नवलपरासी । सर्पदंशका बिरामीको उपचारका लागि प्रहरीयुक्ति तालिम महाविद्यालयले उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका जर्गाहास्थित महाविद्यालयले बुधबारबाट एम्बुलेन्ससहितको उपचार केन्द्रबाट सेवा शुरू गरेको हो ।
केन्द्रको ५ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बराल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवशंकर राय, सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रहरीको प्रशंसा गर्नुभयो । उहाँले प्रहरीले शान्ति सुरक्षा कायम राख्न ठूलो भूमिका खेलेको बताउनुभयो । नागरिकको स्वास्थ्य जटिलतालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
बन फँडानी, मानव वस्ती विकासले सर्पदंशका घटना बढ्दै गएको बताउँदै उहाँले यस केन्द्रको सञ्चालन तथा निरन्तरताको लागि आवश्यक जनशक्ति, बजेट, औषधी उपकरणको व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिबद्ध रहको बताउनुभयो ।
महाविद्यालयका प्राचार्य तथा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नलप्रसाद उपाध्यायले सुनवल नगरपालिकाको आर्थिक सहयोग र यस महाविद्यालयको अथक मिहिनेत, श्रमदानले सर्पदंश केन्द्रको स्थापना भएको बताउनुभयो ।
जिल्लामा सर्पदंशको छुट्टै उपचार केन्द्र थिएन । परासी जिल्ला अस्पतालमा सर्पदंशको सामान्य उपचार हुँदै आएको थियो । उपकरण र दक्ष चिकित्सक नहुँदा सर्पले डसेका बिरामी पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाली सेनाको ब्यारेकमा सञ्चालन गरिएको सर्पदंश केन्द्र र बुटवल जानुपर्ने बाध्यता थियो ।
केन्द्र स्थापनाका लागि नगरपालिकाले २५ लाख उपलब्ध गराएको छ । कुल ३३ लाख लागतमा निर्माण भएको केन्द्रमा स्थानीय र महाविद्यालयकै प्रहरीको ८ लाख बराबरको जनश्रमदान छ ।
प्रदेश सरकार र नगरपालिकाले कार्डियाक, इसिजी लगायतका ६६ प्रकारका उपकरण र औषधि उपलब्ध गराएका छन् । उपचारका लागि महाविद्यालयकी निरीक्षक डा.सुष्मा केसीसहितको पाँच जना स्वास्थ्य टोली छन् ।