काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले मंगलबार विभिन्न फरक - फरक विषयका समाचारलाई शीर्ष समाचार बनाएका छन् । पत्रिकाहरुले प्रतिनिधिसभामा सभामुख पदका लागि आगामी १२ गते निर्वाचन हुने तय भएसँगै संसदको गतिरोध हटेको विषयलाई प्रमुख समाचार बनाएका छन् ।
सोमबार जनता समाचार डट कम मा बागमती प्रदेश लोकसेवाले पायो पूर्णता, नेपाल अब भुपरिवेष्ठित रहेन : उद्योगमन्त्री भट्ट, धरान शहर योजनाकारको निधन, अब विवाह र पास्नीमा परिवारका मात्र जमघट, कसैलाई तँ भन्न नपाइने, च्याउ खेतीबाट मनग्गे आम्दानी, महिलाले गरे समूहमा बचत, चक्कु प्रहार गरी युवकको हत्या, तीनजना पक्राउ,असईमा जागिर लगाइदिने भन्दै घुस लिने नेकपा नेता पक्राउ र प्रदेश सांसद शर्माको निधन लगायतका समाचारहरु प्रकाशन गरिए ।
गोरखापत्र दैनिकमा ‘प्रयोगात्मक परीक्षाको अंक दिन मापदण्ड’ शीर्षकमा मुख्य समाचार बनाइएको छ । समाचारमा उल्लेख भएअनुसार अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अंक दिन पाइने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदले स्वीकृती गरेको विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अंकका लागि मापदण्ड निर्धारण गरिएपछि यस्तो व्यवस्था गरिएको पत्रिकामा लेखिएको छ ।
समाचारमा लेखिएअनुसार शिक्षकले अबदेखि प्रयोगात्मक परीक्षामा जथाभावी अंक दिन नपाउने र वास्तविक प्रयोगात्मकका आधारमा मात्रै विद्यार्थीले अंक पाउने भएका छन् । यसैगरी पत्रिकामा उपसभामुख तुम्बाहाम्फेद्वारा राजीनामा, उपत्यकामा सवारी साधन व्यवस्थापन, तीन तहको रुट प्रणाली र अन्तराष्ट्रियस्तरको प्राणी उद्यान बन्दै शीर्षकका समाचारलाई पनि शीर्ष स्थान दिइएको छ ।
सभामुखको विषयलाई लिएर संसदमा जारी गतिरोध हटेको विषयलाई प्रमुख समाचार बनाएको नागरिक दैनिकले सरकारको हेलचेक्रयाइँले पदयात्रा जोखिमपूर्ण भइरहेको शीर्षकमा अर्काे मुख्य समाचार बनाएको छ । पदयात्रा क्षेत्रमा अग्रिम सूचना दिने प्रणालीको मात्र अभाव नभई मौसमबारे जानकारी दिलाउने निकाय पनि कमजोर भएको समाचारमा उल्लेख छ । त्यस्तै चोरिएको दत्तात्रय मूर्ति आलीमा भेटिएको समाचारलाई पनि प्रथम पृष्ठमै समेटिएको छ ।
कान्तिपुर दैनिकमा ललिता निवास प्रकरणमा सीआईबीले किर्ते र ठगीको अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको विषयलाई प्राथमिकताका साथ छापिएको छ । भूमाफिया र कर्मचारीको मिलेमतोमा बालुवाटारको १ सय १४ रोपनी जग्गा हिनामिनाको घटना अनुसन्धान गरेको सीआईबीले उच्च पदस्थ सरकारी अधिकारी र मालपोतका कर्मचारीदेखि भूमाफियासम्मको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको निष्कर्श निकालेको छ ।
जग्गा हडप्न संलग्न कर्मचारी, भूमाफिया, ललिता निवासका तत्कालीन भोगाधिकारी, नक्कली मोही र कागजात मास्ने व्यक्तिलाई भ्रष्टाचार, ठगी तथा किर्तेको कसुरमा कारबाही सिफारिस गरिएको समाचारमा उल्लेख छ ।