काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले शपथ लगत्तै कार्यभार सम्हाल्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी समिति सदस्य तथा सांसद भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
राष्ट्रपति कार्यालय सितलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित अन्य विशिष्टहरुको सहभागी रहेको थियो । मन्त्री भट्टराईले शपथ लगत्तै सिंहदरबार पुगेर कार्यभार सम्हाल्नुभएको हो । मन्त्री भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनका सचिवसहित कर्मचारीले स्वागत गरेका थिए ।
रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रिक्त थियाे । मन्त्री अधिकारीको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । अधिकारीको निधन भएको ५ महिनापछि भट्टराई मन्त्रीम पदमा नियुक्त हुनुभएकाे हो ।
नेता भट्टराई ताप्लेजुङ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । विद्यार्थीबाट राजनीति शुरु गर्नुभएका भट्टराईले अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी समेत बहन गरिसक्नु भएको छ । एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघि उहाँ केन्द्रीय सचिव तथा पार्टी प्रवक्ता हुनुहुन्थ्यो ।
युवा नेता भट्टराई बुबा भीमलाल भट्टराई र आमा महेन्द्रादेवीको कोखबाट २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मिनु भएको हो । उहाँले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ । नेता भट्टराईले ताप्लेजुङबाटै शिक्षा प्रारम्भ गर्नुभयो । उहाँ स्कूल पढ्ने बेला झापा विद्रोह भइरहेको थियो । उहाँमा पनि त्यसको प्रभाव पर्यो र सानैदेखि कम्युनिष्टप्रति आकर्षित हुनुभयो । उहाँको परिवारिक पृष्ठभूमि पनि वामपन्थी नै थियो ।
उहाँले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाल्नुभयो । विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गर्नुभयो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उहाँले पटक पटक भाग लिनुभयो । उहाँ २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष बन्नुभयो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्य हुनुभयो। एमालेको ९ औं महाधिवेशनमा उहाँ सचिव बन्नुभयो । सचिव भएपछि प्रचार विभाग प्रमुख समेत हुनुभयो ।