टिप्पणी– रामकुमार एलनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा स्कुल विभागको चर्चा निकै चुलिएको छ । एमाले कालमा अध्यक्ष केपी ओलीले नै लिएको स्कुल विभागमा यतिखेर एमाले पक्षबाट ईश्वर पोखरेल र माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठको दाबीमा अरु ३ नेताको चर्चापछि स्कुल विभागमा निर्णयमा पुग्न दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई सहज छैन ।
एमालेको नवौँ महाधिवेशनमा आफ्नो लाइन पारित भएको भन्दै स्कुल विभाग मागेका उपमहासचिव घनश्याम भूसाललाई दिनु भन्दा आफैँ राख्नु उचित ठानेर स्कुल विभाग प्रमुख हुने सुविधा पनि यतिखेर अध्यक्ष केपी ओलीलाई छैन । पार्टी अध्यक्ष र महासचिवले कुनै विभाग नलिने भनेर गरिएको घोषणामा ओलीले अन्यथा गर्नुहोला भनेर कसैलाई विश्वास नै छैन । यद्यपि विगतमा शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङलाई दिइएको छुटमा ओली पार्टीमा कति बलवान थिए भन्ने सम्झना मात्र यतिखेर छ ।
ईश्वरलाई अप्ठेरोपार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको च्याप्टर सकियो भन्दा स्थायी कमिटी सदस्य घनश्याम भूसालको हुर्मत लिने काम भयो । तर जब दुई अध्यक्षले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको जनवाद बनाए । त्यसपछि ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादलाई देशभर लिएर बहसमा लैजान्छु भनेपछि दुवै अध्यक्षलाई शंका भयो । दुई अध्यक्षबीचको प्रधानमन्त्री बाँड्ने सम्झौताबारे बेखबर ओली सरकारका वरियताका पहिलो उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुरु गरेको बहसले नै उनी अप्ठेरोमा छन् । ओलीले पनि शंका गर्नु पर्ने अवस्था, दाहालसँग त एउटै मञ्चमा दोहोरी परेको अवस्था । माधवकुमार नेपालले बोक्न नसक्ने अवस्था । एउटै गुटमा भए पनि वामदेव गौतमसँग सम्बन्ध सुधार हुनै नसकेको अवस्था । स्कुल विभागमा ईश्वर पोखरेलको दाबीपछि बरु शंकर पोखरेलका पक्षमा पो कार्यकर्ताहरु खुलेर बोल्न थाले ।
नारायणकाजीलाई न्यायस्कुल विभागमा नारायणकाजी श्रेष्ठले दाबी गर्नु न्यायसंगत नै हो । पार्टीको राजनीतिक दस्तावेज प्रकाशनमा गएको छ । दस्तावेज माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ मिलेर लेखेका हुन् । प्रवक्ता बनाइएका नारायणकाजी श्रेष्ठ वैचारिक नेता हुन् । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण मात्र होइन, पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई माओवादी राजनीतिमा स्थापित गर्ने काममा नारायणकाजीको भूमिका कम छैन । संविधान निर्माणमा पनि नारायणकाजी खटिएका हुन् । भीम रावलजस्तै राष्ट्रवादी पक्षधर हुन् । नारायणकाजीको दाबीमा कुनै कमजोरी छैन । स्कुल विभाग उनलाई दिनु न्यायसंगत हुने एकाथरिको तर्क छ ।
घनश्यामको दाबीनेकपा एमालेको नवौँ महाधिवेशनमा आफ्नो लाइन पारित भएको भन्दै उपमहासचिव घनश्याम भूसालले पनि स्कुल विभागमा दाबी गरेका छन् । सरकार र पार्टी दुवैमा भूमिका नभए पनि पार्टी कस्तो हुनु पर्ने भनेर घनश्याम भूसाल देशभर प्रशिक्षणमा सरिक छन् । कम्युनिष्ट सिद्धान्तका कार्यकर्ता उत्पादनमा क्रियाशील छन् ।
वैचारिक नेता वेदुराम भूसालनिर्वाचन आयोगमा पार्टीबाट पठाउने भनेर पत्राचारपछि पनि रोकिएका वैचारिक नेता डाक्टर वेदुराम भूसालले पनि स्कुल विभागमा दाबी गरेपछि अध्यक्ष ओली र दाहाललाई परेको सकस सानोतिनो नरहेको अवस्था छ । ईश्वर पोखरेलको दाबीमा यतिधेरै विकल्प आउला भन्ने सोचेका पनि थिएनन् होला । वैचारिक नेता, भूमिकाविहीन बनाइएका र पेलानमा परेका नेता भूसालको दाबीले अर्को तरंग ल्याइदिएको छ । अध्यक्ष ओलीका सबैभन्दा प्रिय विद्यार्थी नेता अनेरास्ववियुका संयोजक ऐन महरलेसमेत बुधबार बिहानै फेसबुकमा भूसालका पक्षमा वकालत गरेपछि यसले कार्यकर्तामा अर्को रक्तसञ्चार गरेको छ ।
फाइदा माधव नेपाललाईजेठ ३ गते प्रज्ञा भवनमा मनाइएको पार्टी एकता दिवससहित कयौँ मञ्चमा बोल्नसमेत नपाएका वरियताले ३ नम्बरका नेता माधवकुमार नेपाल र नेपाल समूहले नेकपामा यो दुई महिनामा आफ्नो शक्ति सञ्चयलाई शिखरमा पुर्याएको छ । जिल्ला अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्जमा केन्द्रीय सदस्यहरुको नेतृत्वमा नेपालकै लाइनमा दुई अध्यक्ष ओर्लिएका मात्र छैनन् । माधव नेपाललाई अघि लगाएर ओली, दाहाल र महासचिव विष्णु पौडेल पछिपछि नहिँडे नेता कार्यकर्ताको प्रहार होला भन्ने अवस्थामा पुगेका छन् । केही मिडियाले त नेपाललाई तेस्रो अध्यक्ष भनेर लेख्न थालेको हप्ता–दश दिन भइसकेको छ ।
पार्टीको राजनीतिक दस्तावेज लेख्ने नेतृत्व गरेका माधव नेपाल केपी ओलीपछि स्थापित हुने लाइनमै छन् । दाहाललाई माधव नेपालकै सहयोग चाहिएको छ । नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझीजस्ता नेता नेपालसँगै निकट छन् । एमालेको नवौँ महाधिवेशनमा टाढिएका वामदेव गौतम पनि सँगै छन् । आफ्नो विदेश विभाग, गौतमको संगठन विभाग र झलनाथ खनालललाई नीति तथा योजना विभागमा ‘कन्फर्म’ मात्र गरेका छैनन्, ओली, दाहाल र विष्णु पौडेललाई विभागविहीन बनाउने कामसँगै अब स्कुल विभागमा ईश्वर पोखरेलबाहेक जो आए पनि माधव नेपाल अनुकुल आउने भएकाले अहिले जिल्ला, इञ्चार्जदेखि विभागसम्मले माधव नेपाललाई परिक्रमा गरिरहेको छ भन्दा नाक नखुम्च्याउँदा हुन्छ । नारायणकाजीसँग निकटता, घनश्याम भूसाल नेपाल समूहबाटै निर्वाचित उपमहासचिव, बेदुराम भूसाल नेपाल पक्षकै नेता । स्कुल विभागमा अब माधव नेपालको सल्लाह विना ओली र दाहालले निर्णय गर्लान् भन्ने अनुमान नै छैन ।