काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले बुधबारबाट राजधानीमा शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकबारे प्रमुख समाचार बनाएका छन् । त्यस्तै पत्रिकाहरुले कोरोना भाइरस संक्रमण र छाउगोठ भत्काउने सरकारको निर्णयको परिणाम लगायत विभिन्न फरक /फरक विषयका विषयलाई शीर्ष समाचारका रुपमा प्रकाशित गरेका छन् ।
बिहीबार जनता समाचार डट कम मा नेकपाले तोक्यो टोली नेता : गैरे–राई एकल, बस्नेत सामूहिक, जनता प्रसारण तथा प्रकाशनको आठौँ पाइला, सूर्यविनायक नगरपालिकाको भवन निर्माण शुरु, रित्तो बोराले च्यापिएर एकै परिवारका चारको मृत्यु, जगदिशपुर ताल पाहुना चराले भरिभराउ, ‘सदनलाई जीवन्त बनाउन ध्यान केन्द्रीत गरेको छु’, सवारी दुर्घटनामा एकको मृत्यु र एमसीसी कार्यान्वयनमा आइसकेको छ : बास्कोटा लगायतका शीर्षकमा समाचार प्रकाशन गरिए ।
अन्नपूर्ण र गोरखापत्र दैनिकले छाउगोठ भत्काउने निर्णयपछिको अवस्थाबारे विश्लेषणात्मक समाचार बनाएका छन् । गोरखापत्रले छाउगोठ भत्काउने अभियानमा सफलता हात लागेको विश्लेषण गरेको छ भने अन्नपूर्णले छाउगोठ भत्काउने निर्णयमा सरकार सफल नभएको निश्कर्षसहितको समाचार छापेको छ ।
‘छाउगोठ : प्रशासन भत्काउँछ स्थानीय बनाइहाल्छन्’ शीर्षकमा समाचार छापेको अन्नपूर्णले अछाम र बझाङमा प्रशासनले भत्काएका छाउगोठ फेरि बनाउन थालिएको उल्लेख गरेको छ । समाचारमा उल्लेख भएअनुसार अछाम साँफेबगरकी रम्बा थापा र बझाङको खप्तडछाना ७ गडरायका वंश खड्काको घरमा केही दिन अघि मात्रै निर्माण गरेको छाउगोठ स्थानीय जनप्रतिनिधि र प्रशासनले भत्काएका हुन् । त्यस्तै पत्रिकामा जारी नेकपा बैठकमा एमसीसी यथास्थितिमा पारित नगर्न बहुसंख्यक नेताहरुले धारणा राखिरहेको समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशन गरिएको छ ।
राजधानी दैनिकले अख्तियारबाटै भ्रष्टाचारसम्बन्धी अनुसन्धान फाइल गायब भएको समाचारलाई शीर्ष समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचारसम्बन्धी फाइल अख्तियारबाटै गायब भएको हो । यद्दपी सर्वोच्चले पटक/पटक निर्णयको फाइल झिकाउन दिएको आदेश अख्तियारले अटेरी गरेपछि पुनः अर्को आदेश दिएको समाचारमा उल्लेख छ ।