काठमाडौं । मुलुकमा किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको छ । देशभरका किसानको आफ्नै बजार स्थापना गर्ने सवालमा संघीय कृषिमन्त्री घनश्याम भुसाल र सातै प्रदेशका कृषिमन्त्रीबीच सहमति बनेको हो । शनिबार कृषिमन्त्री भुसालले सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरूसँग आयोजना गर्नुभएको एक भर्चुअल बैठकमा आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार निर्माणको काम शुरु गर्नेबारे सहमति भएको हो ।
संघ र प्रदेश सरकारका कृषिमन्त्रीबीच भएको सहमतिमा शुरुवातमा मुलुकका सात सय ५३ वटै स्थानीय तहमा कृषि सेल स्थापना गरिने छ । भर्चुअल बेठकमा मन्त्री भुसालले हरेक स्थानीय सरकारसँग आफ्नो छुट्टै संकलन विधि, भण्डारण गृह र वितरण प्रणाली हुने व्यवस्था शुरु नगरे कृषि क्षेत्र बचाउन नसकिने प्रस्ताव राख्नुभएको थियो । स्थानीय सेललाई प्रदेश र संघीय सरकारले जोडेर किसानको वैकल्पिक बजारको राष्ट्रिय नेटवर्क बनाइने छलफलको निश्कर्ष छ । यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारको बजेट केन्द्रित गर्ने पनि सहमति बनेको छ ।
मन्त्री भुसालले संघीय सरकारले किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गर्ने गरी बजेट ल्याउने जानकारी दिँदै प्रदेश सरकारहरूलाई पनि त्यहीअनुसार बजेट ल्याउन आग्रह गर्नुभएको छ । प्रदेश मन्त्रीहरूले पनि किसानले उत्पादन गरेको उपज बजारसम्म नपुग्ने, तर बजारमा भने अन्य मुलुकबाट उपभोग्य सामग्री आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न किसानको राष्ट्रिय बजार निर्माण गर्ने संघीय मन्त्रीको प्रस्तावमा सहमति जनाएका छन् ।
कृषि क्षेत्रको पुनर्संरचनाका लागि मन्त्रालयले अगाडि बढाएको ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ कार्यक्रमको एक महत्वपूर्ण काम किसानको आफ्नै राष्ट्रिय बजार निर्माण भएको मन्त्री भुसालको भनाइ छ ।
काेराेना महामारीका कारण कृषि क्षेत्रमा सबैभन्दा बढी चुनौती देखिएको संघ र प्रदेशका मन्त्रीहरूले निष्कर्ष निकाल्दै कृषि बजार स्थापना गनुपर्ने सहमति गरेका हुन् । यसका साथै कृषि क्षेत्रमा जान चाहनेलाई सस्तो ब्याजमा ऋण दिलाउन थप बजेट माग गरिने भएको छ ।महामारीकै कारण कतिपय ठाउँमा मल तथा बिउ पुग्न नसकिरहेकाले अन्तरमन्त्रालय समन्वय गरी तत्काल समस्या समाधान गर्न पनि प्रदेश मन्त्रीहरूले आग्रह गरेका छन्।