काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
शनिबार जनता समाचार डट कम मा राजनीतिकर्मी आफ्नै कमाइले बाँच्नुपर्छः डा. पौडेल (भिडियोसहित), भवन निर्माण रोक्न अन्तरिम आदेश, २४ घण्टामा ७ इन्जिनियर घुससहित पक्राउ, माटो खन्याएर ‘बाउन्ड्री वाल’ का नाममा ५ लाख निकासा, किशोरीलाई कुलेश्वरको कोठामा लगेर बन्धक बनाएपछि..र सूर्यविनायक जुवाको अखडा, ३५ लाखसहित १० जना पक्राउ लगायतका समसामयिक समाचार प्रकाशित भए ।
गोरखापत्र दैनिकले मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने पूर्वानुमान गर्दै समाचार छापेको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन अझै डेढ वर्ष लाग्ने समाचारमा विश्लेषण छ । काम सुरु भएको ३१ वर्ष बित्दापनि मेलम्चीको पानी राजधानी आइपुगेको छैन । काम फटाफट हुने हो भने पनि अझै डेढ वर्ष कुर्नुपर्ने देखिन्छ ।
राजधानी दैनिकले सरकारी तथा निजी अस्पतालले ‘होल बडी चेकअप’को नाममा हजारौं शुल्क असुल्दै आइरहेको समाचारलाई प्रमुख समाचार बनाएको छ । समाचारमा उल्लेख भएअनुसार अस्पतालपिच्छे फरक शुल्क छ । अस्पतालहरुले एक हजार पाँच सयदेखि २५ सय रुपैयाँसम्म शुल्क लिने गरेका छन् । पत्रिकाले मेडिसिटी, ओम, एभरेस्ट, ग्रयान्डी, मेडिकेयर, त्रिवि शिक्षण, सिभिल र ह्याम्स अस्पतालको ‘होल बडी चेकअप’ शुल्क समेत समाचारमा खुलाएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकमा विप्लव समूहको भूमिगत सञ्जालबारे खोजतलाससहितको शीर्ष समाचार छ । समाचारमा विप्लव समूहले युद्धकालीन सांगठनिक संरचना बनाएर गतिविधि गरिरहेको परिस्थिति अनुरुप आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै अघि बढिरहेको विश्लेषण छ । हाल विप्लव समूहका चार वटा कमाण्ड र १२ वटा ब्युरो क्रियाशील रहेका छन् ।
नागरिक दैनिकमा ‘विकटताको नाममा मनपरी’, ‘कारबाहीबाट बच्न नेताको शरणमा’ र ‘बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक’ गरी तीन प्रमुख समाचारलाई बराबर प्राथमिकता दिएर प्रथम पृष्ठमा प्रकाशन गरेको छ । समाचारमा प्राकृतिक सुन्दरताले सम्पन्न डोल्पामा व्यापारी र व्यवसायीले भौगोलिक विकटतालाई कमाइ खाने भाँडो बनाएको उल्लेख छ । जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्मको ९० किलोमिटर यात्रा गर्दा प्रतियात्रुले दुई हजार पाँच सयसम्म तिर्नुपरिरहेको छ । यस्तै, होटल र यात्राको खर्च जोड्दा हवाई सेवाभन्दा महँगो पर्ने गरेको एक यात्रुको अनुभव सहितको खबर पत्रिकाले छापेको छ
कान्तिपुर दैनिकले तीन राजमार्ग ठप्प शीर्षकमा शीर्ष समाचार प्रकाशित गरेको छ । सिद्दिचरण, मेची र कोसी राजमार्ग सातादेखि अवरुद्द हुँदा पूर्वी पहाडका आधा दर्जनभन्दा बढी जिल्लामा औषधी, खाद्यान्नलगायत अत्यावश्यक सामग्री अभाव हुन थालेको समाचारमा उल्लेख गरिएको छ । पत्रिकाले बालुवाटारस्थित ललिता निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश रमेशराज पोखरेलले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेको समाचारलाई पनि प्रथम पृष्ठमै समेटेको छ ।