भगीरथ भण्डारी इलाम । सूर्योदय नगरपालिकामा 'सूर्योदय नगर पर्यटन महोत्सव २०७६' हुने भएको छ । आगामि मंसिर १४ गतेदेखि पाँच दिन महोत्सव हुने भएको हो ।
महोत्सव संचालनका लागि नगर उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय सूर्योदय नगर पर्यटन महोत्सव आयोजक मूल समिति गठन गरिएको छ । मूल समितिले महोत्सवको तयारीका लागि काम थालिसकेको उपप्रमुख भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार सम्बन्धित वडाहरूको पर्यटकीय विशेषताअनुसार सम्बन्धित स्थानमै विभिन्न उपसमितिहरू गठन हुने क्रममा छन् ।
त्यस्तै मूल समितिले महोत्सवका कार्यक्रम तय गर्ने, खर्च तथा आम्दानीको अनुमानित विवरण तयार गर्ने जस्ता काम पनि गरिरहेको छ । महोत्सवका लागि नगर कार्यपालिकाबाट २५ लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको छ । नगरपालिकाले दिने रकमबाहेक आवश्यक पर्ने रकम संघीय सरकार, प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित अन्य निकायहरूमा मागसहितको प्रस्ताव पेश गर्ने नगरपालिकाका प्रवक्ता वीरबहादुर लाप्चाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा पाँच दिनमा विभिन्न स्थानमा अलगअलग विशेष कार्यक्रमहरू सम्पन्न हुनेछन् ।
सूर्योदय नगरपालिकामै पर्ने सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै चर्चित स्थल वडा नम्बर ४ र ५ स्थित अन्तुडाँडा र परिसरमा महोत्सवको पहिलो दिन विशेष कार्यक्रम गरिने भएको छ । अरु दिन चर्चित पर्यटकीय स्थल वडा नम्बर ७ को कन्याम चियाबगान, वडा नम्बर २ र ३ को पशुपतिनगर, वडा नम्बर १ को गोर्खे, १० को फिक्कल, ११ को करफोक, १३ र १४ को लक्ष्मीपुर जस्ता स्थानमा विशेष कार्यक्रमहरू सञ्चालन गरिने छ ।
महोत्सवमा स्वदेशी आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको बढी आगमन हुने अपेक्षा राखिएको आयोजक समितिले बताएकाे छ । ‘अहिलेकाे समय सूर्योदय दृश्यावलोकनको मौसम हो, यसअघिका वर्षहरूमा पनि यो समयमा धेरै आन्तरिक र भारतीय पर्यटक आउने गरेका थिए’, उपप्रमुख भट्टराईले भन्नुभयो, ‘यो महोत्सवमा पर्यटकको आगमन अझ बढ्ने अपेक्षा गरिएको छ ।’ महोत्सवको माध्यमबाट सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरीको रूपमा चिनाउन प्रयास गरिएको बताइएको छ ।
धेरैवटा पर्यटकीय स्थलहरू रहेको सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा बाह्रै महिना पर्यटकको घुइँचो लाग्ने गरेको छ । कन्याममा चियाबारीको सौन्दर्य सँगसँगै चिसो मौसम र वरिपरिको हरियालीको दृश्यावलोकन गर्न तराई तथा अन्य जिल्लाका र भारतीय पर्यटकहरू आउँछन् । यहाँ दिनहुँ पर्यटकको घुइँचो लाग्ने भएकाले घोडचडी, सांस्कृतिक पहिरन लगाएर तस्विर खिचाउने, सांस्कृतिक खानेकुरा खुवाउने जस्ता व्यवसायसगैँ सयौँ चिया र खाजा पसलहरूको व्यवसाय पनि फस्टाएको छ ।
अन्तुमा पनि पर्यटकको बाक्लो उपस्थितिले त्यहाँका स्थानीय बासिन्दाले घरघरमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । अहिले अन्तुमा दर्ता भएका र नयाँ गरी ५६ वटा घरमा होमस्टे सञ्चालन भइरहेको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताउनुभयो । ती होमस्टेहरूमा पर्यटकलाई स्थानीय परिकार खुवाउने गरिएको उहाँको भनाइ छ । अघिल्लो दिन अन्तु पुगेका पर्यटक रातमा होमस्टेमा बसेर बिहान अन्तुडाँडाबाट सूर्योदयको अवलोकन गर्न पुग्छन् ।
त्यसपछि अन्तुडाँडाबाट देखिने भारतीय बजारहरू सिलिगुडी, खर्साङ, मिरिक लगायत नेपालका विभिन्न भागको रमणीय अवलोकनसँगै रमणीय चियाबारीको बीचमा अवस्थित अन्तु पोखरी पुगेर डुङ्गा सयर गर्छन् । डुङ्गा सयरसँगै अन्तुका रमणीय स्थलहरू घुमेर दोस्रो दिन पर्यटकहरू फर्किने गरेका छन् ।
अन्तुडाँडाबाट कात्तिक र मंसिर महिनामा सबैभन्दा राम्रो सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ।