लोकेन्द्रप्रसाद जोशीदार्चुला । महाकाली नगरपालिका–९ दत्तुमा सडक निर्माणको कारण खसेको पहिरोका कारण करिव एक दर्जन परिवार विस्थापित भएका छन् ।
निर्माणाधिन दत्तु–थाप्ला सडक खण्डमा जम्मा भएको माटोले गएरातिदेखि पहिरोको रुप लिएपछि अन्य २१ घरपरिवार विप्दको जोखिममा रहेका छन् ।
पहिरोका कारण विस्थापित हुनेमा वडा नम्बर ९ दत्तुका बिन्दु भाट, विशनसिह गोयला, त्रिलोकसिह चैसिर, धनसिह भाट लगायतको परिवार रहेका छन् । यस्तै राजेन्द्र नगारी, प्रेमसिंह धामी, राजेन्द्र नगारी, भुवन भाट, गोरखसिह भाट लगायत एक दर्जन परिवारको घर उच्च जोखिममा रहेकाले विस्थापित हुनुपर्ने अवस्था आएको छ ।
महाकाली ९ दत्तुका वडाअध्यक्ष हरसिह डाँगाले भन्नुभयो, ‘पहिरो सडकसम्म पुगेकाले सडकमुनिको बस्तीमा पनि पहिरोको जोखिम बढेको छ । ठेका बस्तीका घरगोठमा माटोको लेदो भरिएर डुबानमा परेका छन् । गाइभैँसी लगायत घरपालुवा जनावरहरु त्रिपाल रोकेर सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको छ । खेतमा लगाएको धान, मकै लगायत खाद्यबाली पहिरोले पुरिएको छ ।’
परिवार नै विस्थापित हुने गरि पहिरो गएपछि महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्ट, प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, नेपाल प्रहरीका डिएसपी दिपेन्द्र शाही, सशस्त्र प्रहरीका डिएसपी भीमबहादुर चन्द लगायत अधिकारीहरुको टोलीले स्थलगत अवलोकन गरेको छ । प्रमुख जिल्ला अधिकारी बिष्टका अनुसार अवलोकनसंगै विपद् व्यवस्थापनको प्रयास थालिएको छ ।
विस्तृत प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङकन नगरी निर्माण गरिएका सडकले स्थानीय तहका दर्जनौ वस्तीहरु पहिरोको उच्च जोखीममा छन् ।