काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश प्रकरणपछि नेकपामा उत्पन्न विवादमा अहिले युद्धविराम मात्रै भएकाले विभाजनको खतराबाट मुक्त नभएकाे बताउनुभएको छ ।
‘दुवै पक्ष आ-आफ्नै ढंगले अगाडि बढ्न सांसदको हस्ताक्षर संकलन गरिरहेको अवस्थामा पार्टीलाई विभाजनबाट रोक्न २० गतेको सचिवालय बैठकले युद्धविराम मात्रै गरेको हो’ जनता टेलिभिजनसँग विशेष संवाद गर्दै वरिष्ठ नेता खनालले भन्नुभयो, ‘यो युद्धविरामले सहमतितर्फ जान्छ कि, दुर्घटनातर्फ भन्ने स्थायी कमिटीको बैठकबाट थाहा हुन्छ ।’ उहाँले पार्टी विभाजनको कल्पनासमेत गर्न नसकिने तर स्थायी कमिटीको निर्णय नमान्ने केही चोइटिएर जान सक्ने खतरा भने कायमै रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भावना, नीति र विचार विपरीत सरकार सञ्चालन गरेका कारण पार्टीमा समस्या आएको उल्लेख गर्नुहुँदै नेता खनालले अब नेकपा कार्यशैली, पद्धति र नीतिगत रुपमा सच्चिन जरुरी रहेको औंल्याउनुभयो । ‘प्रधानमन्त्री ओलीले पार्टी निर्णय बेवास्ता गरी एकलोटी ढंगले अघि बढ्ने मात्रै होइन, पार्टीमा छलफल नगरी अध्यादेश जारी गराउनुभयो, त्यसैले पार्टीमा यो अवस्था आउनुमा उहाँ नै जिम्मेवार हुनुहुन्छ’, नेता खनालले भन्नुभयो, ‘अब नेकपालाई अग्रगतिमा लैजाने हो भने प्रधानमन्त्री ओलीले पार्टी निर्णय पालना गर्नुको विकल्प छैन् ।’
पार्टीले सरकार सञ्चालन गर्नुपर्ने मान्यता स्थापित गर्नका लागि अब बस्ने स्थायी कमिटीको बैठकले पार्टी र सरकारका काम कारबाहीलाई सरकार पुर्नगठन गर्नेसम्मको निर्णय गर्न सक्छ । 'त्यसलाई मान्नेहरु एक ठाउँमा रहन्छन्, नमान्नेहरु चोइटिन सक्छन्’ उहाँको भनाइ छ । नेकपामा कतिपयले आफूलाई अर्का वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग जाडेकाेमा आपत्ति जनाउँदै खनालले ओली, प्रचण्ड र नेपालभन्दा आफ्नो छुट्टै अस्तित्व रहेको उल्लेख गर्दै भन्नुभयो, ‘म कसैको कित्तामा छैन, आवश्यक पर्दा आफ्नो कित्ता आफैं बनाउँछु ।’
अमेरिकी अनुदान सहयोग एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग रहुञ्जेलसम्म त्यसबाट प्राप्त हुने अनुदान स्वीकार गर्न नसकिने वरिष्ठ नेता खनालले प्रष्ट पार्नुभयो ।
https://www.facebook.com/janatasamachar/videos/843281979524825/?t=23