नरेश न्याैपानेकाठमाडौं । नेपालमा समाजवादको सम्भाव्यताबारे राजधानीमा एक बहस सम्पन्न भएको छ । फाउण्डेशन फर क्रिटिकल डिस्कोर्श नेपालको आयोजनामा गरिएकाे विमर्श कार्यक्रममा सरोकारवालाहरुले नेपालमा समाजवादको सम्भाव्यताबारे अन्तरक्रियात्मक छलफल गरेका हुन् ।
कार्यक्रममा नेपालमा समाजवादको सम्भाव्यताबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अभिभावक सन्तानलाई जग्गाको अंशबन्डा गर्ने कुरामा अल्झिएको उदाहरण दिँदै आजका कम्युनिष्ट स्वयंमा प्रगतिशील छन् वा छैनन् ? भन्ने गम्भीर प्रश्न उब्जिएको बताउनुभयो । पुँजीवादीहरुले समेत आफै कमाइ खाने बाटो अपनाएका छन् भने हामी कम्युनिष्ट भनिएकाहरु नै पैत्रिक जमिनको आशा गर्ने गरिरहेको उल्लेख गर्दै पाण्डेले वितरण प्रणाली सही भए समाजवादमा जान सहज हुने प्रष्ट पार्नुभयो ।
पश्चिमी लोकतन्त्र, पश्चिमी पूँजिवादी क्रान्ति, म्याग्नाकार्टा, फ्रान्सेली गणतन्त्र र अमेरिका स्वतन्त्रताभन्दा पनि नेपालको लोकतान्त्रिक गणतन्त्र ति सबैको विस्तृतिकरण भएको र ति सबैभन्दा धेरै अगाडि रहेको पाण्डेको भनाइ छ ।
पाण्डेले चिनियाँ क्रान्तिमा क्रान्ति हुनासाथ पूँजिवादी र समाजवादी क्रान्ति सबै एकपटक भएको र त्यही दिनदेखि समाजवादी भएको तर नेपालमा त्यस्तो नभएको बताउनुभयो । नेपालको लोकतन्त्र पूजिँवादी लोकतन्त्रको दायरामा सिमित हुन सक्ने स्थिति रहेको उल्लेख गर्दै पाण्डेले नेपाली सत्तायन्त्रमा सत्ता दलाल र विचौलिया हाबी भएकाले सत्तालाई पारदर्शी बनाउन संघर्ष आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपालमा समाजवादका लागि जमिनको व्यवस्थापन, उद्योग, व्यवसाय र आर्थिक क्षेत्रको व्यवस्थापन र प्रोत्साहन, शिक्षामा लगानी, व्यवस्थापन र जनशक्ति निर्माण, स्वास्थ्य र जनताको सामाजिक सुरक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रण, यातायात र पूर्वाधार निर्माण तथा प्रशासन, प्रहरी, न्यायीक क्षेत्रको सुधार र रुपान्तरण जस्ता विषयहरुमा गम्भीर बन्नुपर्ने पाण्डेद्वारा प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा समाजवाद उन्मुखता, शिक्षा र स्वास्थ्य विषयमा आफनो कार्यपत्र प्रस्तुत गर्नुभएका डा. सरोज धितालले नेपालकाे साम्यवादी खेमामा आएको विभाजनका कारण समाजवादबारे अन्यौलता बढेको दृष्टिकोण राख्नुभयो । कम्युनिष्ट र प्रजातान्त्रिक समाजवादीबीच उनीहरुले भन्ने गरेको समाजवाद र वास्तविक समाजवादबारे पहिलेदेखि नै विवाद रहेको बताउनुहुँदै धितालले कुनै पनि समाज साँच्चिकैको समाजवादी हो वा हाेइन ? भनेर छुट्याउने कुनै सर्वस्विकार्य मापदण्ड नहुने प्रष्ट पार्नुभयो ।
नेपालको शिक्षाको इतिहासलाई हेर्दा आजको समयमा इतिहासका पानाबाट, वा अन्य देशका कुनै आयोजनाका ठेलीबाट ‘कपी पेष्ट’ गर्ने सुविधा नभएको प्रष्ट पार्दै धितालले नेपालले आफ्नै संविधानका यस सम्बन्धी बुँदामा टेकेर अघि बढ्नु आजको आवश्यकता रहेको औंल्याउनुभयो । नेपालमा स्वास्थ्य प्रदायक संस्था सरकारी, गैरसरकारी संस्थाहरु, सहकारी संस्थाहरु र बजार रहेको र यहाँ स्वास्थ्यलाई किनबेचको वस्तु बनाइएको गुनासो गर्दै धितालले भन्नुभयो, ‘स्वास्थ्य जस्तो मौलिक अधिकार यसरी किनबेचको वस्तु बनाइनु गम्भीर कुरा हो ।’
सोही कार्यक्रममा अन्तराष्ट्रिय संस्थाहरु र समाजवादको लक्ष्यमाथि कार्यपत्र प्रस्तुत गर्दै नेकपाका नेता तथा प्रतिनिधिसभा सांसद डा. दीपकप्रकाश भट्टले समाजवादमा जान समााजिक पुँजिवादमा जोड दिइनुपर्ने, उत्पादन प्रणाली विस्तारित गर्नुपर्ने र रोजगार सिर्जना गर्ने दिशामा राज्य केन्द्रित हुनुपर्ने दृष्टिकोण राख्नुभयो ।
विगतमा ६० देखि ७० प्रतिशत जीडिपी भारत र चीनको हातमा रहेको, अमेरिकाले साइलेन्ट लिग अफ नेशन बनाएर विश्वव्यापी हस्तक्षेप गरिरहेकाे र पहिलो विश्वयुद्धमा अत्याधिक सर्वसाधारण मानिसहरु मारिएपछि १९४८ मा सिमाको अवधारणा स्वीकार गर्नुपर्ने परिस्थीति आउँदा सोही सन्दर्भमा अन्तर्राष्ट्रिय संस्था अगाडि आएको बताउँदै भट्टले विश्व परिस्थितिको नयाँ संर्घषको आधारमा नयाँ शक्ति संरचना पनि देखिन थालेको उल्लेख गर्नुभयो ।
नेपालमा पुष्पलालले जोड दिँदै आएको सन्दर्भ अहिले पनि उत्तिकै सान्दर्भिक देखिएको बताउँदै भट्टले भन्नुभयो, ‘वर्ग संघर्षको अवस्था त्यसैमा स्पस्ट हुन्छ, जतिबेला स्वास्थ र शिक्षा पूर्णरुपमा सरकारको अधिनमा आउँछ ।’ केही समय अघिमात्रै सम्पन्न लगानी सम्मेलन ‘कोर्स करेक्सन’ को दिशामा नगएको उहाँको भनाई छ । हाम्रो क्रन्ति थाहा नपाउनेगरि सम्पन्न भएको, कम्युनिष्ट पार्टीको दूई तिहाइ सरकार आएको पनि भ्रमजस्तो देख्ने समाजको चेत जबसम्म आलोचनात्मक बन्न सक्दैन, तबसम्म समग्र समाजको ‘कोर्स करेक्सन’ मा चुनौती खडा भइरहने छ, भट्टले भन्नुभयो ।
विमर्श कार्यक्रमको सञ्चालन गर्नुभएका प्राध्यापक डा. चैतन्य मिश्रले नेपालको संविधानमा उल्लेखित समाजवाद कुन खाले समाजवाद हाे भनेर उल्लेख गरेको भए उपयोगी हुने विचार राख्नुभएको थियो । समाजवादको सम्भाव्यता भन्नाले ‘के खाले समाजवाद सम्भव छ वा के खाले छैन भन्ने जान्न खोज्नु’ रहेको प्रष्ट पार्दै मिश्रले मार्क्स, एंगेल्स र लेनिलगायतले परिभाषित गरेको समाजभन्दा अहिलेको विश्व बेग्लै भएकाले अहिलेको अवस्थाको समाजवाद त्यो भन्दा पृथक हुने उल्लेख गर्नुभयो ।
नेपालका कम्युनिष्ट नेतामा वंशावली लेख्ने चलन चलेजस्तै कम्युनिष्ट पार्टीमा मार्क्स वा एंगेल्सवादी भन्दै वंश तान्ने गलत परम्परा विकास भएको र ठोस परिस्थितिको ठोस विश्लेषणको मान्यता हराएको मिश्रले टिप्पणी गर्नुभयो । नेपालका कम्युनिष्ट पार्टीका नीतिमा संगती नभएकोले नयाँ रुपमा सोच्नपर्ने बेला आएको पनि मिश्रको भनाई छ ।