरणलाई अवरोध पुगिरहेको छ ।
यसो हेर्दा हाम्रो बैङ्किङ नीतिमै पनि समस्या देखिन्छ । झण्डै ७५ प्रतिशत औद्योगिक रोजगारीमा हिस्सा राख्ने र औद्योगिक क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा योग्दान गर्ने साना तथा मझौला उद्योग व्यवसायमा वाणिज्य बैङ्कहरुले जम्मा ५ प्रतिशत भन्दा कम मात्र लगानी गरेका छन् । यसले प्रष्ट हुन्छ कि, औद्योगिक क्षेत्रको वित्तीय व्यवस्थापनमा राज्यको ध्यान पुग्नसकेको छैन । यो अर्को जटिल समस्या हो । बाणिज्य बैङ्कहरुले धेरै अवस्थामा एकपक्षीयरुपमा ब्याज बढाउने कार्य गर्दा आन्तरिक लगानी बढाउन लगानीकर्तालाई आत्मविश्वास कम हुन्छ ।
विशेष आर्थिक क्षेत्र स्थापना भई त्यसको ऐन नियमसमेत तर्जुमापछि पनि हालसम्म सञ्चालन हुनसकेको छैन । यसको सञ्चालनका लागि विद्युत्, पानी, पूर्वाधारलगायतका अन्य व्यवस्था नहुँदा उद्योग स्थापना भई सञ्चालनमा आउन कठिन भएकाले विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनामै समस्या देखिएको छ । यसर्थ आवश्यक पूर्वाधार र तीसँग सम्बन्धित सुविधा व्यवस्था गरी विशेष आर्थिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्ने वातावरण हुन जरुरी छ ।
नगरपालिका–गाउँपालिकाले बस्तु तथा सेवा उत्पादन एव बिक्रीवितरणमा कर लाग्ने हुँदा दोहोरो तेहोरो कर तिर्नुपर्ने अवस्था छ । यसबाट व्यवसायी त्रसित छन्
ऐन नियमको प्रभावकारी कार्यान्वयन अभाव प्रवृत्तिगत समस्या हो । हाम्रो औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ३५ मा एकल बिन्दु सेवा केन्द्र स्थापना गरी उद्योग वा लगानीकर्तालाई प्राप्त हुने छुट, सुविधा वा सहुलियत र उद्योगका लागि आवश्यक पूर्वाधारसम्बन्धी सेवा समयमै सरल र सहजरुपमा एकै थलोबाट उपलब्ध गराउने व्यवस्था भए पनि आजसम्म पनि ऐनमा भएको व्यवस्थाअनुसार सेवा केन्द्र कार्यान्वयनमा नआउँदा उद्योग वा लगानीकर्तालाई प्राप्त हुने छुट, सुविधा वा सहुलियत प्राप्त हुनसकेको छैन । यसमा केही व्यवहारीक समस्या नै प्रमुख छन् । नीति निर्माण हुने तर तिनीहरुको प्रभावकारी कार्यान्वयन नहुने समस्या टड्कारो छ ।
करका झमेला अर्को समस्या हो । हामी अहिले सघीयता कार्यान्वयन गर्ने चरणमा छौँ । अन्तरप्रदेश उद्योग सार्नुपर्ने वा शाखा प्रशाखा खोल्नुपर्ने अवस्था आएमा कठिनाई उत्पन्न हुनुको साथै नगरपालिका–गाउँपालिकाले बस्तु तथा सेवा उत्पादन एव बिक्रीवितरणमा कर लाग्ने हुँदा दोहोरो तेहोरो कर तिर्नुपर्ने अवस्था छ । यसबाट व्यवसायी त्रसित छन् । कतिपय अवस्थामा असमझदारीका कारण दोहोरो कर पनि एक खालको समस्या बन्दै गएको छ । आजको अवस्थामा हामीलाई चाहिएको लगानी हो र कर लगानीलाई प्रोत्साहन गर्ने बनाउनु आवश्यक छ ।
सारमा भन्नु पर्दा, हामीले महत्त्वपूर्ण समस्याका रुपमा लगानीलाई नै चित्रित गर्नुपर्ने हुन्छ । लगानी त्यसै बढ्दैन । आन्तरिक लगानी र बाह्य लगानी दुवै बढाउन के गर्नु आवश्यक छ भन्नेतर्फ नीतिनिर्माताको अविलम्ब ध्यान जान आवश्यक छ ।